Like us!
Follow us!
Connect us!
Watch us!

यसरी सेयरबाट करोडपति बन्न सकिन्छ

आइतबार, २४ चैत्र २०७५, ११ : १० मा प्रकाशित

यसरी सेयरबाट करोडपति बन्न सकिन्छ

सेयर बजार विश्लेषक हुन्, रवीन्द्र भट्टराई । उनका स्टक मार्केटसँग सम्बन्धित सेयरबाट करोडपति, नेपालको सेयर बजार आदि पुस्तक प्रकाशित छन् ।

सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज (एसआरसिएस) मार्फत सेयरसम्बन्धी तालिममा सक्रिय रवीन्द्र भट्टराई नेपाली सेयर बजारलाई लामो समयदेखि नजिकबाट विश्लेषण गरिरहेका छन् ।

भट्टराईसँग नेपाली सेयर बजार, यसका सम्भावना, सेयर बजारमा लगानी गर्ने तरिका, छोटो समयमै कसरी सेयरबाट धनी बन्न सकिन्छ जस्ता विषयमा केन्द्रित रहेर गरिएको कुराकानी  :

घरमै बसी–बसी करोडपति बन्न सकिन्छ कि सकिँदैन ? सकिन्छ भने त्यसको उपाय के होला ?

पैसा र सम्पत्तिको चाहना हुने जो–कोहीका लागि प्रिय शब्द हो—करोडपति । करोडपति बन्ने चाहना प्रायस् सबैमा हुन्छ, तर कसरी ? तपाईं–हामीसँग पैसा कमाउने दुईवटा विकल्प छन् । पैसाका लागि काम गर्ने वा पैसालाई काममा लगाउने ।

पैसाका लागि काम गरेर करोडपति बन्न गाह्रो छ तर पैसालाई काममा लगाउन सकियो भने करोडपति बन्ने सपना चाँडै पूरा हुन सक्छ । पैसाका लागि काम गर्नु भनेको जागिर खानु हो । जहाँ काम गरे पैसा आउँछ, काम नगरे पैसा आउँदैन तर काम नगरे पनि पैसा आइरहनु भनेको पैसालाई काम लगाउनु हो ।

जस्तो तपाईंले राम्रो कम्पनीको सेयरमा लगानी गर्नुभयो भने काम नगरे पनि हरेक वर्ष कम्पनीले लाभांश दिइरहेको हुन्छ, जुन पैसाले काम गरेर ल्याएको पैसा हो ।

करोडपति बन्ने कुरा गर्नुभयो, यसका लागि हामीले केही फरक तरिकाबाट काम गर्न सक्नुपर्छ, जस्तो— पैसालाई काममा लगाउन, प्रविधिलाई काममा लगाउन, प्रकृतिलाई काममा लगाउन वा प्रणालीलाई काममा लगाउन सक्नुपर्छ ।

बिल गेट्स, जुकरबर्ग आदि प्रविधि र प्रणालीलाई काममा लगाएर धनी भए । वारेन वफेट पैसालाई काममा लगाएर धनी बने । व्यवसाय भनेको प्रणाली हो जहाँ तपाईंका लागि मानिसहरूले काम गरिरहेका हुन्छन् । त्यसैले घर बसेरै धनी बन्न हामीले पैसा, प्रणाली, प्रकृति, प्रविधि केलाई काम लगाउने हो छनौट गर्न सक्नुपर्छ ।

छोटो समयमै सेयरबाट धेरै कमाएको सुनिन्छ ? कसरी सेयरबाट करोडौं कमाउन सकिन्छ ?

संसारमा जो धनी बनेका छन् तिनले पैसा कमाउन तीनवटामध्ये कुनै एक वा दुई तरिका अपनाएका छन । ती तीन विकल्प सेयर बजार, घरजग्गा र व्यवसाय हुन् । सेयर बजार छोटो समयमै पैसा बनाउने माध्यम हो तर यसका लागि सही कम्पनीको छनौट गर्न तथा जोखिम लिन सक्नुपर्छ ।

सेयरको मूल्यमा हुने तीव्र वृद्धि र कम्पनीले दिने नाफा नै सेयरबाट पैसा कमाउने आधार हुन् । सय रुपैयाँमा किनेको सेयरको मूल्य ३० हजारसम्म पुग्दा तपाईंले लगानी गरेको १० हजार रुपैयाँ ३० लाख रुपैयाँमा परिणत हुन्छ । ४० हजार रुपैयाँ लगानी गर्दा १ करोड रुपैयाँ बन्छ । यो उदाहरण युनिलिभर नेपाल लिमिटेडको हो, जसले साबुन, वासिङपाउडर, सेम्पो, फेयर एन्ड लभ्लीजस्ता कस्मेटिक प्रोडक्ट बेच्छ ।

१० हजार रुपैयाँ लगानी गर्दा कति वर्षमा करोडपति बन्न सकिन्छ ?

बडो रमाइलो प्रश्न गर्नुभयो । हाम्रो बजारमा आठ–दस वर्षमा करोडपति बनेका उदाहरण प्रशस्तै फेला पार्न सकिन्छ, तर उनीहरू जुन पायो त्यही कम्पनीमा गरिएको लगानीबाट करोडपति भएका भने होइनन् । यसका लागि कम्पनीको सही छनौट तथा सेयर होल्ड गरेर राख्न सक्ने धैर्य चाहिन्छ । सेयर बजारबाट पैसा कमाउन धैर्य पनि आवश्यक छ । बिना धैर्य आजको भोलि करोडपति बन्न सम्भव छैन ।

करोडपति बन्न सेयर कारोबार कति सजिलो बाटो हो ?

मैले अघि पनि भनें, संसारकै धनी भनिएकाहरू सेयरबाटै धनी भएका हुन् । उनीहरूले व्यवसाय गरे पनि व्यवसायमा उनीहरूले होल्ड गरेको सेयरको मूल्यले नै उनीहरूलाई धनी बनाएको हो, सेयरको दैनिक कारोबार वा किनबेच गरेर होइन । त्यसैले सेयरमा पैसा छ, आम्दानी छ, सम्पत्ति अनि सन्तुष्टि पनि छ तर ती सबैका लागि धैर्य र इमान्दारिता आवश्यक छ । प्रायस् लगानीकर्तासँग धैर्य हुँदैन । यहाँ जोखिम पनि त्यत्तिकै छ । जोखिम लिन नचाहने वा नसक्ने अनि दैनिक आम्दानी खोज्नेहरूका लागि सेयर बजार लगानीको सजिलो बाटो होइन ।

सेयरबाट करोडपति बन्ने सूत्र के–के हुन् ?

सेयरबाट करोडपति बन्न सबैभन्दा पहिले सेयरसम्बन्धी शिक्षा लिन आवश्यक छ । सेयरबाट हुने फाइदा, जोखिम, कम्पनी छनौट गर्ने तरिका, मूल्य तलमाथि हुने आधार तथा बजारमा आउने समग्र सूचना र समाचारलाई पढ्न अनि बुझ्न सक्नुपर्छ । दोस्रो, लगानीको उद्देश्य स्पष्ट हुुनुपर्छ । कति समयका लागि, कति पैसा, किन र कस्तो कम्पनीमा लगानी गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ । ज

स्तो कतिपय कम्पनीले आम्दानी दिन्छन्, उदाहरणका लागि नेपाल टेलिकम तर यसको सेयर मूल्य त्यति बढ्दैन । कतिपय कम्पनीको आम्दानी कम भए पनि सेयर मूल्य उच्च दरले बढिरहेको हुन्छ । कतिपयमा दुवै विशेषता हुन्छ । लगानी नीति स्पष्ट भैसकेपछि कति मूल्यमा आएपछि किन्ने भन्ने स्पष्ट हुनुपर्छ र सेयर किनेपछि धैर्य गर्न सक्नुपर्छ ।

 

सेयर बजारलाई राम्रोसँग बुझ्ने मान्छेले कति पैसाबाट कति समयमा आफ्नो पुँजी १ करोड रुपैयाँ र्पुयाउन सक्छ ?

यो प्रश्नचाहिँ बैंकमा यति पैसा राखे यति ब्याजदरका हिसाबले यति वर्षपछि यति पुग्छ भनेजस्तो भयो । सेयर बजारमा यति समयमा तपाईंको यति पैसा यति हुन्छ भन्न सक्ने अवस्था हुँदैन । सेयर बजारमा निश्चितता भन्ने कुरा हुँदैन ।

सेयरबाट करोडपति भन्ने विश्वव्यापी भनाइ किन बनेको होला ?

वास्तवमा सेयर बजारलाई पैसा कमाउने विविध माध्यममध्ये छिटो र सजिलो माध्यमका रूपमा लिइन्छ । संसारका धनी भनिएका वा संसारका अधिकांश धनी सेयरकै माध्यमबाट धनी भएकाले पनि धनी बन्ने वा करोडपति बन्नेको कुरामा सेयर बढी जोडिएजस्तो लाग्छ ।

नेपालमा छोटो समयमै सेयरबाट करोडपति हुनेहरूको संख्या कति होला ?

यो अलिक गाह्रो प्रश्न भयो । यसमा यति नै संख्या भनेर भन्न सक्ने अवस्था छैन, तर म केचाहिँ भन्न सक्छु भने २०६० सालपछि जब थुप्रै बैंक एवं वित्तीय संस्थाहरू खुले तथा साधारण सेयर जारी गर्नेहरूको संख्या बढ्यो त्यसपछि हजारौं मानिस सेयरबाट करोडपति भए ।

यो संख्या दिनानुदिन बढ्दै गएको छ, जसले राम्रो कम्पनीको सेयर किने र त्यसलाई होल्ड गर्ने सामथ्र्य राखे, तिनीहरू चाँडै नै करोडपतिमा नाम लेखाउन सफल भए, तर जसले धैर्य गर्न सकेनन्, उनीहरूले जति कमाउनुपर्ने हो त्यति कमाउन सकेनन् ।

नेपालमा छोटो समयमै सेयरबाट करोडपति भएका केही उदाहरण छन् ?

नामै त भन्दिनँ, तर उल्लेख्य मात्रामा छन्, जब मैले शंकरदेव क्याम्पसमा २०६० मा सेयर बजारसम्बन्धी अध्यापन सुरु गरें र सेयर बजारका बारेमा लेख्न थालें, त्यतिबेला पढाइ खर्च बेहोर्न पनि र्गाहो भैरहेका थुप्रै विद्यार्थीको अहिलेको आर्थिक अवस्था हेर्दा उनीहरू करोडपति बनेको पक्का हुन्छ ।

त्यस्तै मैले नेपालमै पहिलो पटक सेयरको तालिम पनि सुरु गरें, तालिममा आएर सेयर बजारसम्बन्धी जानकारी लिएर काम गर्नेहरू पनि हजारौको संख्यामा करोडपति भएका छन् ।

सेक्स र सेयरबीच किन तुलना गरिएको होला ?

यो सेक्स र सेयरभन्दा पनि सेक्स गर्दा र सेयरमा लगानी गर्दा मानिसले प्रस्तुत गर्ने व्यवहारबीचको तुलना हो । सेक्सअघि, सेक्स गर्दा र सेक्सपछि मानिसले देखाउने व्यवहार र सेयर बजार उच्च वृद्धि हुँदा लगानीकर्ताले प्रस्तुत गर्ने व्यवहारमा समानता पाइन्छ । त्यसैले पनि यी तुलना गर्न योग्य छन् । यो कुरालाई पहिलो पटक मैले आफ्नो पुस्तक सेयरबाट करोडपतिमा उल्लेख गरेको छु ।

सञ्चयको चरण भनेको के हो ?

सेयर बजारमा सञ्चय भन्नाले शक्ति संचय हो । जसरी मानिसले निरन्तर सेक्स गरिरहन सक्दैन र एकपटक सेक्स गरिसकेपछि पुनस् क्रियाशील हुन शक्ति संचयको आवश्यकता पर्छ, त्यसरी नै सेयर बजार पनि उन्मादमा पुगेर घटेपछि पुनस् बढ्न बजारी शक्ति आवश्यक हुन्छ । मानिसहरू बजार बढिरहोस् भन्ने चाहना गर्छन् तर त्यो सम्भव छैन, जसरी निरन्तर सेक्स सम्भव छैन ।

बजारीय शक्तिमा आर्थिक, औद्योगिक, कम्पनीको वित्तीय अवस्था, मूल्य, लगानीकर्ताको मानसिकता आदि पर्छन् । यिनमा हुने सकारात्मक विकास नै बजारीय शक्ति हो जसले बजारलाई पुन क्रियाशील बनाउँछ । यसको कतिपय प्रभाव अल्पकालीन हुन्छ भने कतिपय दीर्घकालीन । शक्ति सञ्चय पनि कतिपय अवस्थामा छोटो समयमा हुन्छ भने कतिपय अवस्थामा लामो समय लाग्न सक्छ ।

सेयर बजारको वृद्धिलाई किन अप्सराको चुम्बकीय शक्तिसँग तुलना गरिएको ?

सेयर बजारको वृद्धि धन–सम्पत्तिसँग जोडिएको छ । सेयरलाई छिटो धनी बन्ने सपना बुन्ने र मेहनत नगरी पैसा कमाउने ठाउँका रूपमा पनि लिइन्छ । सेयर बजारसँग काम, क्रोध, लोभ, मोह, सुख–सुविधा त्यागेका साधु–सन्तलाई पनि आकर्षित गर्न सक्ने सामथ्र्य हुन्छ । उखानै छ, पैसा देखेपछि महादेवका तीन नेत्र ।

सेयर बजार बढेका बेला ब्रोकरको कार्यालयमा पुग्दा सेयर भन्ने शब्दसम्म नसुनेका वा सपनामा सेयर भन्ने कहिल्यै नदेखेकाहरूको पनि पर्याप्त उपस्थिति देखिन्छ । उक्त भीडमा साधु–सन्त पनि भेटिएका उदाहरण छन् । यस्तै आकर्षण वा जादु अप्सरामा पनि हुन्छ, जसले सबै कुरा त्यागेका साधु, सन्त, तपस्वीको ध्यान भंग गर्न सक्ने सामथ्र्य राख्छन् ।

सम्भोगलाई सेयर बजारको उत्तेजनासँग किन जोडिन्छ ?

सम्भोगको चाहना, सम्भोगअघिको उत्तेजना, सम्भोग गर्दाको अवस्था, स्खलन र त्यसपछिका मानवीय व्यवहार सेयरको बुलिस र त्यसपछिका प्रवृत्तिमा लगानीकर्ताले देखाउने व्यवहार सँग केही हदसम्म मिल्छ । जस्तो सम्भोगअघि आउने उत्तेजनामा मानिसहरूले सबै कुरा बिर्सन्छन् । सम्भावित जोखिम र स्खलनपछिको सिथिलतालाई उनीहरूले कत्ति पनि सोचेको हुँदैनन् । उनीहरूलाई केवल सेक्स चाहिएको हुन्छ ।

बजार बढ्दा वा बजार उत्तेजित हुँदा लगानीकर्ताले सेयर खरिदमा देखाउने व्यवहार त्यस्तै हुन्छ । यतिबेला लगानीकर्ताले बजार बढेपछि त्यो अवश्य घट्छ भन्ने प्राकृतिक नियम बिर्सन्छन् अनि जोखिमलाई बेवास्ता गरेर जुनसुकै कम्पनीको सेयर किन्न र जति पनि मूल्य तिर्न तयार हुन्छन् । लगानीकर्ताले केवल पैसा, वृद्धि र नाफा मात्र हेर्छन् तर बजार घट्दा हुने शिथिलताप्रति कमैले मात्र ध्यान र्पुयाउँछन् ।  कान्तिपुरबाट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको