Like us!
Follow us!
Connect us!
Watch us!

प्रेमीसँग मिलेर श्रीमानको हत्या

शनिबार, ०१ माघ २०७३, १० : ५८ मा प्रकाशित

प्रेमीसँग मिलेर श्रीमानको हत्या

काठमाडौं – श्रीमान् वैदेशिक रोजगारीमा । श्रीमती देवरसँगै प्रेमचक्करमा । यही प्रेमचक्करले घर मात्र उजाडिएन, जेलको चिसो छिँडीमा पुर्‍यायो ।करुनिया–२ का ३२ वर्षीय अभिनन्दन साह पैसा कमाउन विदेश लागे । उनकी श्रीमती शकुन्तला साह भने अभिनन्दनकै काकाको छोरासँग प्रेममा परिन् । चार वर्षपछि अभिनन्दन घर फर्किए । तर, आफ्नै घरमा उनलाई काल कुरेर बसिरहेको थियो । घर फर्किएको चार महिनापछि उनको हत्या भयो ।

अभिनन्दन विदेशमै रहेका वेला श्रीमती शकुन्तला र अभिनन्दनका काकाको छोरा २५ वर्षीय पप्पु भनिने मनीषकुमार सुमनको माया बसेको थियो । चार वर्षपछि अभिनन्दन घर फर्किए । यसपटक उनी वैदेशिक रोजगारीमा नजाने गरी फर्किएका थिए ।उनी फर्किएको चार महिना भइसकेको थियो । अभिनन्दन फर्किएपछि शकुन्तला र मनीषबीच भेटघाट र कुराकानी हुन समस्या हुन थाल्यो । प्रेममा बाधा पर्न थालेपछि अभिनन्दनको हत्या भएको प्रहरीले जनाएको छ ।

श्रीमतीकै योजनामा हत्या

श्रीमतीकै योजनामा आफ्नै भाइ तथा श्रीमतीका प्रेमी मनीषले अभिनन्दनको हत्या गरेको प्रहरीले जनाएको छ । अवैध यौनसम्बन्धकै कारण हत्या भएको देखिएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।
हत्या आरोपमा श्रीमती शकुन्तला, मनीष र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तिनलाई भने प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय गौरमा गत बुधबार पत्रकार सम्मेलन गरी दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । ‘अभिनन्दनकी श्रीमतीले प्रेमीलाई उचालेर श्रीमान्को हत्या गराएको अनुसन्धानबाट खुल्न आएको छ,’ रौतहटका प्रहरी प्रमुख एसपी पोख्रेलले भने ।

अत्यधिक फोन आएपछि शंका

अभिनन्दन विदेशबाट घर आएको चार महिना भएको थियो । योबीचमा श्रीमतीका मोबाइलमा विभिन्न नम्बरबाट फोन आउने गर्थे । धेरै फोन आउन थालेपछि उनीहरूबीच झगडा हुन थाल्यो । अभिनन्दनले उनीप्रति शंका गर्न थालेका थिए ।
अभिनन्दनले श्रीमतीको मोबाइल आफ्नै काकाका छोरालाई देखाएर भनेका थिए, ‘मेरो श्रीमतीलाई धेरै फोन आयो, यो नम्बर कसको रहेछ, हेरिदे ।’ तर, मनीषकै मोबाइलबाट धेरै फोन गएको थियो । मोबाइलकै झगडा बढ्दै जाँदा हत्या भएको प्रहरीको भनाइ छ ।

यसरी गरियो अभिनन्दनको हत्या

मनीष पनि अभिनन्दनकै घरमा बस्थे । अभिनन्दन वैदेशिक रोजगारीमा हुँदा मनीष र शकुन्तलाबीच हिमचिम बढेको थियो । तर, उनी घर फर्किएपछि त्यसमा बाधा पर्‍यो ।
प्रेममा बाधा पुगेको महसुस गरेर शकुन्तलाले मनीषलाई आफ्ना श्रीमान्को हत्या गर्न उकासेको अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए । उनीहरूले अभिनन्दनको हत्याको योजना बनाए । योजनाअनुसार कामको बहाना बनाई मनीषले अभिनन्दनलाई कामदेही खोला किनारमा लगे । कामदेही खोला किनार एकान्तस्थल हो । त्यहाँको सिसौघारी पुगेपछि उनले फलामको रडले पछाडिबाट टाउकोमा प्रहार गरे । अभिनन्दन भुइँमा लडे ।भुइँमा पछारिएका उनलाई मनीषले अरू चारपटक टाउकोमा प्रहार गरे । चोट सहन नसकी अभिनन्दन बेहोस भए । त्यसपछि मनीषले चक्कुले उनको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गहन अनुसन्धान गर्दै जाँदा प्राप्त भएको प्रमाणका आधारमा मनीषलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए । अभिनन्दनको हत्यामा प्रयोग भएका सामग्री उनले खोलाछेउमा नै लुकाएका थिए । त्यहाँबाट प्रहरीले रड, चक्कु र मोबाइल बरामद गरेको जनाएको छ ।

‘श्रीमान् अभिनन्दन विदेशबाट फर्केपछि प्रेममा निकै बाधा–अवरोध खडा भएको तथा शकुन्तलामाथि उनका श्रीमान्लाई शंका लागेपछि हत्याको योजना बुनिएको पाइयो,’ प्रहरी प्रमुख एसपी पोख्रेलले भने । हत्याको अघिल्लो दिन श्रीमतीमाथि शंका लागेर अभिनन्दनले हातपातसमेत गरेका थिए । हातपात गरेपछि आफूलाई शकुन्तलाले श्रीमान्को हत्या गर्न दबाब दिएको मनीषले बयानमा बताएको प्रहरीले जनाएको छ । श्रीमतीसँग झगडा भएको भोलिपल्ट नै अभिनन्दनले ज्यान गुमाए ।

अशोक पहाडी / नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको