Like us!
Follow us!
Connect us!
Watch us!

नेपालगन्ज क्षेत्रमा देखिएको विद्युत् आपूर्तिमा समस्या समाधान गरिदै

बुधबार, २४ असोज २०७५, १८ : ११ मा प्रकाशित

नेपालगन्ज क्षेत्रमा देखिएको  विद्युत् आपूर्तिमा समस्या समाधान गरिदै

अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल सुरु गरेको छ ।

प्राधिकरणले विद्युत आपूर्तिलाई सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सबस्टेसनको स्तरोन्नति काम सुरु गरेको जनाएको छ ।

प्राधिकरणले त्यसका लागि सबस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सो सवस्टशेनमा ३०/३० एमभिएका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । ६३ एमभिएको नयाँ ट्रान्सफर्मर आएपछि एउटा निकालिने छ ।

नयाँ ट्रान्सफर्मर जडानपछि सबस्ेटसनको क्षमता ९३ एमभिए पुग्ने र त्यसबाट विद्युत् आपूर्ति सहज बन्ने र स्थानीय क्षेत्रमा देखिएको भोल्टेजको समस्या समेत समाधान हुनेछ ।

ट्रान्सफर्मर खरिदका लागि टेण्डर आहवान गरि उत्पादक तथा आपूर्तिकर्ता कम्पनी छनोट भइसकेको छ । कम्पनीले ट्रान्सफर्मरलाई नेपाल ल्याएर जडान गर्न बाँकी रहेको छ ।

नेपालगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले त्यस क्षेत्रमा रहेको विद्युत प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरी समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

‘नेपालगंजमा अघोषित विद्युत्भार कटौती भइरहेको भन्ने धेरै गुनासो आएको छ, छिन–छिनमा बत्ती जाने समस्या रहेछ, यस्तो समस्या समाधान गरी उपभोक्तालाई विश्वसनीय सेवा दिनुपर्छ’, मन्त्री पुनले भन्नुभयो ।

नेपालगन्ज क्षेत्रमा भारत र नेपालतर्फका ग्रिडबाट विद्युत आपूर्ति गर्नुपर्ने भएकाले स्विचिङको समस्या छ । नेपालगन्जमा मात्रै करिव २४ मेगावाट क्षमता बराबरको विद्युत माग छ । कोहलपुर क्षेत्रमा करिव १५ मेगावाट विद्युत माग छ । भारतबाट विद्युत आयात गर्दा कमजोर प्रसारण लाइनका कारण समस्या उत्पन्न भएको छ । भारतबाट ३३ केधी क्षमतामा मात्रै विद्युत् आयात भइरहेको छ । सोही कारण कम भोल्टेजले गर्दा स्तरीय विद्युत आपूति हुन सकेको छैन ।

कमजोर संरचनाका कारण विद्युतको प्राविधिक चुहावटलाई पनि बढाएको छ । भारतको मानपाराबाट करिव ११ मेगावाट विद्युत् आयात गरी नेपालगन्ज क्षेत्रमा आपूर्ति गरिएको छ ।

नेपालगन्ज क्षेत्रमा भारतको मानपारा तथा टनकपुर र  नेपालतर्फको अत्तरियाबाट चमेलिया, लमहीबाट कालीगण्डकी विद्युत केन्द्रबाट विद्युत आपूर्ति भइरहेको छ । तर सवस्टशेनलगायत अन्य संरचनाका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोहपुर सबस्टेसनको स्तरोन्नतिपछि नेपालगन्ज आसपास क्षेत्रमा विद्युत आपूर्तिमा भइरहेको समस्या समाधान हुने बताउनुभयो ।  

‘विद्युत्भार कटौतीको अन्त्यपछि गुणस्तरीय र विश्वसनीय विद्युत आपूर्तिमा केन्द्रित भएका छौं, नेपालगन्ज क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न गम्भीर भएर लागिरहेको छौं’,उहाँले भन्नुभयो ,‘सबस्टेसनको स्तरोन्नति गर्ने वितरण प्रणाली सुधार गर्न लगायतका काम समानान्तररुपमा अगाडि बढेकोले समस्या छिट्टै समाधान हुन्छ ।’

प्राधिकरणले मंगलबार नेपालगन्ज आसपासका क्षेत्रमा कार्यरत प्राधिकरणका सै वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर स्थानीय क्षेत्रमा रहेको समस्या समाधानका लागि आवश्यक परामर्श गरेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन, प्राधिरकण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतले स्थानीय क्षेत्रमा रहेको समस्या समाधानका लागि आवश्यक निर्देशन दिनुभएको छ ।

प्राधिकरणले मंगलबार मात्रै सो क्षेत्रमा कार्यरत कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । स्थानीय क्षेत्रमा भोल्टेजका कारण समस्या बढेको र विद्युत् आपूर्तिमा जटिलता देखिएकाले स्थानीयले समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको