Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् आयोजनामा अराजकता : स्थानीयको अवरोधपछि रोकियो मिस्त्रीखोलाको काम

आइतबार, १४ असोज २०७५, १० : ५३ मा प्रकाशित

जलविद्युत् आयोजनामा अराजकता  : स्थानीयको अवरोधपछि रोकियो मिस्त्रीखोलाको काम

अर्थ संसार, काठमाडौँ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् ।

सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् ।

आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिनुभयो । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ ।

पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराउनु परेको पुनले बताउनुभयो ।

वडाध्यक्ष चन्द्रप्रकाश फगामीले स्थानीयवासीको माग सम्बोधन गराउन पहल गरे पनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको बताउनुभयो ।

आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयवासीले बताएका छन् । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणको कामसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण शुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानको काम साठी प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।

नारच्याङको नीलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध, दुई हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेँशीगाउँस्थित कालीगण्डकीको बायाँ किनारमा विद्युत्गृह रहेको छ । नारच्याङ बेँशीगाउँदेखि बाँधसम्मपुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको