Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय केठेदार कम्पनीको ज्यादतीले माथिल्लो तामाकोशीको लागत बढेर पुग्यो ७० अर्ब

विहीबार, १२ पुस २०७५, १४ : ३० मा प्रकाशित

भारतीय केठेदार कम्पनीको ज्यादतीले माथिल्लो तामाकोशीको लागत बढेर पुग्यो ७० अर्ब

अर्थ संसार, काठमाडौं – भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोका कारण आयोजनाको अवधि लम्बिदै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सो कम्पनीले गर्दै आएको काम अष्ट्रेलियन कम्पनी एन्ड्रिजलाई दिने तयारी गरेको छ ।

भारतीय कम्पनीले लागत र समय बढाउने र भारतबाट थप विद्युत् आयातका लागि प्राधिकरणलाई बाध्य पार्ने सोचका साथ काम गरेको पाइएको छ । आयोजनाको लागत र समय बढाएर सिमित स्वार्थ पूरा गराउने प्रवृत्ति हावी भएको छ ।

राष्ट्रिय गौरवको आयोजननाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलेको कार्यतालिकामा यही पुस मसान्तसम्ममा आयोजनाको काम सक्ने र व्यवसायिक रुपमा नै विद्युत् उत्पादन गर्ने कार्यसूची बनाएको थियो । कार्यसूची अनुसार काम गर्न भारतीय कम्पनी असफल भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिरकणले भारतीय कम्पनीको जिम्मेवारी हटाएर अष्ट्रेलियन कम्पनीलाई जिम्मा दिन लागेको हो ।

 आयोजनाको लागत बढेर रु ७० अर्बको हाराहारीमा पुगेको छ । त्यसमा व्याज र अमेरिकी डलरको सन्तुलनमा देखिएको समस्या समेत जिम्मेवार देखिएको छ । सुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेकोमा पछिल्लो पटक संशोधिन लागत बढेर रु ७० अर्ब पुगेको छ ।

भारतीय कम्पनीले समयमा काम नगर्ने, दुःख दिने मात्रै नियत देखिएपछि ऊर्जा मन्त्रालयले केही  समय पहिले ठेकेदार कम्पनीका कर्मचारी र उच्च अधिकारीलाई बोलाएर कार्यतालिका पेश गर्न निर्देशन दिएको थियो । कम्पनीले आयोजनाको माथिल्लो ठाडो सुरुङको काम  आफै गर्ने र तल्लो ठाडो सुरुङको काम भने अष्ट्रेलियन कम्पनीलाई दिने तयारी गरेको छ । मन्त्रालय र प्राधिकरणको निर्देशनअनुसार नयाँ व्यवस्थाका साथ काम गर्न खोजिएको आयोजनाले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार पाइप आयात र जडानको काम अब भने एन्ड्रिज हाइड्रोले गर्ने भएको छ । सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समेत ऊर्जा मन्त्री बर्षमान पुनले आयोजनाको काममा गत्यावरोध भएका कारण नयाँ व्यवस्था गर्न लागिएको बताएका थिए । आयोजनाको लागत बढ्दै जाने, समय समेत बढी लाग्ने भएपछि समयमै समस्याको पहिचान गर्दै उपयुक्त निर्णय गरिएको मन्त्री पुनले बताएका थिए ।

आयोजनाको पेनस्टकका माथिल्लो ठाडो सुरुङ ३१० मिटर र तल्लो ठाडो सुरुङ ३७३ मिटर रहेको छ । ती दुई वटा सुरुङको काम आधा मात्रै सम्पन्न भएको छ । भारतीय ठेकेदार कम्पनलिे पाइप आयातमा नै समस्या भएको भन्दै काम रोक्दै आएको थियो । पेनस्टकमा १९८ वटा पाइप  आवश्इक पर्दछ । त्यसमा आधा जसो सिन्धुपाल्चोकको सुनकोशीमा राखिएको छ ।

यस्तै केही पाइप विरगन्जमा रहेका छन् । विरगन्जबाट आयोजना स्थलमा पाइप पुर्याउन कम्तीमा पनि १५ दिन लाग्छ । त्यसका लागि ठूलो टेलर गाडी आवश्यक पर्दछ । टेक्सम्याकोको कारण आयोजनाको लागत र समय बढेका कारण सरकारले लिएको निर्णयलाई आफूहरुले कार्यान्वयन गर्ने आयोजनाले जनाएको छ । नयाँ व्यवस्था पछि एन्ड्रिज हाइड्रोले काम सुरु गर्ने तयारी गरेको छ । उसले आगामी कात्तिक अगावै काम सक्ने प्रतिवद्धता जनाएको छ ।

नेपालको ऊर्जा तथा जलस्रोतसँग जोडिएका आयोजना हात पार्ने समयमा काम नगर्ने प्रवृत्ति पछिल्लो समयमा हावी हुँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले तत्परता देखाउन सकेको छैन । प्राधिकरणको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजनामा समेत त्यस्तै हालत रहेको छ ।

जसरी भएपनि लागत र समयावधि बढाएर राख्ने प्रवृत्तिले नेपालको साधन र स्रोत माथि विदेशीको परनिर्भरता कायम रहने देखिएको छ । तर ऊर्जा मन्त्रालयले उक्त समस्या समाधान गर्न हालसम्म कुनै पहल नगरेको पाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको