Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ नजिकिएसँगै सिन्धुलीमा खसी, बोकाको व्यापारमा वृद्धि

आइतबार, ०७ असोज २०७५, १५ : ०० मा प्रकाशित

दशैँ नजिकिएसँगै सिन्धुलीमा खसी, बोकाको व्यापारमा वृद्धि

शंखर पहाडी  (गौरब)

 अर्थ संसार, सिन्धुली– नेपाली हिन्दुहरुको महान चाड दशैँ नजिकीएसंगै सिन्धुलीमा खसी, बोकाको व्यापारमा वृद्धि भएको छ ।

नेपालीहरुको दशैँ नजिकिएसँगै जिल्लाका बजारहरुमा खसी, बोकाको व्यापारमा वृद्धि भएको हो । दसैँका लागि मासुको जोहो र नवदुर्गाको पूजाका लागि खसी तथा बोकाको किनबेचका लागि ग्राहकहरुको माग बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । भदौंको अन्तीम साता देखि नै सिन्धुलीको बजारहरुमा खसी बोकाको व्यापार सुरु भएपनि एक साता यता भने खसीबोकाको किनबेचमा निक्कै वृद्धि भएको छ ।

व्यापारीहरुका अनुसार यस अवधिमा मात्रै जिल्लामा एक हजार भन्दा बढी संख्यामा खसिबोकाको किनवेच भैसकेको छ भने दसैँसम्ममा कम्तीमा पनि १५ हजार बढी खसीबोकाको किनवेच हुने अनुमान गरिएको छ । जिल्लामा खपत नहुँने खसीबोकाहरु राजधानी समेत लैजाने गरिएको छ । ग्रामीण क्षेत्रबाट बिक्रीका लागि सदरमुकामसम्म तथा तराईका जिल्ला र राजधानीमा समेत लैजाने गरिएको छ ।

जिल्लाका कतिपय शहरी क्षेत्रका साथै अन्य क्षेत्रका मानिसहरुले खसीबोकाको खरिद गर्ने र ग्रामिण भेगका विपन्न कृषकहरुले दसैँका लागि खाद्यान्न, लत्ता कपडा र अन्य समानको जोहो गर्न आफुले पालेका खसीबोका बिक्री वितरणबाट आर्थिक जोहो गर्ने भएकाले व्यापारमा बृद्धि आएको खसी व्यापारीहरुले बताएका छन् ।

गत वर्ष सिन्धुलीमा १३ सयदेखी १५ सय रुपैयाँ धार्नीमा पाइने खसीबोकाको मूल्य यो साल धार्नीमा १८ सय देखी २ हजार ५ सय रुपैयाँसम्म  पुगेको  छ । गत वर्षको तुलनामा यस वर्ष कृषकहरुले नै खसीबोकोको मुल्य बृद्धि गरेका कारण बजारमा व्यापारीहरुले समेत मुल्य वृद्धि गरेको खसी व्यापारीहरु बताउछन ।

यता जिल्लाका ग्रामिण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको व्यापारीहरु बताउँछन् । सरकारले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै खसी बोकाको स्वास्थ्य परीक्षण गरेर राम्रो रिपोर्ट भएका खसीबोकामात्र किनबेच गर्न आग्रह गर्दै आएको छ ।

जिल्लामा पशुहरुको स्वास्थ्य परीक्षण गर्ने क्वारेनटाइलको व्यवस्था नहुँदा यस्तो समस्या आएको पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ। जिल्लामा दसैँलगायतका चाडपर्वहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा तथा सुंगुरहरुको बिक्री वितरण हुने गरेको भएपनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा समस्या आएको पशु सेवा कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको