Like us!
Follow us!
Connect us!
Watch us!

बढी भाडा लिनेलाई ठाँउको ठाँउ कारवाही, एक रुपैयाँ मात्रै बढी लिए पाँच हजार जरिवाना

बुधबार, १७ असोज २०७५, १७ : ०७ मा प्रकाशित

बढी भाडा लिनेलाई ठाँउको ठाँउ कारवाही, एक रुपैयाँ मात्रै बढी लिए पाँच हजार जरिवाना

अर्थ संसार, काठमाडौँ – दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ ।

अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिनुभयो । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उहाँले सुनाउनुभयो ।

विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए ।

बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आउनुभएका रामबहादुर थापाले बताउनुभयो ।

केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरेपनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उहाँको भनाइ छ । नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ ।

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ । विभागले तोकेको भन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको