Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा गृहमन्त्री थापाले निर्मला प्रकरणबारे प्रश्नको सामना गर्दै

बुधबार, २३ माघ २०७५, ०९ : २० मा प्रकाशित

संसदमा गृहमन्त्री थापाले निर्मला प्रकरणबारे प्रश्नको सामना गर्दै

अर्थ संसार, काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन् । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा गृहमन्त्री थापासँगको प्रश्नोत्तर कार्यसूचीमा राखेको छ ।

कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन् । सोही प्रश्नमाथि थापाले जवाफ दिन लागेका हुन् । तर सम्बन्धित विषयमा सांसदहरूले पुरक प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधि सभा नियमावलीले गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पनि सांसदहरूले गृहमन्त्रीलाई पुरक प्रश्न सोध्न पाउनेछन् ।

गृहमन्त्री थापाले ती प्रश्नमाथि जवाफ दिनेछन् । संसद सचिवालयले बुधबार गृहमन्त्रीसँगै अर्थ, वन र महिला तथा बालबालिका मन्त्रालयका विषयमा सांसदहरूले दर्ता गराएको प्रश्नमाथि जवाफ दिने कार्यक्रम राखेको छ । गृहमन्त्रालयसँग सम्बन्धित चार विषयमा मन्त्री थापाले बुधबार जवाफ दिन लागेका हुन् ।

भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको विषयमा प्रहरीले गरेको इकाउन्टरका विषयमा समेत थापाले संसदमा जवाफ दिँदैछन् ।

त्यस्तै, अछामको मंगलसेनका नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषय र मोरङ लेटाङको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको अनुसन्धानका विषयमा समेत थापाले संसदमा जवाफ दिन लागेका हुन् ।

२०४८ र २०५१ को संसदमा प्रश्नोत्तरको व्यवस्था हुने गरेको थियो । तर संविधानसभाको अवधिभर संसदमा प्रश्नोत्तर भएन । नयाँ निर्वाचनपछि पुनः संसदमा प्रश्नोत्तर सुरू गरिएको हो । संसद बैठक बुधबार १ बजे बस्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको