Like us!
Follow us!
Connect us!
Watch us!

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन'

सोमबार, ०८ असोज २०७५, १० : ४७ मा प्रकाशित

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन'

अर्थ संसार, काठमाडौं- तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो। उनको आइसीयूमा उपचार भइरहेको थियो।

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। यस्तो अवस्था चिकित्सकीय भाषामा 'मेजर बर्न (गम्भीर जलेको) हो।

मेडिकल भाषामा 'सेप्सिस' (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए। 

एसिड आक्रणमा पर्दा पनि सरकारले केही सहयोग नगरेको बुबा जादोलाल  बताउँछन्।  पहिला-पहिला यस्तो घटना घट्न नपाउँदै सरकारले सहयोग गर्ने घोषणा गरे पनि अहिलेको घटनामा वास्ता नगरेको उनको गुनासो छ। 

उनी भन्छन् 'उनीहरू काठमाडौँका थिए, हामी मधेसका। सरकारले हामीलाई नागरिक नै सम्झेन। पहिले घटना हुनासाथ सरकारले सहयोगको घोषणा गरेको थियो। यसपालि भएन। बिरामी लिएर अस्पताल बसेको मान्छे के प्रकिया गर्न सक्थेँ। त्यसमाथि पढाई लेखाई नभएको मान्छे।' 

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए। घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए।

मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको