Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

शुक्रबार, ०३ फागुन २०७५, १० : ४४ मा प्रकाशित

पोखरा फाइनान्सको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

२०५३ सालमा स्थापना भएको पोखरा फाइनान्स कम्पनीले १८ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले गतवर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ६८४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी रू. ८५ करोड ७२ लाख पुगेको छ ।

पोखरा फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ३ फागुन २०७५)सेवा अभिवृद्धिका लागि थप शाखा सञ्जाल विस्तार एवम् अधिक ग्राहकवर्गको पहुँचमा पुग्ने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याउने र उत्पादनशील क्षेत्रलाई थप प्राथमिकतामा राखी लगानीमा विविधता एवम् संस्थागत सेवाको गुणस्तर र मुनाफास्तर दुवै पक्षलाई सुदृढ गर्दै लैजाने कम्पनीको आगामी योजना छ ।

कम्पनीले हाल आकर्षक कर्जा योजनाहरू व्यापार कर्जा, औद्योगिक कर्जा, कृषि कर्जा र पर्यटन कर्जा प्रदान गर्दै आएको छ । ‘शपिङ गर्दा एउटै झोला बारम्बार प्रयोग गरौं, स्वच्छ शहरको अभियानमा अघि बढौं’ भन्ने नारासहित कम्पनीले १ खाता खोल्दा १ झोला उपलब्ध गराउँदै आएको छ । चालू आव २०७५/७६ को दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड १० लाख नाफा कमाएको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५ अर्ब १८ करोड निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३१ प्रतिशत र कर्जा प्रवाह २५ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. ३१ करोड ५७ लाख छ ।

  • कम्पनीले रू. १२ करोड १२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६३ प्रतिशत बढी हो । कर्मचारी खर्च ४३ प्रतिशत बढेर रू. ३ करोड ४१ लाख पुगेको छ । शाखा विस्तारले गर्दा कर्मचारी खर्च बढेको हो । सञ्चालन नाफा रू. ६ करोड ३९ लाख पुगेको छ । स्थिर सम्पत्ति रू. १९ करोड ९२ लाख र अन्य सम्पत्ति १३ प्रतिशत बढेर रू. २७ करोड १८ लाख पुगेको छ ।

  • कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १ करोड १० लाख छुट्याएको छ । निष्क्रिय कर्जा १ दशमलव १० प्रतिशत, पूँजीकोष लागत ९ दशमलव ४० प्रतिशत र पूँजीकोष पर्याप्तता २१ दशमलव ४३ प्रतिशत छ ।

  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ९ दशमलव ५८, मूल्य आम्दानी अनुपात १४ दशमलव ४१, तरलता अनुपात ३३ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३३ दशमलव ८६ छ । बुधवारको शेयरमूल्य रू. १ सय २९ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.००५ गुणा

  • अर्निङ यिल्ड रेशियो : ६.९२ प्रतिशत

  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । उक्त समयसम्ममा ६ हजार ४ सय १५ कित्ता शेयर खरीद र १ हजार ४३ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी आकृति भएको मैनबत्ती बनेको छ । यो आकृतिले लगानीकर्तामा ‘पर्ख र हेर’को स्थिति सृजना भएको छ । आरएसआई न्युट्रल जोन ४० दशमलव ३४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय २८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ३२ मा प्रतिरोध पाउने देखिन्छ भने रू. १ सय २८ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको