Like us!
Follow us!
Connect us!
Watch us!

अल्टिच्युडको हेलिकप्टर दुर्घटना : आनीले भोगेको त्यो ६ घन्टा.....

आइतबार, २४ भदौ २०७५, ०७ : ५९ मा प्रकाशित

अल्टिच्युडको हेलिकप्टर दुर्घटना : आनीले भोगेको त्यो ६ घन्टा.....

काठमाडौँ — डोल्मालाई उद्धार गरेका फ्रिल्यान्स माउन्टेन गाइड ग्यालजेन शेर्पासँग सुरज कुँवरले गरेको कुराकानीमा हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक आनी डोल्मा डिकीको अवस्था र घटनास्थलबारे विवरण:

बिहान ८ बजेतिर हेलिकप्टर दुर्घटना भएको नुवाकोटको मैलुङपाखा पुग्दा पौने दुई बजेको थियो। गाउँलेसहित हामी नै सबैभन्दा पहिले त्यहाँ पुगेका थियौं। घटनास्थलबाट करिब डेढ सय मिटर पर भेटिइन्– आनी डोल्मा डिकी। उनले हामीलाई देखेपछि पानी–पानी भनिन्। तर पानी पिलाइहालेनौं।

‘म बाँच्छु कि बाँच्दिन’ भन्दै उनले बचाउन याचना गरिन्। रुखमा ठोक्किएको हेलिकप्टरमा अक्सिजन सिलिन्डर हुने भएकाले हामीले खोजेर उनलाई लगाइदिने प्रयास गर्‍यौं तर अक्सिजन सद्धे अवस्थामा थिएन।

उनी आनी रहिछन्। उनले लगाउने गेरु रंगको कपडा उनी बसेको ठाउँभन्दा केही माथि बुट्यानमा अल्झिएको थियो। उनी ट्राउजरमा थिइन्। आकाशमा हेलिकप्टर उडिरहेको थियो। त्यसमा लङलाइन ९डोरीबाट उद्धार गर्ने विधि० थियो। तर बाक्लो हुस्सुका कारण माथि देखिरहेका थिएनौं।

डोल्मा एऽया, एऽया...दुख्यो भन्दै थिइन्। उनी भीरको छेउतिर थिइन्। त्यसभन्दा तल ठाडै भिरालो थियो। स–साना पोथ्राहरूको आडमा सुस्ताइरहेकी थिइन्।

‘मलाई जाडो भयो, दुखिरहेको छ,’ भन्दै बिलौना गरिरहेकी थिइन्। उनले लगाएको माथिल्लो कपडाको गोजीमा मोबाइल थियो। उनका हात र खुट्टा छोयो कि एऽया भनिहाल्थिन्। अरु साथीले मृतकको शव संकलन गरे। हामीले उनलाई सलमा राखेर तल झार्ने प्रयास गर्‍यौं।

दुई जना साथीले अघि–अघि जंगल फाँडे। एक जनाले उनलाई ढाडमा बोक्यौं। दुई जनाले बोक्न मिल्ने बाटो थिएन। भीर थियो। करिब सवा घन्टा ओरालो झरेपछि हेलिकप्टर ल्यान्ड भएको अस्थायी हेलिप्याडमा आइपुग्यौं। त्यहाँ मेडिकल टिम थियो। डाक्टरले सामान्य उपचार गरेपछि उनलाई काठमाडौं ल्याइयो।

बाटोमा ओराल्दै गर्दा उनका दाइले काठमाडौंबाट फोन गरेका थिए। कताबाट नम्बर पाएछन्। एकछिन बैनीसँग बोल्न दिनुस् भने। हामीले उनलाई फोन दियौं। उनले हालखबर सोधेका थिए तर डोल्मा धेरै बोलिनन्। ठिकै छ मात्रै भनिन्।

उनको बिहानै काठमाडौं विमानस्थल प्रमुख राजकुमार क्षेत्री र अल्टिच्युड एयरका निर्देशक सीताराम सापकोटासँग कुरा भएको रहेछ। प्रहरीले क्षेत्रीलाई नम्बर दिएको रहेछ। सायद उनले घटना भएपछि गाउँमा फोन गरेकी थिइन् वा उनका आफन्तले फोन नम्बर टिपाएका पो थिए कि † क्षेत्रीले टावरबाट गरेको फोनमा उनले ‘सर, म मर्न लागें, बचाउनुहोस्, म कता छु थाहै छैन,’ भनेर फोन काटिछन्। त्यसैबेला सीताराम सरले पनि फोन गर्नुभएको रहेछ।

सीताराम सर त्यो हेलिकप्टर खोज्न अर्को हेलिकप्टरमा उडिरहेका बेला फोन लगाउनुभएछ। उनले उठाइछन्। सीताराम सरले कता हुनुहुन्छरु हामी हेलिकप्टरबाट तपाईंहरुलाई खोजी गरिरहेका छौं। हाम्रो हेलिकप्टर देख्नुभयोरु आवाज सुनियोरु भनेर सोध्नुभएको रहेछ। तर उनले आवाज पनि नसुनिएको हेलिकप्टर पनि नदेखिएको जवाफ दिइछन्।

‘म जंगलमा छु, लिन आउनुहोस्,’ मात्रै भनिछन्। सीताराम सरले ‘हेलिकप्टरमा अक्सिजन हुन्छ, माक्स लगाउनुस्, नआत्तिनुस्, मौसम खुलेपछि हामी तपाईंलाई लिन आउँछौ’ भन्नुभएको रहेछ। त्यसपछि उनको मोबाइलमा कसैसँग पनि सम्पर्क भएनछ। करिब ६ घन्टापछि हामीले उनलाई जीवितै उद्धार गर्‍यौं। त्यसबेला अन्य ६ जनाको ज्यान गइसकेको रहेछ। कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको