Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा सिन्धुली जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायी, तोकिएको भाडा ६ सय, यात्रुसँग १ हजार असुल्दै

सोमबार, २९ असोज २०७५, ०८ : १७ मा प्रकाशित

दशैंमा सिन्धुली जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायी, तोकिएको भाडा ६ सय, यात्रुसँग १ हजार असुल्दै

अर्थ संसार, काठमाडौं–दशैंमा घर फर्कने यात्रुसँग यातायात ब्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् ।

काठमाडौंबाट सिन्धुलीहुँदै घर फर्कने यात्रुसँग ब्यवसायीले मनपरी भाडा असुलेका हुन्  । सिन्डिकेट हटाएको भन्दै  आत्मरतीमा रमाएको झण्डै दुई तिहाइ बहुमतको सरकार ब्यवसायीले मनपरी भाडा उठाउँदा मुक दर्शक बनेको छ ।

सिन्धुली जाने यात्रुसँग ब्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् । उनीहरुले सवारी साधन आएपछि भेडाबाख्रा खाँदेजस्तै खाँदेर गाडीमै पैसा असुल्ने गरेका छन् । यात्रुलाई टिकट पनि उपलब्ध गराउँदैनन् ।

काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा  कोटेश्वरस्थित कमलामाई यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् ।

तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन । स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् ।

तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’  

यातायात ब्यवसायीले गरेको मनोमानी सुनेर यो सम्बाददाता चावहिलस्थित काबेली डिलक्सको काउन्टरमा टिकट लिन पुगेको थियो । त्यहाँका कर्मचारीले सोमबारको गाडीमा सिन्धुली जान १ हजार रुपैयाँ जम्मा गर्न भने । टिकट माग्दा उनले दिन नसक्ने बतए । ‘हामीले १ हजार रुपैयाँको टिकट दिए प्रहरीले थुनि हाल्छ नि,’ उनले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए ।

ब्यवसायीको मनपरी बारे सिन्धुलीका एसपी रामेश्वर यादवलाई जानकारी गराउँदा उनले काठमाडौबाट फर्कने सवारी साधनले मनपरी गरेकाले काठमाडौंकै प्रहरीलाई गुनासो गर्न भने । ‘सिन्धुलीबाट जाने सवारी साधनले बढी भाडा लिएको भए म काराबाही गर्ने थिएँ,’ उनले भने, काठमाडौंमा त्यहीँको प्रहरीले कारबाही गर्छ ।’

दशैंका मुखमा यात्रु ठग्ने ब्यवसायीलाई दुई तिहाइ बहुमत प्राप्त सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै भने, ‘दशैं यात्रु लुट्ने सिजन हो रु अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने रु’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डीकेट हटाएको हो कि थपेको हो रु
यात्रुले सबै काउन्टरमा छापा मारेर ब्यवसायीको मनोमानीविरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् ।

‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको