Like us!
Follow us!
Connect us!
Watch us!

संविधान कार्यान्वयनको अध्याय अधुरो : काङ्ग्रेस

बुधबार, ०३ असोज २०७५, २० : ०३ मा प्रकाशित

संविधान कार्यान्वयनको अध्याय अधुरो : काङ्ग्रेस

अर्थ संसार, काठमाडौँ-  नेपाली काङ्ग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ ।

संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो ।

काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको निर्वाचन सम्पन्न भई ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत हुन नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

“सङ्घीयतालाई बलियो बनाउने ढङ्गले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेन, दुईबाहेक अन्य प्रदेशको नामाकरणसमेत हुन सकेको छैन, प्रदेश राजधानीको अन्तिम निर्णयले गम्भीरतापूर्वक विषय प्रवेशसमेत पाएको छैन,” उहाँले भन्नुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्माण गर्न सरकारले ढिलाइ गर्दा जथाभावी कर निर्धारण भई सङ्घीयतालाई अलोकप्रिय बनाउने योजनालाई बल पुगेको प्रवक्ता शर्माको भनाइ छ ।

उहाँले सङ्घीय सरकार र प्रदेश सरकारबीच सहज सम्बन्ध स्थापित नगरिएका कारण दुई द्वन्द्व सार्वजनिक भेलामार्फत प्रकट भई नकारात्मक प्रभाव बढाएको बताउनुभयो ।

सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कहीँ नभएको विचित्रको चित्र प्रस्तुत भइरहेको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो ।

“प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निषेधाज्ञा, टेलिभिजनका प्रस्तोतालाई कारवाही, समाचार साभार गरेकामा पत्रकारलाई हतकडी जस्ता उदाहरणले लोकतान्त्रिक प्रक्रियाबाट बनेको नयाँ सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन,” प्रवक्ता शर्माले भन्नुभयो ।

नागरिकको मुख्य अपेक्षा शान्तिसुरक्षा र समृद्धि भए पनि पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले सरकार बनेपछिको सात महीनामा शान्तिसुरक्षाको स्थिति बिग्रिएको ठहर काङ्गे्रसले गरेको बताउनुभयो । कालो धब्बा बन्न पुगेको निर्मला पन्त प्रकरणमा दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाई अर्को बालक मारिनु दुःखद रहेको प्रवक्ता शर्माको भनाइ छ ।

कालो दिवस दोहोरो चरित्र

सम्मेलनमा उपसभापति बिमलेन्द्र निधिले मधेशवादी दलले संविधानअनुसार निर्वाचनमा भाग लिने तर संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु दोहोरो चरित्र भएको बताउनुभयो ।

सरकारले प्रदेश सरकारलाई सुरक्षा, निजामती लगायतका कर्मचारी नदिई सङ्घीयता नै असफल बनाउन खोजेको उहाँको आरोप छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको