Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र मलेसियाबीच श्रम सम्झौता : कामदारले कुनै शुल्क तिर्नु नपर्ने, आफन्तको मुत्यु भए १५ दिन विदा पाउने

सोमबार, १२ कार्तिक २०७५, १२ : ३३ मा प्रकाशित

नेपाल र मलेसियाबीच श्रम सम्झौता :  कामदारले कुनै शुल्क तिर्नु नपर्ने, आफन्तको मुत्यु भए १५ दिन विदा पाउने

अर्थ संसार,  काठमाडौं – अब मलेसियामा काम गर्न जाने कामदारले अब कुनै शुल्क तिर्नु पर्ने छैन ।  सोमबार नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी यस्तो व्यवस्था उल्लेख छ ।  मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्र अनुसार  भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।


कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ ।  नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।
 
पत्रमा नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘मेनपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन् ।
 
नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध शुल्क लिँदै आएका एजेन्सीको खारेजीसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । छ महीनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल भएको थियो । दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो ।

मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो ।
 
रोजगारी खुल्न केही समय लाग्ने

दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भए पनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्नेछ । प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने प्रवक्ता रेग्मीले बताउनुभयो ।
 

समझदारीपछि कामदार आपूर्तिका ढाँचा तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने विश्वास छ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्नेछ ।
 
 नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य हो । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत छन् । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली काम गरिरहेका छन्, जसमा  सबैभन्दा बढी सुरक्षा गार्ड छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको