Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको शुरुवात

सोमबार, १८ भदौ २०७५, १५ : ५६ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको शुरुवात

अर्थ संसार, काठमाडा–  संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा बैठकमा सोमबारदेखि सांसद् र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुबीचको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको शुरुवात् गरिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद (८)मा भएको व्यवस्था अनुसार प्रश्नोत्तर कार्यक्रमलाई आजबाट प्रारम्भ गरिएको बैठकमा सभाममुख कृष्णबहादुर महराले जानकारी छन् । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम बारे प्रतिनिधि सभा नियमावली, २०७५ले व्यवस्था गरेको भए तापनि यस अघि यसको कार्यान्वयन हुन सकेको थिएन । प्रत्येक जसो बैठकमा सांसदरुले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई संचालन नल्याइएको बारेमा सभामुखसँग प्रश्न गर्दै सदन तथा सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका थिए ।

सांसदहरुले सम्बन्धित मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले तत्काल दिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ भने मन्त्रीको जवाफ चित्त नबुझे त्यससँगै सम्बन्धित अन्य पुरक प्रश्नहरु समेत अरु सांसदले राख्न पाउने प्रावधान समेत छ ।

सोही प्रश्नोत्तरको कार्यक्रमको शुरुआत् गर्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद् संजयकुमार गौतमले पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेललाई प्रश्न समेत राखेका छन् । सांसद गौतमले ‘चालू आ.व.को बजेट वक्तव्यको बुँदा नं.४९ मा “आर्थिक रुपमा विपन्न सीमान्कृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई  उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत व्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने” भनिएकोमा सोको कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिलेसम्म मिलाउँछ ?’ भनी प्रश्न राख्दै आजको प्रश्नोत्तरको कार्यक्रमको शुरुवात् गरेका थिए ।


शिक्षामन्त्री पोखरेलले सांसद गौतमको प्रश्नको जवाफ दिंदै सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्य मार्फत घोषणा गरेको उक्त ५ प्रतिशत व्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउनका लागि कार्यविधि तयार भैसकेको तथा यो विषय शिक्षा मन्त्रालसँग मात्र सम्बन्धित नभई अर्थमन्त्रालयसँग पनि सम्बन्धित रहेको पनि सदनलाई जानकारी गराएका छन् ।

शिक्षामन्त्री पोखरेलले शिक्षा मन्त्रालयले उक्त कार्यक्रमलाई पहिलो चौमासिकमा नै समावेश गर्ने लक्ष्य अनुसार काम बढाईरहेको बताउँदै यस विषयमा अर्थमन्त्रालयले समेत बाणिज्य बैंकहरुसँग समन्वय गर्दै काम कारबाही अगाडि बढाइरहेको पनि स्पष्ट पारेका छन् ।

शिक्षामन्त्रीको जवाफ पछि बैठकमा सांसदहरु राजेन्द्रकुमार केसी, तेजुलाल चौधरी, बिरोध खतिवडा, पे्रम सुवाल, अमरेश कुमार सिंहले शिक्षा मन्त्री पोखरेल समक्ष पुनः पूरक प्रश्न समेत राखेका थिए ।यसैबीच, प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि एक कार्यतालिका सार्वजनिक गर्दै संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विद्यमान २२ मन्त्रालयहरुलाई बार समेत तोकेको छ ।

संसद सचिवालयले आजै सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सोमबार रक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, उर्जा, जलश्रोत तथा सिँचाई र भौतिक, पूर्वाधार तथा यातायात, मंगलबार स्वाथ्य तथा जनसंख्या, कानुन , न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित सांसद्हरुले प्रश्न गर्न पाउने छन् ।

यसैगरी बुधबार गृह, कृषि तथा पशुपंक्षी बिकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण र अर्थ, बिहीबार परराष्ट्र, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकूद तथा शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सञ्चार तथा सूचना प्रविधि, खानेपानी र भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको लागि बार तोकिएको हो ।
संघीय संसद भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधि सभाको आजको बैठकको शुरुमा भने सांसदहरुले शुन्य तथा विशेष समयमा बोल्दै समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको