Like us!
Follow us!
Connect us!
Watch us!

यसरी बन्दैछ चक्रपथमा मोनो रेल, चिनियाँ कम्पनीले बुझायो प्रतिवेदन

शुक्रबार, २९ भदौ २०७५, १२ : ०२ मा प्रकाशित

यसरी बन्दैछ चक्रपथमा मोनो रेल, चिनियाँ कम्पनीले बुझायो प्रतिवेदन


अर्थ संसार, काठमाडौं– चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चाइनाको चाइना रेल्वे २५ औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी) कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा काठमाडौँका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले बुझाउनुभएको हो ।

प्रतिवेदन बुझेपछि काठमाडौँका प्रमुख शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीले मोनोरेल चढ्ने सपना पूरा हुने बताउनुभयो । प्रमुख शाक्यले निर्वाचनका बेला घोषणा गरेको ‘एक सय दिनका एक सय काम’ मा काठमाडौँमा मोनोरेल निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको थियो ।

गत जेठ ११ गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी चाइनाको सिआरसीसी कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो ।

प्रमुख शाक्यले यो प्रतिवेदनको दुवै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्ने भन्दै प्रस्ताव उचित भएमा केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर काम अघि बढाइने बताउनुभयो ।

  “हामीले मोनोरेल चढेर बिदा हुन्छौँ भनेका छौँ”, उहाँले भन्नुभयो, “तपाईंहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई÷तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गर्छौं ।”

चक्रपथमा मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन उल्लेख गरिएको छ । ललितपुर महानगरका प्रमुख महर्जनले मोनोरेल सञ्चालन गरेर जनताको सपना पूरा गर्ने इच्छा रहेको बताउनुभयो ।

प्रतिवेदनमा कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने उल्लेख गर्दै मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ ।

कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको भन्दै जतिसक्दो छिटो निर्णय दिए आफूहरुले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शुरु गर्ने पनि जानकारी दिनुभयो ।

सिआरसिसीले पनि पहिलो चरणमा कोटेश्वरलेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । सिआरसिसीले काम शुरु गरेको तीन वर्षभित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ ।

कूल २७ दशमलव पाँच किलोमिटरको चक्रपथमा सो कम्पनीले करीब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको