Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

आइतबार, ०९ मंसिर २०७५, १५ : २८ मा प्रकाशित

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

अर्थ संसार, काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ ।

काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

सोहीअनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नुभयो । मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हँुदैछ । महासमिति बैठकले पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ ।

प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो । समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।

हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

आठ तहका संरचना हुने

काङ्ग्रेसले पार्टीका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहका हुने गरी विधान मस्यौदा तयार गरेको छ । समितिले मूल मस्यौदा प्रतिवेदनसँगै समिति सदस्यका फरकमतलाई पनि समावेश गरी बैठकमा पेश गरिएको छ । मस्यौदामा सबैभन्दा मुनि टोलस्तरमा पार्टीको कार्यसमिति हुनेछ । पाँचसय देखि एक हजार ५०० जनसङ्ख्या बसोबास रहेको बस्तीमा गाउँटोल कार्यसमिति रहनेछ । त्यसभन्दा माथि वडासमिति, त्यसपछि क्रमशः स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीका संरचना हुनेछन् ।

विधानको प्रस्तावनामा महत्वपूर्ण ऐतिहासिक घटनाक्रमबारे उल्लेख गर्ने, पार्टीको सदस्यता सरल तथा सहज रूपले वितरण गर्ने प्रबन्ध गरी व्यस्थित गर्ने उल्लेख छ । टोलदेखि केन्दसम्मका आठ तहका अधिवेशन र महाधिवेशन, केन्द्रीय महासमिति र प्रदेश महासमिति गठन हुने व्यवस्थाका साथै सबै तहमा आवधिक सम्मेलन गरी सङ्गठनलाई सुसङ्गठित गर्ने प्रस्ताव गरिएको छ ।

काङ्ग्रेसको गत वैशाख १६ गतेको बैठकले विधान संशोधन गर्न महामन्त्री खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले मुलुकभर १२ स्थानमा पार्टीका सरोकारवाला सबै निकाय र व्यक्तिसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो । विभिन्न छलफल मार्फत सुझाव सङ्कलन गरी शनिबार मात्रै मस्यौदा पारित गरेको समिति प्रवक्ता लेखकले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको