Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली पर्यटनले मारेको छलाङ

शुक्रबार, २७ पुस २०७५, १३ : ४० मा प्रकाशित

नेपाली पर्यटनले मारेको छलाङ

केही समयअघि नेपाल सरकार, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्राल, पर्यटन विभागको हवाला दिँदै नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ मा लगभग १२ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

यो संख्या गत वर्षको भन्दा लगभग २५ (२४.०८)   प्रतिशतले बढी हो । स्मरण रहोस्, नेपालमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको लगभग  ६५÷६६ वर्षको पर्यटन इतिहासमा सन् २०१७ मा बल्ल नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या लगभग १० लाख (९ लाख ४० हजार २१८) पुगेको थियो । भने सन् २०१८ मा ११ लाख नाघेको छ । स्मरणीय छ, सन् २०१८ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

यसरी नेपाली पर्यटनको लामो इतिहासमा छलाङ मारेको छ । हुन त त्यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये छिमेकी देश भारत र चीनका पर्यटक संख्याले पहिलो र दोस्रो स्थान ओगटेको छ । भन्नुको मतलब हालसम्म यी दुई छिमेकी देशका खर्चिला पर्यटकहरु नेपालको भ्रमणमा खासै ठूलो संख्यामा आएका छैनन् ।

जे भए तापनि प्रकाशित तथ्यांकअनुसार सन् २०१८ मा नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको संख्या २ लाख ४३८ जना रहेको छ भने नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १ लाख ५३ हजार ६०२ जना रहेको छ । त्यस्तै सन् २०१७ मा नेपाल भ्रमण गर्ने यी दुई छिमेकी देशका पर्यटकहरुको संख्या क्रमशः १ लाख ६० हजार २६८ जना र १ लाख ४ हजार ६६४ जना रहेको थियो ।

यसरी हेर्दा के देखिन्छ भने, नेपाल सरकारको तर्पmबाटै पहल गरेर उत्तरका विभिन्न नाकाहरु खासगरी कोदारी राजमार्गको तातो पानी नाका छिटो खोलेर सडक यातायातलाई सुचारु गर्ने हो भने भारतीय र चिनियाँ पर्यकको नेपाल आगमनमा सराबरी हुने देखिन्छ ।

अझ चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्न आउने मूख्य भूमि (मेन–ल्यान्ड) का चिनियाँ पर्यटकहरुलाई तिब्बत हुँदै नेपालको पनि भ्रमण गराउने प्याकेज बनाएर बेच्ने हो भने हालको भन्दा १५–२० प्रतिशत बढी चिनियाँ पर्यटकलाई नेपालको भ्रमण गराउन सकिन्छ । तर, त्यसका लागि उत्तरी सीमा क्षेत्रका नाकाहरु भने चाँडो भन्दा चाँडो सूचारु हुनैपर्छ ।

नेपाली पर्यटनको मात्रै नभएर अधिकांश देशको समग्र पर्यटनको कुरो गर्दा पहिलो र नभई नहुने भनेको पूर्वाधारको विकास नै हो । त्यसमा पनि हाम्रो जस्तो भूगोल भएको देशमा हवाई यातायात र सडक यातायात नै यातायातको प्रमुख साधन हुन् । यसमा कुनै शंका रहेन । फेरि हामीसँग सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको कार्यक्रमको योजना पनि छँदैछ । यसका लागि हामीलाई सबैभन्दा टड्कारो हवाई यातायतको छ ।

त्यसमा पनि अन्तर्राष्ट्रिय हवाई यातायात प्रमुख समस्याको रुपमा रहेको छ । नेपालमा चालु रहेका सबै हवाई यातायात कम्पनीहरुमाथि युरोप महादेशका विभिन्न देशहरुको साझा संगठन युरोपियन युनियन अन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीहरुलाई युरोपियन युनियन सम्बद्ध देशहरुमा उडान गर्न प्रतिवन्ध लगाएको अवस्था छ ।

हुन त जुलाई ४–११ २०१७ मा क्यानडाको मन्ट्रियल सहरमा मुख्यालय रहेको ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को प्राविधिक टोली नेपाल आएर विस्तृतमा अध्ययन गरेर अबदेखि नेपाललाई ‘गम्भीर सुरक्षा चासो (एसएससी)’ बाट  हटाउँदा हुन्छ भनी आप्mनो मुख्यालयलाई प्रतिवेदन बुझाएको थियो । सो अनुसार ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को नेपालमाथिको हवाई प्रतिवन्ध हटाइसकेको छ ।

तर, समय सँधै कहाँ एकैनासको हुन्छ र ? फलतः गत सेप्टेम्बर महिनामा आउने भनिएको युरोपियन आयोग अन्तर्गत रहेको, एयर सेफ्टी कमिटिको प्राविधिक टोली नेपाली आकाशबारे अध्ययन गर्न आएनन् । बरु पुनः सन् २०१९ मा पनि युरोपियन युनियनले नेपाली आकाशमाथि लगाएको प्रतिवन्ध जारी नै रहेको भनेर नेपाललाई सूचीत गर्यो । धन्य आफूलाई युरोपियन देश ठान्ने टर्कीको टर्किस एयरले भने अपवादको रुपमा नेपालमा सीधा हवाई उडान गर्दै आएको छ ।

नेपालमा रहेको एक मात्र त्रिभुवन अन्र्ताराष्ट्रिय विमानस्थलको पनि हाल केही स्तरोन्नति गरिएको छ भने, सन् २०१९ को जुलाईसम्ममा चालू गर्न सकिने गरी भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बनी सक्ने गरी काम हुँदैछ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सकेसम्म सन् २०२० मा बनी सक्ने गरी काम गरार्इँदै छ ।

त्यसैले गत वर्ष (सन् २०१७) नेपालकै पर्यटन इतिहासमा जसरी लगभग १२ लाख विदेशी पर्यटकहरु नेपालको भ्रमण गर्न आए, त्यसरी नै सन् २०२० मा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या २० लाख पुग्ला कि त ! भनी आशा गर्ने ठाउँ भने बाँकी नै छ । त्यसो त पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सानो खाले (अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरुको तुलना गर्दा) एकसय ८० सिटे विमानहरुलाई मात्रै थेग्न सक्ने क्षमताको बन्दै छ ।

तापनि भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपाली पर्यटन उद्योगमा साँच्चै कायापलट हुने/आउने आशा गर्न सकिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने कुरोको साथसाथै हामीले गुणस्तरीय पर्यटनलाई पनि ध्यान दिन भने छाड्नु हुँदैन ।

सन् २०१८ मा नेपाल भ्रमणमा आएका सबैभन्दा धेरै संख्या (५ उत्कृष्ट देशहरु) मा भारत (इन्डिया–२,००,४३८), चीन (चाइना–१,५३,६०६) संयुक्त राज्य अमेरिका (युएसए–९१,७८५), श्रीलंका (सिलोन–७०,६१०)  संयुक्त अधिराज्य–बेलायत (युके–ब्रिटेन–६३,०८६)  रहेको छ ।  

  [email protected]           

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको