Like us!
Follow us!
Connect us!
Watch us!

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

शुक्रबार, ०६ पुस २०७५, १३ : ३१ मा प्रकाशित

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोकियो–जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टील्थ लडाकू बिमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो ।

अप्रिल २०१९ मा शुरु हुने नयाँ बजेटमा कूल ९१२ अर्ब डलरको वार्षिक बजेटकै एक हिस्सा हो । यो बजेटलाई प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषदले शुक्रबार अनुमोदन गरेको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरुले प्रतिरक्षा बजेट ४७ अर्ब डलर पुगेको जानकारी दिएका छन् । जापानमा पाँच वर्षदेखि रक्षा बजेट लगातार वृद्धि भइरहेको छ ।

रक्षा अधिकारीहरुका अनुसार जापानले अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गर्नेछ जसमा छ वटा एफ–३५ए स्टील्थ लडाकू बिमानका साथै सामुद्रिक विशाल जहाजहरु रहेका छन् ।

जापान हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । त्यही योजनाबमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको हो ।

प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता सुदृढ गर्ने योजनामा निरन्तर लगानी गरिरहनुभएको छ । मार्च २०२४ सम्मको यस पाँचवर्षे योजना अन्तर्गत जापानले आफ्ना दुईवटा हेलिकप्टर क्यारियरलाई अद्यावधिक गर्नेछ ।

एसिया प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै प्रधानमन्त्री आबेले रक्षा बजेटमा वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभएको छ । तर आबेको उक्त कदमको जापानभित्रै पनि विरोध भइरहेको छ ।

दोस्रो विश्वयुद्ध पश्चात् भएको सहमति विपरीत जापानले आफ्नो सैन्य क्षमता बढाएको भन्दै चीनले आपत्ति जनाएको छ । जापानले आफ्नो प्रतिरक्षा नीतिमा मात्र ध्यान केन्द्रित गर्न चीनले आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा पनि जापानले अमेरिकी हतियार खरिद गर्नु परेको बताइन्छ । अमेरिकाले जापानसँगको व्यापार घाटा ज्यादै बढी भएको गुनासो गरिआएको छ ।रासस\एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको