Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीगढी साइकल यात्रा सिन्धुलीमा, यात्रीलाई बाटैभरि भब्य स्वागत

मंगलबार, २५ मंसिर २०७५, ०८ : २१ मा प्रकाशित

सिन्धुलीगढी साइकल यात्रा सिन्धुलीमा, यात्रीलाई बाटैभरि भब्य स्वागत

अर्थ संसार, काठमाडौं-समृद्ध सिन्धुली अभियानको आयोजनामा सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा सोमबार सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुगेको छ । यात्रीलाई बाटैभरि विभिन्न स्थानीय सरकारका प्रतिनिधि र संघसंस्थाले भब्य स्वागत गरेका थिए ।

साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको थियो । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्राको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सुभारम्भ गरेका थिए ।  यस बर्षको साइकल यात्रा मंसिर २३, २४, २५ / २६ गते गरी चारको दिन हुनेछ ।  काठमाडौंबाट सुरु भएको साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढीहुँदै मधेशको सांस्कृतिक सहर जनकपुरधाममा पुगेर टुंगिने छ ।

साइकल यात्रीलाई स्वागत गर्न सिन्धुलीको सुनकोशी गाउँपालिकाले महोत्सव आयोजना गरेको थियो । कुशेस्वर दुम्जामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुङेल, प्रदेश सभा सांसद राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाललगायतले भब्य स्वागत गरेका थिए ।

त्यस्तै साइकल यात्रीलाई ऐतिहासिक सिन्धुलीगढीमा कमलामाई नगपालिकाका प्रमुख खड्ग खत्रीलगायतले स्वागत गरेका थिए । सिन्धुलीमाढीमा साइकल यात्रीको स्वागतका लागि रेडियो सिन्धुलीगढीले सांस्कृतिक महोत्सवको आयोजना गरेको थियो ।
यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको हो । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ ।

साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, यात्राका संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका छौं । यो यात्रा दुई धार्मिक स्थल काठमाडौको पशुपतिनाथ र जनकपुरलाई तथा पहाड र तराईलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने गरी आयोजना गर्न लागिएको ढकालले बताए ।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न खोजेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।

‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘हरेक बर्ष हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थल सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए । काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । यात्राका क्रममा पर्ने स्थानीय तहहरु गाउँपालिका र नगरपालिकाले यात्रालाई सघाउने छन्  ।

अभियानले दुई बर्षदेखि सिन्धुलीगढीसम्म साइकलयात्रा गर्दै आएको छ । गत बर्षको कात्तिक २४ मा भएको सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौंबाट १६० जनाभन्दा बढी ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढीहुुँदै सिन्धुलीमाढीसम्म लगेको थियो । यस बर्ष १ सय ५० जना यात्रीले साइकल यात्रामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । यस बर्ष जनकपुरधामलाई समेत जोड्ने गरी बिवाह पञ्चमीका अबसरमा साइकल यात्रा गर्न लागिएको हो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने हाम्रो अपेक्षा छ, सहआयोजक फ्याक्ट्स नेपालका महाप्रबन्धक मनिष झाले भने, विवाह महोत्सवको सांस्कृतिक पक्षलाई विश्वसामु चिनाउन पनि यात्रा सहायकसिद्ध हुनेछ ।
सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नु भएको थियो भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको