Like us!
Follow us!
Connect us!
Watch us!

राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा, काठमाडौंदेखि जनकपुरसम्म १५० यात्री सहभागी हुने

बुधबार, १९ मंसिर २०७५, १२ : १४ मा प्रकाशित

राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा, काठमाडौंदेखि जनकपुरसम्म १५० यात्री सहभागी हुने

अर्थ संसार, काठमाडौं-समृद्ध सिन्धुली अभियानले यस यस बर्ष गर्ने राइड टु सिन्धुलीगढी साइकल यात्राको तयारी पूरा भएको छ ।

सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष मंसिर २३, २४, २५ र २६ गते गरी चारको दिन हुनेछ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । साइकल यात्रीलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पशुपतिनाथ मन्दिर परिषरबाट विदाइ गर्नु हुनेछ ।

साइकल यात्राका क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत हुने छ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँ गाउँपालिका र होटल ब्यवसायी मिलेर स्थानीय उत्पादनको प्रबर्धन गर्न सुनकोशी महोत्सवको आयोजना गर्ने छन् । महोत्सवमा सांगितिक कार्यक्रम, फूड स्टल, स्थानीय उत्पादनको खरिदविक्री र सुनकोशीमा र्याफ्टिङ् गर्ने ब्यवस्था मिलाइएको सिन्धुलीय श्रेष्ठ समाजका सचिव हरिकृष्ण श्रेष्ठले बताए ।

त्यसै गरी दोस्रो दिन साइकल यात्री बास बस्ने सिन्धुलीमाढीमा बृहद् साँस्कृतिक कार्यक्रम हुनेछ । त्यसपछि जनकपुरमा समेत यस्तै कार्यक्रम आयोजना गर्ने तयारी छ ।
‘साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, साइकल यात्राका संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका छौं । यो यात्रा दुई धार्मिक स्थल काठमाडौको पशुपतिनाथ र जनकपुरलाई तथा पहाड र तराईलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने गरी आयोजना गर्न लागिएको ढकालले बताए ।

अभियानले दुई बर्षदेखि सिन्धुलीगढीसम्म साइकलयात्रा गर्दै आएको छ । गत कात्तिक २४ मा भएको सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौंबाट १६० जनाभन्दा बढी ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढीहुुँदै सिन्धुलीमाढीसम्म लगेको थियो । यस बर्ष १ सय ५० जना यात्रीले साइकल यात्रामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । यस बर्ष जनकपुरधामलाई समेत जोड्ने गरी बिवाह पञ्चमीका अबसरमा साइकल यात्रा गर्न लागिएको हो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने हाम्रो अपेक्षा छ, सहआयोजक फ्याक्ट्स नेपालका महाप्रबन्धक मनिष झाले भने, विवाह महोत्सवको सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन पनि यात्रा सहायकसिद्ध हुनेछ ।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नु भएको थियो भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो ।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न खोजेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘हरेक बर्ष हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थल सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए । काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । यात्राका क्रममा पर्ने स्थानीय तहहरु गाउँपालिका र नगरपालिकाले यात्रालाई सघाउने छन्  ।

5c0771cb1f087.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको