बिहिबार, ३० असोज २०७६
हाम्रो लोकतन्त्रले किन सोचेजस्तो काम गर्न सकिरहेको छैन
सोमबार, २१ माघ २०७५

आज हाम्रो यात्रा सुरु भएको पाँचौ दिनको बिहान । हामीले १५ गते बिहान ८ बजेबाट यो कार्यक्रम सुरु गरेका हौं । यहाँहरुलाइ थाहा छ, जसरी पुराना ठूलो राजमार्गको सबैभन्दा पुरानो विन्दूलाई काँकडभित्ता भन्ने गर्छौं । त्यसै गरी यो मध्य पहाडी राजमार्गको सबैभन्दा पूर्वी विन्दू वा नेपालतिरको भागलाई चिवा भन्ञ्याङ भन्ने गरिन्छ । चिवा भन्ञ्याङको पारिपट्टी सिक्किम छ र त्यो अलिकति अग्लो करिब ३१ सय मिटर अग्लाइमा रहेको भन्ञ्याङ हो । त्यहाँ हामी पुग्दा हिउँ परिरहेको थियो । डाँडाहरु सेताम्मे थिए, बाटो छेकिएको थियो र गाडीहरु चिप्लिएर त्यहाँ पुग्न अप्ठ्यारो भइरहेको थियो ।

तथापि, हामी बिहान तोकिएको समयमा १५ गते ८ बजे त्यो भन्ञ्याङमा पुगेका थियौं । र यो असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने अभियानलाई त्यहाँबाट सुरुवात गरेका थियौं ।

यो यात्रा एक महिना लामो छ । ठीक फागुनको १५ गते यसरी नै हामी यो राजमार्गको सबैभन्दा पश्चिमी विन्दू महाकालीको किनार झुलाघाट भन्ने ठाउँमा पुग्ने छौं । यी विन्दू मध्य पहाडी राजमार्गका दुई विन्दूहरु हुन् । यी विन्दूबीचको यात्रा माघ १५ गते तय गरेर फागुन १५ गतेसम्म तय गरेर यात्रामा गइरहेका छौं । र, त्यही १५ गते २ बजेतिर बैतडी जिल्लाको गोठाला भन्ने ठाउँमा पुग्ने छौं । त्यहा पुगेर हामीले कार्यक्रमलाई समापन गर्ने छौं ।

यो कार्यक्रममा हामी किन छौं ? यसका केही उद्देश्यहरु छन् । हामी करिब २७ वटा जिल्लालाई छोएर यो यात्रामा जाने छौं । र, करिब ८६ वटा स्थानमा जनसंवाद हुनेछ अर्थात् भेटघाट र छलफल कार्यक्रम गर्ने छौं । र, ८६ स्थानमा करिब १५० सयवटा भेटघाट र छलफल गर्ने छौं र अन्तरसंवाद कार्यक्रम हुने छ । यो कार्यक्रमको मुख्य लक्ष्य भनेको असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने रहेको छ । यसका केही मुख्य उदेश्यहरु छन् ।

पहिलो, हामी जुन लोकतन्त्रमा छौं, लोकतान्त्रिक व्यवस्थामा स्वभाविक रुपले दलहरु हुन्छन् । हाम्रो नयाँ शक्ति पार्टी पनि बन्दै गरेको पार्टी हो । बन्दै गरेको पार्टी हो,बनिसकेको पार्टी होइन । तपाईहरु अरु विभिन्न पार्टीमा हुनु होला । आफ्नो आस्था र विचार अनुसारको ठाउँमा हुनु होला । हामी बनिसकेको पूर्ण प्रस्तिपर्धी पार्टीको रुपमा आफ्नो पार्टीलाई ठान्दैनौं । हामी यसलाई एउटा नयाँ वैचारिक आन्दोलन, नयाँ राजनीतिक अभियान ठान्छौं । यो अभियानले केही समय लिन सक्छ । अभियानले खास विन्दूमा गएपछि एउटा परिपक्क पार्टीको रुप लिनसक्छ ।

पार्टी पनि लोकतन्त्रमा महत्वपूर्ण कुरा हो । तर, पार्टी त्यति महत्वपूर्ण कुरा होइन जति देश महत्वपूर्ण कुरा हो । पार्टी त्यति महत्वपूर्ण कुरा होइन जति जनता महत्वपूर्ण कुरा हो । पार्टी त्यति महत्वपूर्ण कुरा होइन जति मानवता महत्वपूर्ण कुरा हो । पार्टी त्यति महत्वपूर्ण कुरा होइन जति मानिसको खुशी महत्वपूर्ण कुरा हो । समृद्धि महत्वपूर्ण कुरा हो । त्यसर्थ, यसलाई केबल नयाँ शक्ति पार्टीको राजनीतिक अभियान भन्ने मात्रै नबुझिदिनु होला ।

यो एउटा जनतासँग वृहत संवाद हो । देशको एउटा स्थापित भइसकेको नेता जो एउटा ठूलो पार्टीको तर्फबाट प्रधानमन्त्री भइसक्नुभयो, १० वर्ष एउटा भूमिगत आन्दोलन, विद्रोही र क्रान्तिकारी राजनीतिक आन्दोलनमा लाग्नुभयो । उहाँले जीवनको उत्तरार्धतिर एउटा नयाँ राजनीतिक आन्दोलन सुरु गर्नुभयो । आम जनतालाई अपिल गर्नुभयो । आव्हान गर्नुभयो कि हामी डेमोक्रेसीसम्म त आयौं । यसका लागि लड्यौं । राणाविरुद्ध लड्यौं । पञ्चायतविरुद्ध लड्यौं । निरंकुशताविरुद्ध लड्यौं । यावत बेथितिविरुद्द्ध लड्यौं । आधारभूत मानवीय स्वतन्त्रता, न्याय,समानता र मुक्तिका लागि लड्यौं ।

त्यो ठीक छ । आजको विन्दूमा आइपुग्दा हाम्रा समस्या के हुन् त ? हाम्रो लोकतन्त्रले किन सोचेजस्तो काम गर्न सकिरहेको छैन । हाम्रो समस्या कहाँ छ ? हाम्रो प्रणालीमा समस्या कहाँ छ ? हाम्रो संस्कृतिमा समस्या कहाँ छ ? हाम्रो राज्य प्रणालीमा समस्या कहाँ छ ? भ्रष्टाचार किन बढिरहेको छ ? राज्यको स्रोत साधनलाई हामीले किन ठीक ढङ्गले किन उपयोग गर्न सकिरहेका छैनौं ? र, किन विकासको प्रतिफल जनतासमक्ष ठीक ढङ्गले पुग्न सकिरहको छैन । किन विश्वमा हामी अझै पनि गरीब मुलुक असाध्यै कम प्रतिव्यक्ति आय भएको देश कि संसारमा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश कि कतारको प्रतिव्यक्ति आय १ लाख ३० लाख डलर पुग्दा हामी नेपालीको प्रतिव्यक्ति आय केबल १ हजार डलर मुस्किल किन छ ? लोकतन्त्रपछि यस्ता प्रश्न आउँछन् ।

राजनीति भनेको केबल एउटा पार्टीको झण्डा बोकेर जुलुसमा जिन्दावाद मुर्दावाद गर्नु मात्रै होइन । राजनीतिको मुख्य उद्देश्य भनेको देशको तत्कालीन अवस्थामा तत्कालीन परिस्थितिमा तत्कालीन विश्व परिस्थितिमा त्यो राष्ट्रको भविष्य कतातिर मार्गनिर्देश भइरहेको छ ? त्यसमा के समस्या छन् र ती समस्यालाई चिन्ने र ती समस्याको समाधान दिने अन्तरविरोधको हल गर्ने पद्धतिको नाम नै राजनीति हो । त्यसैले आज नेपालमा समस्याहरु के हुन् ? गणतन्त्रपछि आधारभूत लोकतन्त्रपछि सघीयताको संविधानपछि धर्मनिरपेक्षपछि समावेशिताको सिद्धान्तपछि र संविधान नै समाजवादोन्मुख लेखिसकेपछिको नेपालको वास्तविक अन्तरविरोध के हो ?

र, अब नेपाललाई अगाडि बढाउन हामीले अब कस्तो बाटो तय गर्नुपर्छ ? यसमा एउटा गहिरो संवाद हुनुपर्छ । कुनै एउटा पार्टीले एउटा समूहको मान्छेले नेताले दुईचार जना मान्छेले लेखेर भनेर बोलेर हुँदैन । दुरदराजका गाउँलेले यसमा के सोच्नुहुन्छ । तपाईहरुको धारणा आउनुपर्छ । तपाईंको यो धारणालाई संकलन गर्न आएका छौं । यसलाई हामी कलेक्शन गर्छौं । प्रतिवेदन बनाउँछौं । तपाईंका कुराहरु सुन्छौ । र, राष्ट्रिय बसहमा यो मुद्दालाई उठाउने प्रयास गर्छौं । यो एउटा पक्ष हो ।

दोस्रो, यो मध्यपहाडी राजमार्गको समस्या के छ ? यसको विकासको कुराहरु के भइरहेछन् ? चिवा भन्ञ्याङबाट यता लाग्दा विभिन्न कुराहरु सुन्यौं । पहाडमा जनसंख्या घट्दै गइरहेको छ । श्रमशक्तिको अभाव छ । जमीनहरु बाँझो हुँदै गइरहेका छन् । ठूलो मानवबस्ती जस्तै- तेह्रथुमको संक्रान्ति बजारमा पुग्दा त्यहाँ हामीले सुनेका थियौं कि संक्रान्ति बजार पहिला ठूलो बजार थियो । तर अहिले जनसंख्या ह्रास भइरहेको छ । त्यसको महत्व घट्दै गइरहेको छ । यहीँ हामी जरायोटार आइपुग्दा सुन्यौं, त्यसलाई एउटा सुख्खा डाँडाको रुपमा हेरिन्छ । तर, पानीको व्यवस्था कसरी गर्न सकिन्छ । यो बीचको जनजीवनका समस्या के छन् ? यी सबै कुरालाई संकलन गर्ने बुझ्ने ।

यसलाई हाम्रो पार्टीको संयोजक जो संसदको सदस्य पनि हुनुहुन्छ । उहाँले यो यात्रापछि संसदमा विशेष समय लिएर यो मध्य पहाडी क्षेत्रका जनताको समस्याबारे संसदमा सम्बोधन गर्नु हुनेछ । यस क्षेत्रका समस्यालाई राष्ट्रिय बसहमा ल्याउने प्रयास पनि गर्नेछौं ।  

(नयाँ शक्तिका प्रवक्ता रहेका खतिवडाले जनसंवाद यात्रा अन्तर्गत शनिबार भोजपुरमा आयोजित अन्तर्क्रियामा व्यक्त विचारको अंश)     

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved