Like us!
Follow us!
Connect us!
Watch us!

कुकुर तिहार आज

मंगलबार, २० कार्तिक २०७५, ०८ : ३९ मा प्रकाशित

कुकुर तिहार आज

अर्थ संसार, काठमाडौँ– यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भनिन्छ ।

वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । अचेल विभिन्न जातिप्रजातिका कुकुर पाल्ने सोख बढ्दै गएको छ र व्यवसाय पनि निकै फस्टाएको छ ।

समाजमा प्रतिष्ठा कायम राख्न पनि राम्रा, आकर्षक र महँगा कुकुर पाल्ने र प्रभातकालीन समयमा कुकुर डोर्याउँदै यत्रतत्र यात्रा गर्ने सहरबजारमा सोखको रुपमा पाइन थालेको छ ।

कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रूपमा रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ ।
शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ । घरपालुवाका रुपमा बाहेक बाटोघाटोमा छाडा परेका कुकुरले रेबिज जस्ता रोग नल्याउन् भनेर रेबिजविरुद्धको सुइँ दिने र बन्ध्याकरण गरिदिने समेत हिजोआज व्यवस्था छ ।

लुतो जस्तो घातक सरुवा चर्मरोगले सताएका कुकुरलाई उपचार गर्ने सङ्घ संस्था पनि अचेल निकै पाइन्छन् । ज्योतिषी एवं ज्योतिर्विज्ञान मञ्चका अध्यक्ष डा। सुनिल सिटौलाका अनुसार कुकुर एकोहोरो रूपमा रोएमा निकै अशुभ मानिन्छ, कुकुरले मालिकको जुत्ता मुखमा च्यापेमा वा नङ्ग्राले भित्ता भूइँ खोस्रेमा पनि अशुभ र लुटपुटिन आए शुभ हुन्छ भन्ने फलित ज्योतिष शास्त्रीय मान्यता रहेको छ ।

हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । डा. सिटौलाका अनुसार घरभित्र कुकुर पाल्दा पितृ र देवताले त्यो घरमा भएको धार्मिक कार्यको हभिष्यक ग्रहण गर्दैनन् भनी महाभारतपर्वमा वर्णन गरिएकोले घरभित्र कुकुर पाल्नु राम्रो हुँदैन ।

कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी कला प्रदर्शन गर्ने गरी सुरक्षा निकायले उपयोग गर्दै आएका छन् । यी निकायले कुकुरको क्षमताअनुसार पदीय दर्जा समेत प्रदान गरी कुकुर पूजालाई श्रद्धासुमनका साथ मनाउने गरेका पनि छन् ।

यसैदिन नदी खोला त्रिवेणी दोभान वा जलाशययुक्त स्थानमा स्नान गरेर माटो जरा सहितको अपमार्गको विरुवा टाउकोमा तीन पटक घुमाएर खोलामा बगाई नर्क बगाउने प्रचलन पनि छ ।

पशुपतिस्थित चुनचुन बाबाको आश्रममा पालिएका कुकुरलाई यो दिन उत्सवका साथ पूजन गरिँदैछ र आर्यघाटमा नर्क बगाउने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको