Like us!
Follow us!
Connect us!
Watch us!

काभ्रेका किसान भैंसी पाल्दै, सुत्केरी भत्ता लिदैं

विहीबार, ०३ माघ २०७५, १६ : ४२ मा प्रकाशित

काभ्रेका किसान भैंसी पाल्दै, सुत्केरी भत्ता लिदैं

अर्थ संसार,काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ ।

नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले यस वर्ष भैँसी संरक्षण अभियानअन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ ।” उहाँका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्यरूपमा बीमा गरेको हुनुपर्छ ।

जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ । साथै, कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिश र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ ।

नगरले चालू आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ ।”

वडा नं १२ वडाका भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैँसी थप्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा दुईवटा छन्, अब एउटा थप्छु, अब भैँसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ ।” चालू आवको साउनदेखि हालसम्म सुत्केरीभत्ताका लागि भन्दै १०७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताउनुभयो ।

यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । उहाँ भन्नुहुन्छ, “भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहबरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं ।” उहाँका अनुसार चालू आवको हालसम्म रु आठ लाख सुत्केरीभत्ता वितरण गरिएको छ ।

सापकोटाका अनुसार नगरमा हाल चार हजार ६४७ भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पु¥याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको