काहाली लाग्दो जिवनको कथाहरु र बेथाहरु कहाँ, कसरी र कसलाई सुनाउन जाउँ आज । सुनाम सुनाउने ठाउँ र सुन्ने कोही छैन्, नसुनाउँ मेरो नयनबाट आँसुका धाराहरु बगाएर कसरी बसौं । सधै दिन रात यसरी नै जिवन बिताउनु पर्ने हो कि भनी केही शब्द लेख्दैछु आज म । भनिन्छ नि ‘दैवले पनि साथ नदिएपछि कसको के लाग्छ र ?’ साँच्चै हो रहेछ ।
विस २०४३ फागुन २३ गतेका दिन नीलकण्ठ नगरपालिका १२ स्थित एक गरिब परिवारमा पिता लिलानारायण श्रेष्ठ र माता बिन्दाकुमारीको कोखबाट दोस्रो सन्तानको रुपमा यस धर्तीमा जन्म लिन पुगें । म दिन प्रतिदिन ठुलो हुँदै गएँ अनि विष्णुकुमार श्रेष्ठ नामले परिचित हुन पुगे ।
जब म ८ महिनाको बाल्यकाल तथा दुधे बालक थिएँ, त्यतिबेला मेरो जीवनमा भयानक आँधी बेहरी आयो । बिडम्बना त्यो आँधी बेहरीले मलाई सधै सधैको लागि बिर्सन नसक्ने दुर्घटनामा पारिदियो । खै कसरी भनौ । मलाई सम्झन पनि मन लागेको छैन । मन रुन थाल्छ । त्यस रात अचानक मेरो दुवै गोडा आगोले काम नलाग्ने गरी जल्न पुगे ।
खै कसलाई दोष दिउँ ? भाग्यलाई, कर्मलाई या आफैंलाई । अचानक दुवै गोडा घुमेछन् । म अपाङ्ग बन्न पुगेंछु । सदा–सदाको लागि म अपाङ्ग भएँछु । रातको समयमा बाबा–आमा निदाई सक्नु भएको बेला जब मेरो गोडा आगोमा परी पोलिएको बाबा, आमाले थाहा पाउनु भयो, त्यसपछि मलाई केराको पातमा सुताएर छिमेकीहरुको सहयोगमा जिल्ला सदरमुकाम धादिङ अस्पतालसम्म लानु भयो ।
तर त्यहाँ मेरो उपचार हुन सकेन । जिल्ला अस्पतालमा मेरो उपचार हुन नसकेपछि मलाई त्यहाँबाट कान्ति बाल अस्पताल काठमाडौंमा उपचारको लागि रिफर गरियो । त्यसपछि मलाई बाबा, आमाले कान्ति अस्पतालमा लानु भयो । बाबाले मसँग आमालाई छाडेर मेरो उपचारका लागि पैसा जम्मा गर्न गाउँ फर्किनु भयो ।
गरिबलाई जताबाट पनि पीर, चिन्ता, टेन्सन नै टेन्सन हुने रहेछ । गरिब परिवारमा जन्म भएको र छोरामध्येको पहिलो सन्तानको अवस्था देख्दा बाबा–आमाको मन कस्तो भयो होला ? आज म अनुमानामत्र गर्न सक्छु, शब्दमा यहाँ उल्लेख गर्न सक्दिन । दिनरात बढ्दै गयो, मेरो घाउँ दुख्दै गयो । बुबाले मेरो आफ्नो नाममा भएका सम्पति समेत बेचेर मेरो उपचार गर्नु भयो ।
कान्ति बाल अस्पतालमा उपचारको क्रममा दुवै गोडा काट्नु पर्यो । दुवै त्यसपछि म ८ महिनासम्म त्यहीँ डाक्टरको अब्जरभेसनमा रहनु पर्यो । जब ८ महिना पूरा भएपछि मलाई डाक्टरले घर पठाई दिनु भएछ । बाबा बाबा आमालाई मेरो अबस्थाले धेरै पिर पर्यो । त्यति बेला मेरा आफन्तहरुले भने केही सहयोग गरेनन् भन्ने मैले ठूलो भएपछि थाहका पाएँ ।
यसै क्रममा अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापजना केन्द्रद्वारा संचालित सिआरसिपी कार्यकर्ता नातिबाबु भट्ट सरले थाहा पाउनु भएछ । उहाँ मेरो घरमा आउनु भयो । त्यसपछि मेरो अवस्था हेरेर अपाङ्ग बाल अस्पतालमा लान सल्लाह दिनु भयो ।
मेरो बाबाले उहाँको सल्लाह बमोजिम मलाई त्यहाँ लानु भयो । त्यहाँ लगिसकेपछि मलाई कृतिम गोडा निर्माण गरी हिडडुलमा सहज बनाई दिनु भयो । म त्यही कृतिम गोडा लगाएर शिशुदेखि बाल्यकाल हुँदै जिवन पार गर्दै आएको छु । यही कृत्रिम गोडाको साहाराले क्याम्पससम्मको अध्ययन पूरा गरेँ ।
यसै सिलसिलामा मैले यही अपाङ्ग बाल अस्पतालको कर्मचारीको रुपमा काम गर्ने अबसर पनि पाए । यसै संस्थाद्वारा संचालित सिआरसिपी अन्तर्गत चितवनमा अर्थोसिस एण्ड प्रोथोसिस विभागमा काम गर्दै आएको आएको छु । अहिले आफ्नो कृत्रिम गोडा आफंै बनाउन सक्ने भएको छु । मलाई यहाँसम्म ल्याउने श्रेय अपाङ्ग बालअस्पताललाई जान्छ । यही संस्थाले गर्दा नै म यहाँसम्म आउन सकेको छु ।
मेरो दैनिक जिवन अहिले सहज भएको छ । यही कृत्रिम गोडाको साहायताले नै हिडडुल गर्न सहज बनाएको छ । कृत्रिम गोडा लगाएरै साङग सरह काम गर्न सक्षम भएको छु । म एक ठाउँमा कोचिएर अरुको सहयोगमा बाँच्नु परेको छैन । यदि यो संस्था नभएको भए म जिवनभर अन्धकारमा बस्नु पर्ने थियो । अरुको अपमान, घृणा सहेर बाँच्नु पर्ने अबस्था हुन्थ्यो ।
त्यसैले म यस संस्थालाई बाँचुनजेल सम्झन चाहान्छु ।यस संस्थाको अझै उन्नति प्रगति भएको हेर्न चाहान्छु । म जस्ता धेरै अपाङ्ग बालबालिकाको जिवनलाई पुनस्थापना गर्न सहयोग पुगोस भन्न चाहन्छु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस