बुधबार, ०३ असोज २०७५, १४ : ५९
आज बाघ दिवस, संरक्षणमा चुनौती बढ्दै
आइतबार, १३ साउन २०७५

अर्थ संसार, काठमाडौँ - मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरूमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल पछिल्लो समय बढ्दो जनसंख्याका कारण विभिन्न नाममा गरिएका वन क्षेत्रको अतिक्रमणका कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ ।

माछा मार्ने, न्यूरो टिप्ने, तामा काट्ने नाममा मध्यवर्तीका स्थानीय बासिन्दा वन क्षेत्र पस्ने, पर्यटकलाई सबै जसो क्षेत्रमा पुर्याउन खोज्ने, पानीका मुहानहरू सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माइकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जानेजस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उहाँको भनाइ छ ।

वर्षाको समयमा नदीहरूमा आउने बाढीले घाँसे मैदानमा क्षति पु¥याउँदा र बाघ एवं आहारा प्रजातिका जनावर बगाएर एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउने, मर्नेजस्ता कारण पनि बाघका लागि चुनौतीपूर्ण बनेको ढकालको ठम्याई छ ।

चितवन राष्ट्रिय निकुञ्ज सानो भएकाले बाघ पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसम्म पनि पुग्ने गरेको उहाँ बताउनुहुन्छ । मध्यवर्तीसमेत गरी चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्र एक हजार तीन सय वर्गकिलोमिटर हाराहारी रहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सदरचिडिया खानामा कार्यरत बाघ विज्ञ डा चिरञ्जीवी पोखरेलले बासस्थान घट्दै जानु, चोरी शिकारी एवं अवैध व्यापार बढ्नु, आहारा घट्दै जानुजस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाइने बताउँदै उहाँले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेको बताउनुभयो । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने पोखरेलले बताउनुभयो । आउँदो दिनमा सबैले आ–आफ्नो ठाउँबाट बाघ संरक्षणमा टेवा पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको छ । बाघको संख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ रहेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, निलगाईलगायत हुन् । भोकाएको बाघले करिब २२ पटकसम्म शिकारको प्रयासपछि जनावरको शिकार गर्ने गर्दछ । जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन । कँडेलले भन्नुभयो “ बाघले एकैपटक ८८ किलोसम्म खान सक्छ र सात देखि १० दिनसम्म आराम गर्दछ ।” जसका लागि निकुञ्जमा प्रशस्त ठूला जनावर चाहिन्छ ।

उहाँका अनुसार एउटा भाले बाघका लागि १० देखि १२ वर्ग किलोमिटर क्षेत्रफल चाहिन्छ । एक क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्दछ । बाघको बासस्थान संकुचन, वनको खण्डीकरण, चोरी शिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमासम्बन्धी समस्याहरू पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत शिवराज भट्ट बताउनुहुन्छ ।

निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका जंगली जनावर पाइन्छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल निकुञ्ज स्थापनाताका २०२९ सालमा २० प्रतिशत घाँसे मैदान रहेकोमा अहिले घटेर १० प्रतिशतमा झरेको बताउनुहुन्छ । जसका कारण बाघको आहारा प्रजाति संकटमा पर्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव बाघमा पर्ने उहाँले बताउनुभयो । निकुञ्ज हुँदै बनाइएका सडकका कारण बाघको बासस्थान खण्डीकरण भएको भन्दै उहाँले बाघको अंग प्रत्यंगको व्यापार, चोरी शिकार, मानव बाघबीचको द्वन्द्व पनि बाघ संरक्षणका लागि चुनौतीपूर्ण भएको बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै निकुञ्जमा विभिन्न कारणले छ वटा बाघ मरेका छन् । जसमध्ये एउटा बाघ प्रतिशोधका कारण मानिसले विष हालेर मारेको उहाँले बताउनुभयो । अन्य बाघ जुधेर मरेको तथ्यांक छ । निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव बस्तीभित्र पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ । गत आर्थिक वर्षमा बाघकै आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved