Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

मंगलबार, १६ असोज २०७५, १० : ५४ मा प्रकाशित

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

अर्थ संसार, काठमाडौँ – तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ ।

 आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम मूल्य प्रस्ताव गर्ने इटालेली कम्पनी सिएमसीसँग आज यहाँ सम्झौता भएको हो । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोर कास्कियरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको हो ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका कामका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग सम्झौता भएको तनहुँ हाइड्रोपावर कम्पनीले जनाएको छ ।

तनहुँ हाड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक थिके र सिनो हाइड्रोका तर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गर्नुभएको हो ।  कम्पनीसँग रु तीन अर्ब ८३ करोड १४ लाखमा खरीद सम्झौता भएको हो । दुवै प्याकेजको निर्माण दुई महिनापछि काम शुरु गरिने र सम्पूर्ण निर्माण आगामी पाँच वर्षभित्र अर्थात् (डिसेम्बर २०२३) मा सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ ।

  प्रबन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युत्को भार व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।  उहाँले आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्र्ने प्रतिबद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीका उच्च तहको व्यवस्थापनबीच केही समयभित्रै छलफल गर्ने र  निर्माण कम्पनीले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका छन् ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत  साउन ७ गते  बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो ।  पहिलो प्याकेज निर्माणका लागि पूर्वयोग्यतामा छनोट भएका पाँच कम्पनीमध्ये तीन वटाले र दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएका तीन  कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मूल्याङ्कन भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गाप्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ ।

बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५ मा बन्ने श्रमिक आवासगृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण हुने क्रममा छ ।  आयोजनाको कूल लागत करीब रु ५० अर्ब ५० करोड रहेको छ ।  आयोजनामा एशियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन इन्भेस्टमेन्ट बैंक, नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणलगायतले लगानी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको