Like us!
Follow us!
Connect us!
Watch us!

चिनीको मूल्यमा मनोमानी

सोमबार, १५ असोज २०७५, १० : १४ मा प्रकाशित

चिनीको मूल्यमा मनोमानी

काठमाडौं । बजारमा चिनीको मूल्य आफूखुशी तोकिएको पाइएको छ । सरकारले चिनीको मूल्य निर्धारण गर्न नसक्दा चिनी विक्रेतादेखि सरकारी स्वामित्वको संस्थानसम्मले आफूखुशी मूल्य निर्धारण गरेका हुन् ।

राजधानीमा खुद्रा विक्रेताले चिनी प्रतिकेजी ७५ देखि ८० रुपैयाँसम्ममा विक्री गरिरहेका छन् । त्यस्तै, सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सञ्चालन गरेको चाडपर्व लक्षित पसलमा चिनीको मूल्य प्रतिकेजी रू। ७६ छ । संस्थानले पुरानो दररेट ९रू। ७८०मा २ रुपैयाँ छूट दिएर चिनी बेचेको हो ।

स्रोतका अनुसार संस्थानले बेच्ने चिनीको ४३ प्रतिशत रकम सरकारको खातामा जान्छ । तर, सरकारी स्वामित्वको यस संस्थानले सहुलियत दरमा चिनी बेच्न सकिरहेको छैन । जब कि, निजीक्षेत्रबाट सञ्चालित भाटभटेनी सुपरमार्केटले अहिले ५९ रुपैयाँमा चिनी बेचिरहेको छ । यसैगरी बिगमार्ट प्रालिले प्रतिकेजी ७२ रुपैयाँमा चिनी विक्री गरिरहेको छ ।

अहिले चिनीको मूल्य आफुखुशी तोक्ने काम भइरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले छिट्टै व्यावहारिक मूल्य निर्धारण गरिने बताए । ‘आफूखुशी मूल्य निर्धारण गर्ने छूट कसैलाई छैन,’ उनले भने, ‘छिट्टै बैठक बसेर यसको नियन्त्रण गर्छौं ।’

चिनीमा उद्योगीले दर घटाए

चाडपर्वलाई लक्षित गरी चिनी उद्योगीले सस्तो दरमा चिनी उपलब्ध गराउने भएका छन् । दशैं, तिहार, छठ पर्वको अवसरमा उद्योगीहरूले भ्याटबाहेक ५७ रुपैयाँ ५० पैसामा चिनी उपलब्ध गराउने नेपाल चिनी उत्पादक महासङ्घले बताएको छ । उक्त मूल्यमा भ्याट जोड्दा ६५ हुनेछ । साथै, दुवानी खर्च र नाफाको मार्जिनसमेत राखेर खुद्रा विक्रेताले ७० रुपैयाँसम्ममा विक्री गर्नेछन् ।

अहिले चिनीको पर्याप्त मौज्दात रहेको नेपाल चिनी उत्पादक महासङ्घका अध्यक्ष शशीकान्त अग्रवालले बताए । उनका अनुसार मुलुकमा चिनीको माग २ लाख ५० हजार मेट्रिक टन रहेको छ । नेपालमा उत्पादित चिनीले बजार माग धान्न सक्ने भए पनि खुला सीमाका कारण वर्षेनि ३० हजारदेखि ४० हजार मेट्रिक टन चिनी अवैध रूपमा भित्रिने गरेको उनले बताए । सरकारले कोटा प्रणाली लागू गरेपछि व्यवसायीलाई राहत मिलेको उनको भनाइ छ ।

‘आयातमा प्रतिबन्ध लगाउनु गलत’

बजारमा चिनीको मूल्यमा मनोमानी भएको सन्दर्भमा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले वर्तमान सरकारले चिनी आयातमा लगाएको प्रतिबन्ध नै गलत भएको बताए । ‘चाडपर्वका बेला चिनी आयातमा प्रतिबन्ध लगाउनु गलत हो, आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकारले जनताको ढाड सेक्ने काम गर्‍यो ।’

सोही कार्यक्रममा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको आफूखुशी मूल्य तोक्ने काम तत्काल रोक्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइएको जानकारी दिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चिनीको मूल्य अस्वाभाविक रूपमा बढेकोप्रति सरकार सचेत रहेको भन्दै तत्काल मूल्य निर्धारण गरिने बताए । यसका लागि आन्तरिक छलफल भइरहेको उनको भनाइ छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको