Like us!
Follow us!
Connect us!
Watch us!

‘हामी जितेर इतिहास बनाँउछौं’

बुधबार, २७ भदौ २०७५, १० : १४ मा प्रकाशित

‘हामी जितेर इतिहास बनाँउछौं’

ढाका — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

‘अहिले नेपाली टिम लयमा रहेको छ। अब हामी माल्दिभ्सलाई हराएर पहिलोपल्ट फाइनल पुग्नेमा आत्मविश्वासी छौं। टिममा कुनैपनि प्रकारको समस्या छैन र सबै खेलाडी शतप्रतिशत योगदान दिन तयार छन्’ मंगलबार ढाकाको बंगलादेश फुटबल फेडेरेसनमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने।

नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकप सहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन।

साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ।‘पुरानो इतिहास धेरै नहेरौं, पछिल्लो समय हामी माल्दिभ्समाथि हाबी रहेका छौं। त्यसैले यसपल्ट पनि विजयी रहने विश्वास छ,’ प्रशिक्षक महर्जनले भने।

नेपालले २ वर्ष अगाडि भएको बंगबन्धु कपको सेमिफाइनलमा माल्दिभ्सलाई ४-१ ले हराएको थियो। त्यस खेलमा नवयुग श्रेषठले ह्याट्रिक गरेका थिए। त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई नै हराएको थियो।‘अब हामी सेमिफाइनल जितको ह्याट्रिक गर्न चाहन्छौं’ उनले भने।

सेमिफाइनल खेल अगाडि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विराज महर्जनले सबै खेलाडी माल्दिभ्सलाई हराउनेमा आत्मविश्वासी रहेको बताए।

उनले भने-‘हामी आत्मविश्वासी छौं। तर यो चाहिने भन्दा बढी चाहिँ आत्मविश्वासी छैनौं। मैदानमै मेहनत गरेर जित निकाल्ने छौं।’

त्यसअवरमा प्रशिक्षक महर्जनले सेमिफाइनलको लागि नेपाली फुटबललाई माया गर्ने सबैको शुभेच्छा चाहिएको बताए। उनले भने- ‘आजको खेलमा बंगबन्धु रंगशालामै आएर नेपालीहरुले हाम्रो टिमको समर्थन गर्ने विश्वास गरेका छौं।’

नेपालले खेलेका तीन खेलमा ढाकामा रहेका विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो। नेपालले सेमिफाइनलमा पुग्न अगाडि लिग चरणमा भुटान र बंगलादेशलाई हराएको थियो। नेपाल पाकिस्तानविरुद्ध भने पराजित रहेको थियो।
नेपाल र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार ३ बजरे ४५ मिनेटमा हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको