Like us!
Follow us!
Connect us!
Watch us!

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

सोमबार, १० मंसिर २०७५, २० : १५ मा प्रकाशित

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

अर्थ संसार, काठमाडौँ– एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।

बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गर्नुभयो ।

साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।

साकेस ऊर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत ऊर्जा प्रशारण क्षमता अभिवृद्धि, वितरण प्रणालीको सुधार, केन्द्रीय प्रशारण लाइन नपुगेका क्षेत्रमा मिनी ग्रीडमा आधारित नवीकणीय ऊर्जा प्रणालीको अभिवृद्धि, नेपाल विद्युत् प्राधिकरण र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षमता विकास गरिनेछ । नेपालको पूर्वाधारलगायत आर्थिक सामाजिक क्षेत्रको विकासका निम्ति बैङ्कले विगतदेखि गरिरहेको सहयोगको यो निरन्तरता हो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको