Like us!
Follow us!
Connect us!
Watch us!

मान्छे मारेर भाग्ने टिपर चालक यसरी समातिए, दमकल फुटाउनेमाथि कारवाही तयारी

शुक्रबार, १९ असोज २०७५, ११ : ५९ मा प्रकाशित

मान्छे मारेर भाग्ने टिपर चालक यसरी समातिए, दमकल फुटाउनेमाथि कारवाही तयारी

अर्थ संसार, काठमाडौँ – टिपरको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको घट्नामा आक्रोसित भीडले जलाएको टिपरको आगो नियन्त्रण गर्न गएको दमकल तोडफोड गर्दा रु १० लाखको क्षति भएको छ ।

जुद्ध वारुणयन्त्र भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा वारुणयन्त्रका सूचना अधिकारी विजय धौभडेलले हिजो साँझ सूर्यविनायकको पाण्डुबजारमा भएको दुर्घटनामा आगो निभाउन गएको दमकलमाथि भीडले आक्रमण गरेको थियो ।

आक्रमणबाट दमकलको अगाडिको सिसा पूर्ण रुपमा क्षति पुगेको छ भने दमकलको सबै भागमा ढुङ्गा र घरेलु हतियारले हानेर प्वाल नै प्वाल बनाइदिइएका छन् ।

  सूचना अधिकारी धौभडेलले भन्नुभयो, “प्रहरी उपरीक्षकको फोन आउँने बित्तिकै पौन सात बजे आगो निभाउन जाँदा पाण्डु बजारमा आक्रोसित भीडले दमकललाई वरिपरि घेरेर आक्रमण गरे, ढुङ्गामुढा गरे, हाम्रै गाडीभित्र रहेका वञ्चरो, घनहरु निकालेर हान्न थाले र दमकलका ८ जना घाइते भए ।”   दमकल जस्तो अत्यावश्यक साधनमा तोडफोड गर्ने र आक्रमण गरेर घाइते बनाउनेको पहिचान गरी कारबाही गर्न उहाँले प्रशासनसँग माग गर्नुभयो । त्यसैगरी दमकलका कर्मचारीले उपचारसमेत नपाउने अवस्था आएको भन्दै सरकारले जीवन बीमा र उपचारको व्यवस्था गरिदिन माग गर्नुभयो ।

  जुद्ध वारुणयन्त्रका प्रमुख लक्ष्मण गुरागाईँले अब तत्काल दुई ठाउँमा आगलागी हुँदा दमकल जान सक्ने अवस्था नभएको बताउँदै उहाँले दमकल मर्मत गर्ने बजेटसमेत नभएकाले समस्या आएको बताउनुभयो ।     मध्यपुर थिमि नगरपालिकाले हस्तान्तरण गरेको यो दमकल तोडफोडपछि मर्मत नगरी सञ्चालनमा आउने अवस्था छैन ।

आक्रमणमा जुद्ध वारुणयन्त्रका सूचना अधिकारी विजय धौभडेल, फायरमेन मञ्जय धौभडेल, राहुल नेपाल, उमेश ढकाल, रामचरण भुजु, गोपाल थापा, सवारी चालक राजकुमार श्रेष्ठ र राजकुमार गिरी घाइते भएको सो अवसरमा जानकारी गराइयो । घाइते भएका उपचारपछि काममा फर्किसकेका छन् ।

  काभ्रेबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ३६५० नम्बरको टिपरले हिजो साँझ बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थल मै मृत्यु भएपछि सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको थियो ।

  आक्रोसित भीडले टिपर जलाएपछि प्रहरी र भीडबीच ढुङ्गा हानाहान हुँदा १० जना प्रहरी घाइते भएको, स्थानीय घाइतेको तथ्याङ्ग नआएको र प्रहरीले नौ सेल अश्रृग्यास प्रहार गरेको प्रहरी उपरीक्षक हिमालयनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ठक्कर दिएर फरार भएका टिपर चालक धादिङ्ग सिद्धलेख गाउँपालिका–४ घरभई हाल चन्द्रागिरि नगरपालिका नैकाप काठमाडौँ बस्दै आएका ५० वर्षीय वेदबहादुर रानामगरलाई प्रहरीले पक्राऊ गरेको पनि उहाँले जानकारी दिनुभयो ।

पक्राऊ परेका रानामगरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताउँदै उहाँले ढुङ्गा हानेको अभियोगमा दुई जनालाई पक्राऊ गरेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको