Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

आइतबार, २२ पुस २०७५, १३ : २० मा प्रकाशित

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

वासिङटन – संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।

केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।

चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ ।

श्रम विभागको नयाँ तथ्याँक सार्वजनिक भएलगत्तै शेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता शुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ । अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ । डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ ।

गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेष्टुराँ व्यवसायमा ४० हजार ७०० नयाँ रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ ।

व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन् ।श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ ।

गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो । अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगार खोजी गरेका थिए । रासस\एपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको