Like us!
Follow us!
Connect us!
Watch us!

विवादका कारण सिंहदरबार निर्माण अलपत्र

मंगलबार, ०४ माघ २०७३, १० : १९ मा प्रकाशित

विवादका कारण सिंहदरबार निर्माण अलपत्र

विवादको कारण : पुरातत्व विभाग भवनलाई पुरानै अवस्थामा ‘रेट्रोफिटिङ’ गर्न चाहन्छ । तर, सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ सम्पूर्ण संरचना भत्काएर पुरानै स्वरूपमा नयाँ भवन बनाउन चाहन्छ । रेट्रोफिटिङ’ गर्दा र नयाँ बनाउँदा लगभग उस्तै खर्च हुने भएकाले नयाँ नै बनाउनुपर्ने एकाइको तर्क छ । इकाइका अनुसार करिब एक अर्ब रुपैयाँमा पुरानै स्वरूपमा नयाँ भवन निर्माण गर्न सकिन्छ । ‘रेट्रोफिटिङ’ गर्दा भने करिब ८० करोड रुपैयाँ खर्च हुन्छ ।

काठमाडौं- लामो समयदेखिको विवादका कारण भूकम्पले क्षतिग्रस्त प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित मुख्य भवन पुनर्निर्माण हुन सकेको छैन । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले सिंहदरबारभित्रको मुख्य भवन क्षतिग्रस्त बनाएको थियो । त्यसयता सो भवनमा प्रयोगमा ल्याइएको छैन ।क्षतिग्रस्त भवन भत्काएर नयाँ निर्माण गर्ने कि ‘रेट्रोफिटिङ’ गरेर प्रयोगमा ल्याउने भन्ने विषयको विवाद अझै टुंगिन सकेको छैन । पुरातत्व विभाग र सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइबीच यो विषयमा लामो समयदेखि विवाद छ ।

सिंहदरबारको अहिलेको अवस्था

भूकम्पका कारण सिंहदरबारका भित्ता चर्किएका छन् । आर्क भाँचिएका छन् । सिलिङ फाटेका छन् । बिम नुहिएका छन् । गाह्रो बाँध्न प्रयोग गरिएका बज्र मक्किएका छन् । बर्खाको पानी चुहिँदा भवनको पर्खालमा लेउ लागेर कहीँ–कहीँ त झाडी फैलन थालेको छ ।उपनिर्देशक वाग्लेले भूकम्पका कारण सिंहदरबार लगभग ध्वस्त बनेकाले काम लाग्नेजस्तो केही नदेखिएको बताए । ‘पुरातत्वले भनेझैँ रेट्रोफिटिङ नै गर्ने हो भने पनि प्रयोग हुने त सिमेन्ट, बालुवा र रड नै हो । पुरानै शैलीबाट ‘रेट्रोफिटिङ’ त हुँदैन नि,’ उनले प्रश्न गरे, ‘सिमेन्ट, बालुवा र रड नै प्रयोग गर्ने हो भने सिंहदरबार किन नयाँ नबनाउने ?

यस्तो छ सिंहदरबारको इतिहास

तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले विक्रम संवत् १९६० मा सिंहदरबार निर्माण गर्न लगाएका थिए । इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले सिंहदरबार निर्माणको जिम्मा लिएका थिए । त्यसका लागि प्रतिरोपनी ९० रुपैयाँका दरले तीन सय ५० रोपनी जग्गा खरिद गरिएको थियो ।बेलायती आर्किटेक्टबाट प्रभावित भएर निर्माण गरिएको सिंहदरबार बनाउन करिब ५० लाख रुपैयाँ खर्च भएको थियो । चन्द्रशमशेरले २८ वर्ष सिंहदरबारमै बसेर शासन गरेका थिए । विक्रम संवत् ०३० मा भएको आगलागीमा सिंहदरबारको दुई तिहाइ भाग जलेर ध्वस्त भएको थियो ।

नयाँ बनाउँदा एक अर्ब, रेट्रोफिटिङमा ८० करोड

एकाइका उपनिर्देशक सुरेशकुमार वाग्लेले भने, ‘सिंहदरबार भत्काएर नवनिर्माण गर्दा र रेट्रोफिटिङ गर्दाको खर्च लगभग उस्तै हो । नयाँ बनाउँदा सिंहदरबार सबै पक्षबाट बलियो हुन्छ र त्यो जुनसुकै प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ । तर, रेट्रोफिटिङ गर्दा संरचना बलियो हुँदैन । त्यो ‘मनोमेन्ट’का रूपमा मात्रै रहन्छ ।’पुरातत्व विभागको जोड भने ‘रेट्रोफिटिङ’ गरेर सिंहदरबारलाई पुरानै अवस्थामा संरक्षण गर्नुपर्नेछ । विभागका महानिर्देशक भेषनारायण दाहाल सिंहदरबारको ऐतिहासिक महत्व रकमसँग तुलना गर्न नमिल्ने तर्क गर्छन् । उनले भने, ‘सिंहदरबारले सय वर्षभन्दा पुरानो इतिहास बोकेको छ । यसको फरक शैलीको ऐतिहासिक महत्व छ ।

सबै पक्षलाई रकमसँग तुलना गर्न मिल्दैन ।’ महानिर्देशक दाहालले आर्किटेक्ट, इन्जिनियर तथा संस्कृतिविद् पनि यसैको पक्षमा रहेको बताए । ‘सोमबर बसेको बैठकमा पनि यस विषयमा छलफल भयो । सबैको राय सिंहदरबारलाई पुरानै अवस्थामा संरक्षण गरिनुपर्छ भन्ने छ । त्यसो हुँदा सिंहदरबार निर्माणमा ‘रेट्रोफिटिङ’को विकल्प छैन,’ दाहालले नयाँ पत्रिकासँग भने ।

टेकराज थामी/नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको