Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना : प्रसारण लाइन रिङ

बुधबार, २७ भदौ २०७५, १५ : २३ मा प्रकाशित

काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना  :  प्रसारण लाइन रिङ

 रमेश लम्साल

अर्थ संसार, काठमाडौँ– काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ ।

त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।

हाल उपत्यकामा १३२/६६ र ६६/११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारण लाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

बाहिरी चक्रपथसँगै बन्ने प्रसारण लाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको अनुमानित लागत १५ करोड अमेरिकी डलर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक÷दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्रो हुने भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

सो लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०/१३२ र १३२/११ केभी क्षमताका एक÷एक वटा सबस्टेसनसमेत निर्माण गर्ने तयारी छ । “बढ्दो सहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

प्राधिकरणअन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन शुरु गरेको छ । लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ । चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएको छ । प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन ।

अहिलेको प्रसारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ । दोलखामा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००÷२२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । यसका लागि काठमाडौँको लप्सीफेदीमा २२०÷१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२/११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना करीब २० वर्षदेखि अलपत्र छ । ललितपुरका चापागाउँवासीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रसारण लाइनको निर्माण अवरुद्ध भएको हो ।

थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनको काठमाडौँ र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर मुआब्जामा चापागाउँवासीसँग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करीब १५ किलोमिटर प्रसारण लाइन निर्माण हुन सकेको छैन । आयोजनाको काम आर्थिक वर्ष २०५५/५६ मा शुरु भएको थियो । यसले गर्दा पनि उपत्यकाको विद्युत् आपूर्तिमा समस्या छ ।

आयोजना र स्थानीयवासीबीच १३२ केभीको प्रसारण तारमुनि पर्ने नौ मिटर दायाँ र नौ मिटर बायाँको अधिकार क्षेत्र ९राइट अफ वे० मा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन । स्थानीय बासिन्दाले प्रसारण लाइनको बाटो नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने योजना बनाई सोहीअनुसार काम गरिरहेको छ ।

नयाँ प्रसारण प्रणालीको निर्माणपछि काठमाडौँ उपत्यकाका नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ । आगामी वर्षदेखि नै बढी विद्युत् खपत गर्न उपभोक्तालाई आग्रह गर्नुपर्ने अवस्था छ । सोही स्थितिलाई ध्यानमा राखेर प्रसारण प्रणालीमा सुधार गर्न लागिएको हो । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको