Like us!
Follow us!
Connect us!
Watch us!

कलङ्की–खसीबजार ‘अण्डर पास’ ‘अण्डर पास’ कहिले खुल्छ ?

विहीबार, ०७ भदौ २०७५, ११ : ०६ मा प्रकाशित

कलङ्की–खसीबजार ‘अण्डर पास’ ‘अण्डर पास’  कहिले खुल्छ ?


अर्थ संसार, काठमाडौँ – कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ ।

एक/दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ । आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो ।

कालोपत्र बाँकी रहँदा नै यो खुला गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सडक छेउमा बोर्ड राख्नेलगायतका केही काम सकाएर एक÷दुई सातापछि खुला हुनेछ ।”

निर्माण कम्पनीले आगामी मङ्सिरसम्ममा कामसक्ने योजना बनाएको छ । आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन् । मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ । उहाँ भन्नुहुन्छ, “सडकमा एकातिरको लेन सञ्चालन गरेर अर्कातिर काम गर्दै आएका छौँ ।”

कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो । ‘अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिन्छ ।

‘अण्डर पास’ निर्माण अरु सडकका तुलनामा महँगो पर्ने इञ्जिनीयर शर्मा अर्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अण्डर पास निर्माणका लागि मात्रै कति खर्च भयो भन्ने यकिन नभए पनि तुलनात्मक रुपमा बढी लगानी परेको छ ।” प्रविधि र लगानी दुबै हिसाबले अण्डर पास निर्माण कठीन छ ।

जम्मा १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी रहेको समूहले बताउँदै आएको छ ।

चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण काम त्यो वर्ष काम ठप्प भएकाले एक वर्ष अवधि थप भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको