Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलले उठायो ५५ करोड बक्यौता, अझै डेड अर्ब बाँकी

ramesh lamsal

आइतबार, २० माघ २०७५, ११ : ०२ मा प्रकाशित

त्रिभुवन विमानस्थलले उठायो ५५ करोड बक्यौता, अझै डेड अर्ब बाँकी

अर्थ संसार, काठमाडौ– त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोड बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै रु ७ करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।

एक महीनाको अवधिमा रु ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ ।

विमानस्थल कार्यालयले अझै करीब डेढ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करीब रु ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब रु  ४० करोड छ । निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको बताइन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।

विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ ।

कुन कम्पनीबाट कति उठ्यो ?

विमानस्थलले एयर एसियाबाट ३१ करोड, हिमालयन एयरलाइन्सबाट ५ करोड, सिम्रिक एयरबाट करीब ३ करोड, सौर्य एयरलाइन्सबाट १ करोड ८० लाख, रसुवा केडीको १ करोडभन्दा बढी, थाई एयरलाइन्सबाट १ करोड २५ लाख र पार्किङ शुल्क डेढ करोड तथा अन्य साना कम्पनीबाट थोरै–थोरै गरी करीब ७ करोड रुपैयाँ उठाएको छ ।

हिमालय एयरलाइन्सलाई १ महिने अल्टिमेटम

अन्तर्रा्ष्ट्रिय उडानमा रहेको हिमालय एयरलाइन्सले विमानस्थललाई सेवा शुल्कबापतको रकम समयमा नबुझाएपछि एक महीनाको चेतावनी (अल्टिमेटम) दिइएको छ ।

एक महीनाभित्र रकम नबुझाए उडान बन्द गर्ने चेतावनीसहित विमानस्थलले पत्राचार गरेपछि उक्त एयरलाइन्सले विमानस्थललाई रकम भुक्तानी गर्ने आश्वासन दिएको छ । एक महीनाभित्र उडान नगरे सेवा बन्द गर्नेसम्मको कारवाही हुने विमानस्थलले जनाएको छ । उक्त कम्पनीले गत पुसको अन्तिम साता विमानस्थललाई ५० लाख रुपैयाँ भुक्तानी गर्दै बाँकी रकम तिर्न एक महीनाको समय मागेको थियो ।

हिमालयनले करीब रु १४ करोड बक्यौता तिर्न बाँकी छ । नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएइको दुबई र कतारको दोहामा नियमित उडान भर्दै आएको छ । हिमालयका तीनवटै जहाज सञ्चालनमा रहेकाले बक्यौता तिर्न नियमित सम्पर्कमै रहेकाले यो रकम चाँडै उठ्ने महाप्रबन्धक क्षेत्रीको विश्वास छ ।

सौर्य एयरलाइन्स १ महीनादेखि उडान बन्द

विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको दुई महीनाभन्दा बढी समयदेखि उडान बन्द रहेको छ । करीब ३ करोड रुपैयाँ बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ‘ग्राउण्डेड’ भएका हुन् ।

पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ । एयरलाइन्सले चाँडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएको छैन ।

सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । उडान औसतमा ५० देखि ५५ अन्तर्रा्ष्ट्रिय उडान हुन्छ । आन्तरिकतर्फ करीब ३०० उडान हुन्छ । आन्तरिकमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको