Like us!
Follow us!
Connect us!
Watch us!

धनुषाका युवाहरू शान्तितिर

मंगलबार, ०४ माघ २०७३, ०९ : ५९ मा प्रकाशित

धनुषाका युवाहरू शान्तितिर

अर्थ संसार

धनुषा– विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल बर्दिवास शाखाको आयोजनामा धनुषाको गणेशमान चारनाथ स्थित गोदारमा ५ दिने रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार सम्पन्न भएको छ । 

सेमिनारमा विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेल र राष्ट्रिय प्रशिक्षक काशीनाथ खनालले सहभागीहरूलाई एकीकरण सिद्धान्त, शान्ति, एकता, जिम्मेवारी, स्वतन्त्रता, जीवनको उद्देश्य र एकीकृत जीवनशैलीका बारेमा प्रशिक्षण दिए । कार्यक्रम आयोजक रंजित लामाका अनुसार स्रोत केन्द्रको भवनमा संचालित सेमिनारमा गोदारलगायत अन्य छिमेकी गाउँबाट समेत ७० जना प्रशिक्षार्थीहरूको सहभागिता थियो । 

विज्ञान प्रविधिको विकाससँगै मानिसमा आन्तरिक सद्गुण र सच्चरित्रताको बढोत्तरी हुन नसक्दा मानवीय मूल्यमान्यतामा ह्रास आएकाले  परिवर्तित समाजको नेतृत्व गर्न सक्ने युवा विकास र युवा सशक्तीकरणको विषय दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको छ । जुन गतिमा विज्ञानको विकास भइरहेको छ, त्यसको वेगलाई थेग्न सोही मात्रामा मूल्यमान्यता र आदर्श शिक्षाको विकास हुन नसकेकाले मानिसहरूमा, विशेषतः युवा पुस्तामा नैतिक मूल्यमान्यता र जीवनको गुणात्मक पक्ष गौंण बन्न पुगेको छ ।

जसको कारण युवापुस्तामा स्वार्थी व्यक्तिवादी चिन्तन, यौन स्वच्छन्दता, दूव्र्यसनजस्ता नकारात्मक चरित्र हाबी हुँदै गएका छन् । त्यसको निराकरणका लागि समय सुहाउँदो मूल्य–मान्यताको शिक्षा र आदर्श शिक्षालाई वैज्ञानिक रूपबाट पुष्टि गर्नु आजको आवश्यकता देखिन्छ । समयको यही मागलाई सम्बोधन गर्न अलौकिक सिद्धान्तको गोष्ठी देशव्यापी रुपमा आयोजना गरिएको संस्थाका राष्ट्रिय प्रशिक्षक खनालले बताए ।

विश्वशान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघले लामो समयदेखि युवाहरूमा आइरहेको नैतिक ह्रास, स्वेच्छाचारिता, गलत आचरणजस्ता प्रवृत्तिहरूप्रति लक्षित गर्दै नैतिकता, जिम्मेवारी, जवाफदेहिता र सच्चा नेतृत्व विकासका लागि चेतनामूलक, सेवामूलक र शिक्षामूलक विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

सेमिनारमा सहभागी प्रशिक्षार्थीहरूले आफूहरूले जीवनमा आजसम्म सिक्न नसकेको र बुबाआमाबाट पनि थाहा पाउन नसकेको महत्वपूर्ण जीवनोपयोगी शिक्षा र जीवन–जगतका रहस्यहरूबारे बुझ्न पाएको प्रतिक्रिया दिए । स्वर्ग र नरक भन्ने कुरा मानवको सोच र व्यवहारको उपज रहेछ भन्ने कुरा बुझेको बताउँदै सहभागीहरूले सेमिनारमा सहभागी हुने वातावरण बनाइदिएकोमा संस्थाका अध्यक्ष लगायत आयोजकहरूलाई धन्यवाद दिएका थिए । 

पाँचदिने सेमिनारको अन्त्यमा सहभागीहरूलाई सहभागिताको प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रममा गोदार नगरपालिकाका अगुवा समाजसेवी, विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक लगायतको उपस्थिति रहेको संस्थाका बर्दिबास शाखा संयोजक दीपक बाँस्तोलाले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको