बिहिबार, २९ कार्तिक २०७५, २३ : ४९
अबको मिसन मर्यादित ट्रेड युनियन आन्दोलनको बिकास
शुक्रबार, ०१ भदौ २०७५

 प्रेमल कुमार खनाल

अहिले ट्रेड  युनियनहरुका वीचमा पनि एकताको प्रक्रिया आरम्भ भएको छ । पार्टी निकटस्थ ट्रेड  युनियनहरु भएका कारण पार्टी विभाजन हुन्दाँ ट्रेड  युनियन आन्दोलन पनि विभाजित हुने र पार्टी एकतामा जादा ट्रेड युनियन पनि एकिकृत हुने ट्रेड  युनियन आन्दोलन भित्रको विशेषता बनेको छ ।

एउटा कोणबाट ट्रेड युनियनहरु चांही स्वतन्त्र ढंगले परिचालन हुनु पर्दछ भनेर पनि अपेक्षा गर्ने गरेको पाईन्छ । तर ट्रेड युनियनहरु पार्टी निकटस्थ हुने वा स्वतन्त्र रहने भन्ने विषय ट्रेड युनियनको कारणले हुने पनि होइन, हरेक राजनीतिक दलले आफ्नो–आफ्नो भातृ संस्था वा जनसंगठनको रुपमा संगठनहरु निर्माण गर्ने भएकै कारण पनि ट्रेडयुनियनहरुले चाहेर पनि स्वतन्त्र ढंगले संचालन हुने स्थिति रहदैंन ।

यसै गरी ट्रेड युनियनहरुले पनि एक्लै आफ्नै स्वतन्त्र तागतले मात्र आन्दोलनका सन्दर्भमा नीतिगत हस्तक्षेप गर्न राजनीतिक दल मार्फत् नै लविङ गर्नु अत्यावश्यक हुने हुँदा नेपालको सन्दर्भमा ट्रेड युनियनहरु स्वतन्त्र ढंगले संचालन हुने स्थिति छैन् । स्वतन्त्र ढंगले संचालन हुने ट्रेड युनियनहरुले खास प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अनुभव अन्य देशहरुमा पनि पाईन्छ ।

टे«ड युनियनहरुको एकिकरणबाट अपेक्षित परिणाम के हुने ? अर्थात अबको ट्रेड युनियन आन्दोलनको मूल कार्यदिशा, कार्यशैली कस्तो हुनु पर्दछ ? विगत ३ दशकको ट्रेड युनियन आन्दोलनको अनुभव कस्तो रह्यो ? ट्रेड युनियन आन्दोलनलाई मर्यादित बनाउन के कस्ता विधि, नीति, पद्धतिमा सुधार आवश्यक छ ? जस्ता अहं सवालमा यतिखेर ट्रेड युनियनहरुभित्र एकिकरणको सन्दर्भमा विषद् ढंगले छलफल र बहस गर्न आवश्यक छ ।

यदि ट्रेड  युनियनहरु यस विषयमा गम्भीर र जिम्मेवार बन्न सके भने नेपालको टे«ड युनियन आन्दोलन मर्यादित बन्न सक्ने प्रचुर संभावना देखिएको छ, साथसाथै आर्थिक, सामाजिक रुपान्तरणमा। ट्रेड युनियनहरु महत्त्वपूर्ण सम्वाहक शक्ति बन्न सक्छन् । तर सरकारबाट टे«ड युनियनहरुको व्यबस्थापन गर्नको सट्टा ट्रेड युनियन अधिकार कटौती गर्ने गरी संघीय निजामती सेवा ऐनमा प्रावधान राखी मस्यौदा गरिएको विषय सार्वजनकि भएको छ । श्रमिक कर्मचारीहरुले आन्दोलन बाट प्राप्त गरेको ट्रेड युनियन अधिकारलाई बर्तमान सरकारबाट कटौती गरिएमा यसले सरकारको छवीमा नै गम्भीर प्रकारको आँच पुग्दछ ।

मुलुकमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भए यताको २८/३० वर्षको अनुभवलाई नियाल्दा टे«ड युनियनहरुले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सँगसँगै असंगठीत अवस्थामा रहेका लाखौं श्रमिकहरुलाई संगठीत गरी श्रमिक वर्गका वीचमा संगठीत शक्तिको विकास गरेका छन् । मुलुकको आर्थिक–सामाजिक विकास गर्न संगठीत श्रमिक शक्तिलाई सही ढंगले परिचालन गर्ने हो भने आर्थिक–सामाजिक रुपान्तरण र सम्वृद्धि हासिल गर्न सहज हुने देखिन्छ । ट्रेड युनियनहरु निर्माण भएपछि श्रमिकहरुको सेवा सुरक्षा, वृत्ति विकास, आर्थिक सुविधा वृद्धि, सामाजिक सुरक्षाका  विषयमा महत्त्वपूर्ण उपलब्धी पनि भएका छन् ।

तर ट्रेड युनियनहरुको संरचनामा विशेषतः प्रतिष्ठान स्तरमा मात्र सामूहिक सौदावाजी गर्ने कानूनी व्यवस्था भएका कारण राष्ट्रिय संघ र महासंघहरुको भूमिका अपेक्षाकृत प्रभावकारी बन्न सकेको छैन् । विश्व साम्राज्यवाद र पूँजीवादी अर्थनीतिले अवलम्वन गरेको श्रमिक विरोधी नीति र गतिविधिका विरुद्ध ट्रेड युनियनहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छैनन्, यसो हुनुमा प्रमुख दुई कारण रहेका छन् । पहिलो, ट्रेड युनियन आन्दोलनको लक्ष्य, ध्येय र उद्देश्यलाई ट्रेड युनियनहरुले सही ढंगले आत्मसात गरेका छैनन् ।

“पेशागत हत हित” का लागि क्रियाशील रहने सिमित खालका उद्देश्यलाई ट्रेड युनियनहरुले आफ्नो उद्देश्य बनाएका छन् । वास्तवमा पूँजीवादी अर्थनीतिमा श्रमिकहरुको काम र जीवनलाई मर्यादित बनाउन समान कामका लागि समान ज्यालाको मूल्यलाई स्थापित गर्न र श्रमिक माथी हुने शोषणको अन्त्य गर्न समाजवादी व्यवस्था अपरिहार्य छ भन्ने लक्ष्य र ध्येयका साथ पूँजीवादी अर्थनीतिको माध्यमबाट श्रमिक माथि गरिएको शोषण, भेदभाव, सेवा असुरक्षा, न्यून् तलब सुविधा पारिश्रमिक, ट्रेड युनियन अधिकारको कटौतिका विरुद्ध सुस्पष्ट योजनाका साथ ट्रेड युनियन आन्दोलन अगाडि बढ्न सकेको छैन् ।

दोश्रो, ट्रेड युनियन आन्दोलनभित्र वैचारिक स्खलन र अवसरवादी प्रवृत्ति हावी हुँदै गएको छ । खासगरि ट्रेड युनियन आन्दोलनभित्र अन्तर्राष्ट्रिय सम्बन्ध र आवद्धताको विषयमा देखा परेको वैचारिक स्खलन र अवसरवादी प्रवृत्तिका कारण विश्व साम्राज्यवाद र पूँजीवादले एक पछि अर्काे गर्दै श्रमिक वर्गमाथि शोषण गर्दै आएको छ तर प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको ट्रेड युनियनहरु जो कम्युनिष्ट पार्टीका जनसंगठनको रुपमा रहदै आएका छन् ।

उनीहरु मध्ये कतिपय  कम्युनिष्ट पार्टी निकटका ट्रेड युनियनहरुले साम्राज्यवाद र पूँजीवाद निकटस्थ अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रसँग आवद्ध भई सम्पर्क र सम्बन्ध गर्दै आएका छन् । पूँजीवादीहरुले श्रमिक पक्षीय ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन पूँजीवादी देशका सरकारहरुले सोसल डेमोक्रेट पक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रबाट यस किसिमका प्रगतिशील ट्रेड युनियनहरुलाई ठूलो आर्थिक सहयोग गर्दै आएको छ ।

यसरी ट्रेड युनियन आन्दोलनभित्र विभिन्न परियोजनामा रकम प्रदान गरेर ‘डलराइजेसन’ को जुन गतिविधि बढ्दै गएको छ यसले साम्राज्यवाद र पूँजीवाद विरोधी आन्दोलन कमजोर बन्दै गएको छ । यो कम्युनिष्ट आन्दोलन र श्रमिक पक्षीय ट्रेड युनियन आन्दोलनका लागि पनि गम्भीर चुनौतिको विषय हो । तसर्थ ट्रेड युनियनहरुको एकताको वर्तमान सन्दर्भमा साम्राज्यवाद एवं पूँजीवाद विरोधी प्रगतिशील एवं समाजवादी  विचार पक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रसँगको आवद्धता, सम्पर्क, सम्बन्धलाई अगाडी बढाउने नीति अवलम्वन गर्न जरुरी छ ।

यसैगरि ट्रेड युनियनहरुको एकताको विषय अगाडि बढी रहंदा ट्रेड युनियनहरुलाई संचालन गर्ने सन्दर्भमा पनि नयाँ ढंगले सोंच्न जरुरी देखिएको छ । ट्रेड युनियनको नेता भएपछि दैनिक काम पनि गर्नु नपर्ने, पदीय हैसियत देखाएर लाभ अवसर पनि प्राप्त गर्न अपहत्ते गर्ने र यसका लागि जे जसरी भए पनि मानिसहरु नेतृत्वमा बस्न लालयित हुने तर जिम्मेवारी लिएपछि परिभाषित काम र जिम्मेवारी पूरा नगर्ने, कमिटीहरुभित्र पदाधिकारी तथा सदस्यहरुको संख्या ठूलो हुने, नियमित बैठक नबस्ने, ठूलो कमिटी भएका कारण ठोस छलफल वहस पनि नहुने, बैठक व्यवस्थापनमा अनेकन समस्या उत्पन्न हुने, बैठक व्यवस्थापनमा नै युनियनहरुको ठूलो खर्च हुने गरेको पाईन्छ ।

ट्रेड युनियन कानूनमा पनि कमिटीको संख्या कति हुने ? भन्ने स्पष्ट व्यवस्था नहुँदा टे«ड युनियनहरुले आफू खुसि कमिटीको संख्या निर्धारण गर्ने गरेका छन् । वास्तवमा कमिटीको संख्या जति सानो हुन्छ, त्यति नै ट्रेड युनियनहरुको काममा प्रभावकारिता आउछ र ट्रेड युनियन बारे जे जति आलोचना भईरहेको छ, त्यसलाई अन्त्य गर्न पनि अब ट्रेड युनियनहरुको केन्द्रीय संरचनाभित्र कमिटीको आकार सानो बनाउने र प्रदेश र स्थानीय तहमा धेरै भन्दा धेरै सदस्यहरुलाई संगठीत र परिचालित गर्न सकियो भने तलैदेखि योग्य र क्षमतावान नेतृत्व निर्माण गर्न मद्दत पुग्दछ ।

ट्रेड युनियनहरुको काम गहन र असाध्यै चुनौतिपूर्ण पनि छ । निश्चित संखयामा पूर्णकालिन ढंगले  ट्रेड युनियनहरुको काममा नेतृत्वको व्यवस्थापन गरेर ट्रेड युनियनको कामलाई नियमित र व्यवस्थित गर्नुपर्दछ । ट्रेड युनियनका मुख्य–मुख्य नेतृत्व दैनिकी कामबाट फुर्सद लिने, कुनै लाभ, अवसर, पदोन्नती र पुरस्कार प्राप्त गर्ने तर्फ नलाग्ने, पूर्णकालिन ढ्रगले काम गरे वापत् टे«ड युनियनले व्यवस्थापन गर्ने नीति बनाउन सक्दा मात्र ट्रेड युनियनको काम व्यवस्थित हुने देखिन्छ ।

ट्रेड युनियनलाई आत्मनिर्भर बनाउने कि परनिर्भर बनाउने ? भन्ने अहं सवाल अहिले उठिरहेको छ । सदस्यहरुको हितका लागि सदस्यहरुको सहयोग र विश्वासमा स्थापना भएको ट्रेड युनियनको आर्थिक व्यवस्थापन चाहिं सदस्यहरु भन्दा बाहिरका व्यक्तिको चन्दा, सहयोगबाट चल्ने स्थितिले टे«ड युनियनहरुको स्वतन्त्रता र आत्मनिर्भरतामा प्रश्न चिन्ह खडा हुन्छ । ट्रेड युनियनका भेला, अधिवेशनदेखि अन्य कार्यका लागि अरुले होईन सदस्यहरुकै सदस्यता शूल्क, लेवी र विशेष आर्थिक सहयोगबाट संचालन गर्नु पर्दछ भन्ने  ‘इस्कुलिङ’ सँगै नीति र विधानमा उल्लेख गर्न आवश्यक छ र तद्नुरुप नै सदस्यता शूल्क र लेवी रकम निर्धारण गर्न सके टे«ड युनियनहरु आर्थिक रुपले आत्मनिर्भर र सवल बन्न सक्दछन् ।

ट्रेड युनियन आन्दोलनभित्र विकृति, विसंगति नराम्रोसँग हुर्किएको छ । अवसरवाद, अराजकतावाद र अर्थवाद (३ ‘अ’) को चुनौतिले ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउंदै लगेको छ । खास गरी नेतृत्व वर्गबाट विकसित यस किसिमका गतिविधि र व्यवहारबाट ट्रेड युनियन आन्दोलन मर्यादित ढंगले अगाडि बढाउन प्रश्न चिन्ह खडा भएको छ । तसर्थ ट्रेड युनियन आन्दोलनलाई मर्यादित बनाउन जरुरी छ । यसका लागि ट्रेड युनियनका नेतृत्व तथा अन्य सदस्यहरुले के गर्न हुने ? के गर्न नहुने ? के–के कार्य गर्नु पर्दछ  भन्ने बारेमा एउटा आचार संहिता बनाएर कार्यशैली र जीवनशैलीमा लागु गर्नु पर्दछ र एउटा असल ट्रेड युनियन संस्कृतिकै रुपमा विकास गर्न जरुरी छ ।

 अबको मिसन ट्रेड युनियन आन्दोलनलाई मर्यादित बनाउन केन्द्रीत हुनु पर्दछ। अत माथि उल्लेखित विषयहरुलाई एकताको अभियानसँगै व्यवस्थित गरी नीतिगत रुपमा आत्मसात गर्नु पर्दछ । यसो गर्न सकियो भने मात्र ट्रेड युनियन आन्दोलन मर्यादित र व्यवस्थित हुने विश्वास लिन सकिन्छ । ट्रेडयुनियनहरुको एकताको लागि नीतिगत रुपमा वैचारिक सुस्पष्टता कायम गर्दै आ–आफ्नो संगठनको सामथ्र्यता, नेतृत्वको क्षमता, वरिष्ठताका साथै एकताको भावनालाई आत्मसात गरेर सन्तुलित ढंगले एकिकरणको कार्यलाई व्यवस्थित गर्न आवश्यक छ ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved