Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीले टेरेनन स्थानीय सरकारलाइ,विकास खर्च शून्य

बुधबार, १९ मंसिर २०७५, १६ : ३३ मा प्रकाशित

कर्मचारीले टेरेनन स्थानीय सरकारलाइ,विकास खर्च शून्य

अर्थ संसार, काठमाडौँ–सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका विभिन्न सरकारी कार्यालयको प्रथम चौमासिकको विकास खर्च शून्यजस्तै भएको छ ।

बैतडी, दार्चुला र बझाङ जिल्लामा प्रादेशिक रणनीतिक सडक, ठूल्ठूला झोलुङ्गे पुल र सडक पुल निर्माणका लागि बैतडीमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको कार्यालयले जनाएको छ ।

कात्तिक महीनामा कार्यालय स्थापना भएको र ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर जगतप्रसाद जोशीले बताउनुभएको छ । भौतिक पूर्वाधार विकास कार्यालयले तीनवटै जिल्लामा ९९ वटा सडक निर्माण गर्ने अख्तियारी पाएको भए पनि अहिलेसम्म एउटा काम पनि शुरु भएको छैन ।

कर्मचारीको अभावमा काम शुरु गर्न नसकिएको इञ्जिनीयर जोशीले बताउनुभयो । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले गर्ने काम अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । सात सबइञ्जिनीयर र चार जना इञ्जिनीयरको दरबन्दी भएको कार्यालयमा एक जना सबइञ्जिनीयर र एकजना इञ्जिनीयरबाहेक अन्यको पदपूर्ति हुन नसकेको उहाँले बताउनुभयो ।

बैतडी र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको कृषि ज्ञानकेन्द्रले पनि सामान्य कामबाहेक अन्य काम सञ्चालन गर्न नसकेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । प्रदेश सरकार मातहत स्थापना भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन । अख्तियारीनै नआएकोले विकास खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक विशनसिंह विष्टले बताउनुभयो ।

विकास निर्माणका कामसँग प्रत्यक्ष जोडिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेटतर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । अख्तियारी नै ढिला आएकाले विकास निर्माणका काम अघि बढाउन नसकिएको कार्यालयका ओभरसियर गोविन्द भट्टले पनि बताउनुभयो ।

प्रदेश सरकार मातहत स्थापना भएका कार्यालयले पहिलो चौमासिकमा विकास बजेट खर्च नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको