Like us!
Follow us!
Connect us!
Watch us!

५५ करोड लागतमा २ मेगावाटको जलविद्युत् आयोजना बन्दै, सरकारले दियो यस्तो सुविधा

ramesh lamsal

सोमबार, २० फागुन २०७५, १२ : ५९ मा प्रकाशित

५५ करोड लागतमा  २ मेगावाटको जलविद्युत् आयोजना बन्दै, सरकारले दियो यस्तो सुविधा

अर्थ संसार, काठमाडौँ – कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाई जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेतमा निर्माणाधिन ‘अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत् आयोजना’को परिचयात्मक कार्यक्रमका वक्ताले जलविद्युत्मा लगानी गर्न आग्रह गरेका हुन् ।

आयोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभाका सदस्य ठम्मर विष्टले जलविद्युत्को यथेष्ट सम्भावना रहेको कर्णालीमा प्रयाप्त लगानीको अभाव रहेको बताउनुभयो । विद्युत् उत्पादन गर्न सकेमात्र प्रदेशको अर्थतन्त्र सबल बन्न सक्नेमा जोड दिँदै उहाँले लगानी भित्र्याउन प्रदेश सरकारले लगानीकर्तालाई राजश्व छुट दिने नीतिगत निर्णय गरिसकेको जनाउनुभयो ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अपर पराजुली खोला जलविद्युत् आयोजना प्रदेशको पहिलो खुट्किला भएको औँल्याउँदै आयोजनालाई पूर्णता दिन उद्योगी, व्यवसायीलाई अनुरोध गर्नुभयो । सङ्घका पूर्वअध्यक्ष एवं व्यवसायी विष्णुबहादुर शाहीले उद्योगीका लागि विद्युत् पहिलो आवश्यकता भएकाले यसको उत्पादनमा जोडदिन सुझाउनुभयो ।

रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले विद्युत् प्राधिकरणले उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि परेको गुनासो गर्नुभयो । तेत्तीस केभिए प्रसारण लाइन नहुँदा आयोजना निर्माणमा ढिलाइ भयो, अध्यक्ष मल्लले भन्नुभयो, बजार मूल्य, वित्तीय संस्थाको ब्याजका कारण आयोजना निर्माण केही महङ्गो पर्न गएको छ ।

उहाँले न्यूनतम रु ५ लाखदेखि अधिकतम रु ५० लाखसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता रु ११५ र चैत्र मसान्तसम्म प्रति कित्ता रु १५० का दरले शेयर लगानीको आह्वान गरेको छ ।

उक्त विद्युत् आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यकोे ३० प्रतिशतगरी करीब रु ५५ करोडको लागतमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताउनुभयो ।

आयोजनाबाट वार्षिक आम्दानी रु छ करोड ६१ लाख ४५ हजार हुने कम्पनीले जनाएको छ । विद्युत् प्राधिकरणसँग सुक्खा मौसममा प्रति युनिट रु ८.८० र वर्षातको समयमा रु ४.८० का दरले खरीद बिक्रीको सम्झौता गरेको उक्त कम्पनीले विद्युत् उत्पादनका लागि दुई हजार ७०० मिटर कुलो निर्माण गरी एक हजार ४४० मिटर पाइपलाइन तल झार्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको