Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा

मंगलबार, २२ माघ २०७५, १९ : ०२ मा प्रकाशित

पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ ।

कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेको हो ।

कतारबाट फर्केपछि आज रासससँग कुरा गर्दै प्रवक्ता वाग्लेले निर्माणमा जान सक्ने तयारीमा रहेको परियोजनाका रुपमा पश्चिम सेती आयोजनाको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको सो आयोजना निर्माण जान सक्ने अवस्थामा रहेको बारेमा बोर्डले सो कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको प्रवक्ता वाग्लेको भनाइ छ ।

“पश्चिम सेतीका बारेमा उहाँहरु इच्छुक हुनुहुन्छ, तर थप छलफल र आवश्यक प्रक्रिया भने निरन्तर संवादपछि मात्रै अगाडि बढ्नेछ,” उहाँले भन्नुभयो । सो आयोजनाको कूल लागत एक खर्ब ५० अर्ब जति हुने अनुमान गरिएको छ ।

 आयोजनाका बारेमा प्रारम्भिक रुपमा भएका द्विपक्षीय वार्ता सकारात्मक रहेको भन्दै थप प्रक्रिया अगाडि बढाइने बोर्डको तयारी छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजना लामो समय अष्टे«लियाको स्मेक कम्पनीले जिम्मा लिएको थियो । सो कम्पनी हटेपछि सरकारले २०६८ सालमा आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई प्रवद्र्धनका लागि आग्रह गरेको थियो ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको २५ र चिनियाँ कम्पनीको ७५ प्रतिशत शेयर रहने गरी सम्झौता भएको थियो । बोर्ड, प्राधिकरण र चिनियाँ कम्पनीबीच पटकपटक आयोजनाका बारेमा समेत छलफल भएको थियो । तर व्यावसायिक कार्ययोजना र केही विषयमा असहमति रहेपछि चिनियाँ कम्पनी गत असोजदेखि सो आयोजनाबाट बाहिरिएको छ ।

पछिल्लो पटक बोर्ड बैठकले लगानीको ढाँचा र प्रक्रिया तय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको एक कार्यदल बनाएको थियो । सो कार्यदलले बोर्डमा प्रतिवेदन बुझाउने क्रममा छ ।

यस्तै बोर्डले कतारका सरकारी निकाय तथा निजी क्षेत्रलाई समेत आगामी चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सहभागी हुनसमेत आग्रह गरेको थियो ।

प्रवक्ता वाग्लेका अनुसार सम्मेलनमा सहभागी हुन कतार उत्सुक रहेको र सहभागी हुने वचनसमेत दिएको जानकारी दिनुभयो । यस्तै बोर्डले अगाडि बढाइरहेका अन्य आयोजनाका बारेमा पनि कतार सरकार प्रतिनिधिसँग छलफल गरेको थियो ।

बोर्डले समन्वय गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । यस्तै बोर्डले नै संयोजन गरेको होङ्सी शिवम् सिमेन्टले पनि उत्पादन शुरु गरेको छ ।

यस्तै, रासायनिक मल कारखाना, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ उपत्यका मेट्रो रेल, काठमाडौँ–कुलेखानी हेटाँैडा सुरुङ मार्ग, काठमाडौँ–पोखरा रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजना पनि अगाडि बढाएको छ ।

बोर्डले परियोजना बैंक स्थापना गरेर केही ठूला आयोजना अगाडि बढाउन लागेको छ । यस्तै, लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आयोजनासमेत गरेको सन्दर्भमा बोर्डका अधिकारी र कतारी अधिकारीबीच छलफल भएको हो ।

कतारको सो कम्पनीले विभिन्न चार देशका विभिन्न आयोजनाबाट चार हजार ८४५ मेगावाट विद्युत् उत्पादन गरेको छ । ऊर्जा क्षेत्रमा दिगो र दीर्घकालीन रुपमा लगानी गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको