Like us!
Follow us!
Connect us!
Watch us!

बाँचा पुरा नगरेपछि मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

शुक्रबार, ३० कार्तिक २०७५, ०८ : ०७ मा प्रकाशित

बाँचा पुरा नगरेपछि मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

अर्थ संसार, मेलम्ची– सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् ।

आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको हो ।

आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता गरे पनि हालसम्म आयोजनाले कुनै काम नगरेकाले उजुरी दिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।

नगरप्रमुख शेर्पासहितको टोलीले आयोजनाका निर्देशक मणिराम काफ्ले, कम्पनी सचिव टोमलाल सुवेदी, प्रमुख सुनिलकुमार लामा र डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ ।

नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर आयोजना शुरु हुँदाका बखत प्रभावित क्षेत्रका बासिन्दासँग गरेका लिखित प्रतिबद्धता पूरा गराउन प्रशासनलाई आग्रह गरेको छ ।

आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासीलाई सहयोग गर्न आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधिसमेत बनाएर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सरोकार समितिका संयोजकमा नगर प्रमुख शेर्पा स्वयम् रहनु भएको छ । सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दासमेत आयोजनाले प्रतिबद्धता पूरा गर्न बेवास्ता गरेको बताइएको छ ।

आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका काम गर्ने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार हालसम्म पनि बजेट दिइएको छैन् । आयोजनाको सुरुङ मार्गसहित अन्य संरचना निर्माणका क्रममा भत्काइएका स्वास्थ्यचौकी, विद्यालयलगायत संरचनासमेत अहिलेसम्म निर्माण नगरेको वडा नं ५ का अध्यक्ष बेलबहादुर रोक्काले बताउनुभयो ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरिएको बताउनुभयो । जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना मध्यभोटेकोशीले हालसम्म ३० प्रतिशत मात्र काम सकेको छ । सन् २०१३ मा निर्माण शुरु भएको सो आयोजना व्यवस्थापकीय कमजोरीका कारण गति लिन नसकेको स्थानीयवासीको आरोप छ । साढे १४ अर्बको लगानीमा निर्माण हुने उक्त आयोजनालाई चाहिने आवश्यक पूँजीका लागि कर्मचारी सञ्चयकोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको