Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरूले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने, राष्ट्र बैंकले दियो यस्तो सुविधा

बुधबार, ११ पुस २०७५, १३ : ११ मा प्रकाशित

वाणिज्य बैंकहरूले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने, राष्ट्र बैंकले दियो यस्तो सुविधा

अथ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।

भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कूल आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतको सीमाभित्र रहनुपर्नेछ । तर वाणिज्य बैंकहरूले जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, प्रसारण लाइन, सुरुङ मार्ग निर्माण, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा भने त्यस्तो रकम ऋणमा दिन पाउने छैनन् ।

राष्ट्र बैंकले तोकेबमोजिमको पूँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको भने हुनुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियरूपमा वित्तीय कारोवार गर्न कुनै प्रकारको रोक तथा प्रतिबन्ध लागेको हुन नहुने, त्यस्तो ऋणको भुक्तानी न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षको हुनुपर्नेछ ।

राष्ट्र बैंकले स्वीकृति दिएमा त्यस्तो ऋणको नवीकरण भने हुनेछ । ऋणदताले लगाउने अन्य शुल्कसमेत गरी ऋणको अधिकतम ब्याजदरमा अधिकृतम एक प्रतिशतभन्दा बढी हुन नहुने गरी तय भएको हुनुपर्ने र ब्याजदरबाहेक अन्य कुनै शुल्क तथा कमिसन दिन नपाइने व्यवस्था गरिएको छ ।

त्यस्तो ऋणका लागि कुनै पनि प्रकारको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन । ऋण लिन केन्द्रीय बैंकको स्वीकृति चाहिनेछ । ऋण रकम आएपछि अनिवार्यरूपमा राष्ट्र बैंकमा लेखाङ्कन गराउनुपर्नेछ । बैंक ऋण ल्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना भएको हुनुपर्ने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको