Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरको बन्द बालुवा खानी पुनः सञ्चालन हुने

मंगलबार, ०२ असोज २०७५, १२ : २७ मा प्रकाशित

भक्तपुरको बन्द बालुवा खानी पुनः सञ्चालन हुने

अर्थ संसार, भक्तपुर– भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् ।

चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक कागजपत्र नगरपालिकामा बुझाउन आह्वान समेत गरिसकेको छ । भक्तपुरका बालुवा खानी तत्कालीन जिल्ला विकास समितिको प्रमुख आयस्रोतमध्येको एक थियो ।

खानी सञ्चालकले नै अनियमितताको उजुरी गरेपछि अख्तियारले खानीसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो । तर अख्तियारले सो सम्बन्धमा छानबिन नै नगरी अहिले ती फाइल जिल्ला समन्वय समितिलाई फिर्ता गरेपछि खानी खुल्ने वातावरण तयार भएको हो ।

जिल्लामा २६ माटो तथा बालुवा खानी रहेको बताइएको छ । तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भएका ती खानी हाल चाँगुनारायण नगरपालिकाभित्र रहेका छन् ।

नगरपालिकाले दशैँ तिहारलगत्तै खानी सञ्चालनको तयारी गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँले त्यसका लागि खानी सञ्चालन कार्यविधिसमेत तयार गरिसकेको बताउनुभयो । उहाँले खानीमा लगाइने करसमेत नगरसभाले पारित गरिसकेको जानकारी दिनुभयो ।

खानी सञ्चालनको स्वीकृति दिनुअघि नगरपालिकाले खानी सञ्चालकले बुझाएको कागजपत्र र खानीको स्थलगत अध्ययन गरिने र ती स्थानमा स्रोतको समेत पहिचान गरी खानी सञ्चालनको स्वीकृति दिइने उहाँले बताउनुभयो । उहाँले खानी क्षेत्रको भौगोलिक अवस्था र जनस्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरका बारेमा समेत अध्ययन गरिने बताउनुभयो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको