Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य उर्जाः आजको आवश्यकता

बबिन दाहाल

शुक्रबार, १४ असोज २०७३, १३ : २० मा प्रकाशित

सौर्य उर्जाः आजको आवश्यकता


बबिन दाहाल
उर्जाको माग विश्वब्यापी रुपमा बढिरहेको छ । यही रुपमा माग बढ्दै जाने हो भने अहिलेको उर्जा संकट धान्न विश्वलाई ठूलो समस्या पर्नेछ । यही संकट धान्न सौर्य उर्जा (सोलार) को भरपुर प्रयोगमा ल्याउनु आवश्यक छ । भविष्यको उर्जा संकट धान्न सौर्य उर्जा राम्रो विकल्प हुनसक्छ । सूर्यबाट सित्तैमा पाइने उज्यालोलाई उर्जामा रुपान्तरण गर्न सके यसले विश्व परिवेसमा ठूलो माग धा्रन्न सक्ने देखिएको छ । विश्वमा सौर्य उर्जाको लोकप्रियता बढ्दै गएको छ । सोलार उर्जाका अन्य माध्यम भन्दा स्वच्छ र सुरक्षित छ ।

सौर्य उर्जालाई बढी प्रयोगमा ल्याउने मुलुक अमेरिका हो । त्यहाँ बेकामे बनेका सौर्य ऊर्जा कम्पनीलाई राष्ट्रपति वाराक ओबामाले सहयोग गरेर सक्रिय बनाउने बचन दिएका छन् । उनले सौर्य उर्जालाई बढावा दिन यस्तो अभियान सुरु गरेका हुन् । ओवामाको अभियानका आलोचकहरुले भने सौर्य उर्जा प्रभावकारी नहुने, उत्पादन लागत निकै महंगो हुने र भरोसा गर्न नसकिने बताएका छन् । साथै उनीहरुले सौर्य ऊर्जाले विश्वको ऊर्जासम्बन्धी आवश्यकताको एक प्रतिशत मात्रै पूरा गर्न सक्नेसमेत दावी गरेका छन् ।

उनीहरुको आलोचनालाई गलत सावित गर्ने गरी पछिल्लो समय सौर्य उर्जाको उत्पादन बढिरहेको छ । पछिल्लो ३० वर्षयता सौर्य उर्जाको उत्पादन हरेक वर्ष दुई गुणाले बढिरहेको छ । यसको लागतसमेत घट्दै गएको छ । चीन, जर्मनी, स्पेन, पोर्चुगल र अष्ट्रेलिया, अमेरिकाको केही हिस्सा र भारतको ठूलो समूह सौर्य उर्जा उत्पादनमा लागेका छन् । सौर्य उर्जाको लागत पारम्परिक (जलविद्युत) ऊर्जा उत्पादनमा लाग्ने जत्तिकै हुने अवस्थमा पुगेको छ । अर्को शब्दमा भन्दा लामो अन्तरालमा सौर्य उर्जाको प्यानलमा हुने खर्च र जलविद्युतमा हुने लगानी झण्डै बराबर जस्तो हुन्छ ।
.विश्वभर सवैभन्दा बढी चीनमा ५५४ वटा कम्पनीले सौर्य उर्जा उत्पादन गरिरहेका छन् । त्यस्तै भारतमा १३१ कम्पनी यस क्षेत्रमा सक्रिय छन् । एसियाका अन्य मुलुकमा ८६ कम्पनी सोलारको क्षेत्रमा काम गरिरहेका छन् ।  

 


पछिल्लो ३० वर्षयता सौर्य उर्जाको उत्पादन हरेक वर्ष दुई गुणाले बढिरहेको छ । यसको लागतसमेत घट्दै गएको छ । चीन, जर्मनी, स्पेन, पोर्चुगल र अष्ट्रेलिया, अमेरिकाको केही हिस्सा र भारतको ठूलो समूह सौर्य उर्जा उत्पादनमा लागेका छन् ।
 

सौर्य उर्जाको इतिहास हेर्ने हो भने सन् १८३९ मा फ्रान्सका इदम्युन्ड वेक्युरेले फोटो भोल्टिक सोलारको इफेक्ट पत्ता लगाएका थिए । त्यसपछि क्रमशः सोलारमा लाग्ने सम्पुर्ण पार्टहरुको निर्माण हुदै गयो । सन् १९९९ मा विश्वभरमा १ हजार मेगावाट सोलार जडान भएको थियो । त्यसको तीन बर्षपछि सन् २००२ सम्ममा २ हजार मेगाबाट सोलार जडान भएको थियो । नेपालमा पहिलो पटक सन्  १९९३ मा सौर्य उर्जाबाट घरघरमा बत्ति बाल्ने काम सोलार इलेक्ट्रिक लाइट फन्ड र सेन्टर फर रिनेवल इनर्जीले संयुक्त रुपमा तनहुँको पुलिमाराङ भन्ने गाउँमा गरेका थिए । त्यहाँबाट सुरु भएको सौर्य उर्जा अहिले देशभरमा फैलिँदै गएको छ ।

विद्यमान विद्युत संकटले झन् घरघरमा विजुली राखेर विद्युत उत्पादन गर्न टेवा पुर्याएको छ । यसको मुख्य उदेश्य उर्जा उत्पादनमा विद्युतको माग बढिरहेकाले विद्युतको मागको सम्बोधन गर्ने र भविष्यमा उर्जा संकट समाधानमा मद्धत गर्ने हो ।

नेपालमा सौर्य उर्जाबाट विद्युत सामान्यतः घर/कार्यालयमा वत्ति बाल्न÷विद्युतीय उपकरण चलाउने काममा मात्र उत्पादन हुदै आएको छ । यसबाट ठूलो मात्रामा विद्युत उत्पादन हुन सकेको छैन । देशका विभिन्न स्थानमा अहिले केही निजी कम्पनीहरुले यसको उत्पादन गर्न थालेका छन् ।

नवीकरणीय उर्जा भएकोले सोलार प्रविधि वातारणमैत्री छ । यसले कार्वनडाइअक्साइड, नाइट्रोजनडाइअक्साइड, सल्फरडाइअक्साइडलगायतका ग्याँसहरुको उत्पादन घटाउन मद्दत गर्दछ । सोलार प्यानलको १५ देखि २५ वर्षसम्मको वारेन्टी हुन्छ । एकचोटी खर्च गरेपछि यसले लामो समयसम्म विद्युत उत्पादन गर्न सकिन्छ । मर्मत सम्भारमा थोरै खर्च भए पुग्छ ।

हाम्रो जस्तो ग्रमीण बस्ती धेरै भएको देशमा जलविद्युतको लाइन विस्तार गर्न समस्या छ । यस्तो स्थानमा सौर्य उर्जा प्रयोगमा ल्याउन सके धेरै फाइदा लिन सकिन्छ । नेपाल विद्युत प्राधिकरणले आफ्नो बार्षिक प्रतिवेदन २०७२/७३ को बार्षिक प्रतिवेदनमा सन् २०३० सम्ममा नेपालमा ४६१४.४ मेगावाट उर्जा आवश्यकता पर्ने प्रक्षेपण गरेको छ । त्यस्तै एसियाली विकास बैंकले गरेको एक अध्ययन अनुसार नेपालमा बार्षिक ८.५ प्रतिशतका दरले उर्जाको माग भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा विद्युतको माग १५६० मेगावाट छ । नेपालमा हालसम्ममा ८५१.२५ मेगावाट (जलविद्युत, डिजेलप्लान्ट, सौर्य, वायुउर्जासहित) विद्युत उत्पादन भइरहेको छ । आधुनिक जिवनशैलीका कारण वर्षैपिच्छै उर्जाको माग बढ्दो छ  । माग पुर्ती हुनसक्ने गरी विद्युत उत्पादन हुन नसकेका कारण नेपालमा उर्जा संटक समाधान हुन सकेको छैन ।

पछिल्लो समय नेपालमा उर्जा क्षेत्रमा लगानी बढिरहेको छ । यो पर्याप्त भने हैन । जलविद्युत क्षेत्रमा लगानी ठूलो लाग्ने भएका कारण केही साना निजी कम्पनीहरु भने सौर्य उर्जा क्षेत्रमा लगानी गरिरहेका छन् । यससँगसगै उर्जाको मागलाई सम्बोधन गर्न बैकल्पिक उर्जाको खोजी गर्दै सरकारले सौर्य उर्जाको क्षेत्रमा पनि काम अगाडि बढाइरहेको छ ।
एक पटकको लगानीले वर्षौ ढुक्क हुने प्रविधि सौर्य उर्जा भएकोले पछिल्लो समय  यसतर्फ सर्बसाधारण पनि आकर्षित भइरहेका छन् । नेपालमा सौर्य उर्जाको प्रसस्त सम्भावना छ । यही सम्भावनालाई ध्यानमा राखेर उर्जा संकट निवारण गर्न सरकारले २०७२ मंसिर ८ गते विद्यमान उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र २०७२ मा सौर्य उर्जा सम्बन्धी केही बुँदाहरु थपेको छ ।

अवधारणा पत्रमा उल्लेख भएअनुसार चालु आर्थिक वर्ष २०७२/७३ मा सौर्य उर्जाको उत्पादन कुल जलविद्युत उत्पादनको १० प्रतिशत अर्थात १ सय मेगावाट गर्ने लक्ष्य राखेको छ । यस बर्ष जलविद्युत भने १ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य सरकारको छ । त्यस्तै आगामी वर्ष जलविद्युत २ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ भने सौर्य उर्जा तर्फ २ सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अवधारणापत्रमा उल्लेखित लक्ष्यअनुसार नेपाल सरकारले नेपाल विद्युत प्रधिकरणसँग मिलेर चालु आर्थिक वर्षमा ६४ मेगावाट सौर्य उर्जा उत्पादन लागि टेन्डरसमेत आव्हान गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले आव्हान गरेको टेन्डरबाट उत्पादित सौर्य उर्जालाई देशको २२ स्थानको राष्ट्रिय प्रसारण लाइनका स्टेसनहरुमा जोड्ने व्यवस्था मिलाइएको छ । विभिन्न स्थानमा ०.५ मेगावाटदेखि ८.५ मेगावाटसम्म सौर्य उर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

 

सौर्य उत्पादनमा अपी हाइड्रोपावर कम्पनीको संलग्नता

यही अवसरलाई ध्यानमा राख्दै देशको चरम विद्युत संकट समाधानमा योगदान पुर्याउन अपी पावर कम्पनीले नेपाल विद्युत प्राधिकरणले आह्वान गरेको टेन्डर पक्रियामा भाग लिएको थियो । अपी पावरले ढल्केवरमा १ र ३ मेगावाट, परवानीपुरमा ८ मेगावाट, सिमरामा १ मेगावाट, चन्द्रनिगाहपुरमा ४ मेगावाट, वर्दघाटमा १ मेगावाट, चनौटामा १.५ मेगावाट, लमहीमा ३ मेगावाट र कावासोतीमा १ र ०.५ मेगावाट गरी १० स्थानका लागि टेन्डर प्रकृयामा भाग लिएको थियो । त्यसमध्ये ढल्केवर ३ मेगावाट र लमही ३ मेगावाट बाहेक अन्य सवैमा टेन्डर पारेर काम सुरु गरिसकेको छ ।

सौर्य उर्जाको लागि बैंकबाट पनि सुविधा 

सरकारले सौर्य उर्जाको प्रबद्र्धन गर्न सौर्य उर्जामा केही सहुलियत दिएको छ । सौर्य उर्जा जडान गर्न चाहेमा बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा बैंकबाट ऋण दिने ब्यवस्था छ । यस्तो ऋण २ प्रतिशत व्याजमा उपलब्ध हुने छ । सरकारको सौर्य उर्जा जडानमा सहयोग गर्न सिभिल बैंक, एनएमवी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण दिने व्यवस्था सरल गरेका छन ।

एक मेगावाट विजुृली निकाल्न करिव १० करोड लाग्ने भएकोले पनि यसतर्फ नीजी क्षेत्र आकर्षित भएको देखिन्छ । त्यस्तै यौटा घरमा करिव २० हजारदेखि १ लाखसम्म खर्च गरेर सोलार प्यानलहरु जडान गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको