मङ्गलबार, ०५ चैत २०७५
लैंगिक समानता र स्वतन्त्रताको अभियानसँगै समानताको अर्थ पुरूषले बच्चा जन्माउनु पर्छ भन्ने हो र ?
शुक्रबार, २४ फागुन २०७५

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यस दिवसको आफ्नो गौरवशाली इतिहास छ । संसारभरिका महिलाहरूले गौरव गर्छन् यस दिवसप्रति । यस अवसरमा यस दिवसका मुख्य ब्यक्तित्व क्लारा जेटकिनलगायत संसारभरका संघर्षशील अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।

इतिहास साक्षी छ, सन् १९०१ सम्म विश्वभरी कुनै पनि महिलाले मताधिकार पाएका थिएनन् । महिलाहरू आफ्नो घरभित्र दासी, अर्ध-दासीको रूपमा जिउन बाध्य थिए । अधिकार प्राप्तिको संगठित संघर्ष गर्दै जाने क्रममा सन् १९०७ मा जर्मनीको स्टुटगार्डमा पहिलो अन्तर्राष्ट्रीय महिला सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले पुरूष समान मताधिकारको प्रस्ताव पारित गर्यो ।

१८ घण्टे श्रम समयलाई १० घण्टामा झार्नु पर्ने, उध्योगभित्र गरिने अमानवीय वातावरणमा सुधार ल्याउनु पर्ने, महिलाहरूले पनि आर्थिक र राजनीतिक कार्यमा सक्रिय रूपमा भाग लिन पाउनु पर्ने जस्ता माँगहरू राखी अमेरिकाको न्यूयाेर्कमा सन् १९०८ देखि १९०९ सम्म महिलाहरूले सशक्त आन्दोलन जारी राखे । यस आन्दोलनको उत्कर्ष दिन थियो ८ मार्च । यस एेतिहासिक दिनको सम्झना र सम्मानको लागि सन् १९१० मा कोपन हेगनमा सम्पन्न दोश्रो अन्तर्राष्ट्रीय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गर्यो ।

संसारभरिका महिलाहरूले यस दिवस मनाउन थालेको १०९ बर्ष पुरा भएको छ । एक शताब्दी लामो संघर्षपश्चात पनि लिंगीयलगायत बिभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधान- २०७२ ले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि कर्ममा विभेद जारी छ । संविधानमा जे लेखिएको भए तापनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ ।

सामान्यत: नेपाली महिलाहरूका लागि कानुनी उपचार काकाकूललाई पानी बराबर भएको छ । समाजमा ब्याप्त रूढिवाद र अशिक्षाको कारण नेपाली महिलाहरूको ठुलो हिस्सा कानुनको पहुँचभन्दा बाहिर छ । पहुँच भएकाहरू पनि पक्षपातको शिकार भएका छन् । देशमा कानुनका रक्षकहरू नै भक्षक भएका प्रशस्त उदाहरणहरू छन् ।

नेपाली महिलाहरूमाथि हुँदै आएका र भइरहेका शोषणका रूपहरू बहुरूपी छन् । लैंगिक, धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, यौनिक, शैक्षिक आदि इत्यादि ।

प्राकृतिक रूपमै महिलाहरू कमजोर हुन्छन् भन्ने भ्रम महिला, पुरूष दुबैमा जबरजस्त छ । तर अहिलेसम्मको अनुसन्धानले जैविक रूपमा पुरूषभन्दा महिला कमजोर हुन्छ भनेर कहिँ कतै प्रमाणित गरेको छैन । भ्रमलाई बोकेर हामी महिलाहरू मानसिक रूपमा आफूलाई कमजोर बनाइरहेका छौं । मेरो बिचारमा हामी महिलाहरूलाई प्रकृतिले होइन, यस पुरूषप्रधान समाजको मूल्य, मान्यता र संस्कारले कमजोर बनाइरहेको छ ।

"पुरूषप्रधान" भनेर सम्बोधन गर्दा मेरा कतिपय पुरूष साथीहरू रिसाउने गर्नु हुन्छ । मेरो विनम्रतापूर्वक अनुरोध छ- "साथीहरू ! मैले कुनै पुरूष ब्यक्ति बिशेषलाई आरोपित गर्न खोजेकी होइन; केवल हाम्रो समाजमा भएको प्रवृत्तिको कुरा मात्रै गरेकी हूँ । कृपया रिसानी माफ गर्नुहोला ।"

कतिपय महिलाहरू छोरी भएर जन्मिएकोमा ठूलो गुनासो छ आफैँप्रति । तर म छोरी भएर जन्मिएकोमा गर्व गर्दछु । किनकि, छोरी भनेका यस श्रृष्टीलाई निरन्तरता दिने सिर्जनाशक्ति भएकी आमा हुन् । भ्रुणदेखि नै छोरीहरूमाथि गरिने भेदभावजन्य ब्यबहारले उनीहरूको शारीरिक र मानसिक बनोटमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ । म अनुरोध गर्न चाहन्छु-"आमाहरू ! भ्रुणदेखि नै अन्याय नगर्नुस् छोरीहरूमाथि । छोरीप्रति गर्व गर्नुहोस् र छोरासरह ब्यबहार गर्नुहोस् ।"

बलात्कार, महिला बेचबिखन र बिशेषगरी मधेसमा डरलाग्दो रूपमा रहेको दाइजो प्रथाले नेपाली नारीहरूलाई मृत्युको मुखमा धकेली रहेको छ । यस्ता मानवताबिरोधी अपराधजन्य कृत्य गर्नेहरूलाई राज्यले हदैसम्मको कानुनी कार्बाही र समाजले सामाजिक रूपमा बहिष्कार गर्ने हिम्मत गर्नु पर्छ ।

आर्थिक विपन्नताको कारण कतिपय नेपाली नारीहरू बेश्याबृत्तिमा लाग्न पनि बाध्य छन् । कतिपय होटल, रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर अघोषित बेश्यालय बन्न पुगेको छ । प्रहरी प्रशासनकै मिलिभगतमा त्यस्ता ठाउँहरूमा यौनब्यापार भइरहेको कुरा बेलाबखत मिडियाहरूमार्फत समाचार सार्बजनिक भइरहेका छन् । मलाई लाग्छ स्वैच्छाले कुनै पनि सद्दे महिला बेश्याबृत्तिमा लाग्नै सक्दैन । बेश्याबृत्तिमा संलग्न महिलाहरूलाई घृणा गर्नुभन्दा सबैलाई रोजगारी उपलब्ध गराई त्यस्तो घृणित पेसाबाट मुक्त गराउन सिंगै राज्य र समाज लागि पर्नु जरूरी छ ।

कानुनले बर्जित गरे पनि बाल बिबाह र बहुबिबाह अहिले पनि समस्याको रूपमा रहेको छ । बिशेष गरी मधेसमा दलित समुदायभित्र बाल बिबाहको समस्या चर्को छ। शिक्षा, सामाजिक चेतना र आर्थिक विपन्नताको कारण यो सब भइरहेको छ, मधेसका दलित बस्तिहरूमा । राज्यले बिशेष कार्यक्रम बनाई यस्ता बिकृति रोक्न पहल गर्न जरूरी छ ।

अर्कातिर घरपरिवारको प्रतिष्ठाको निम्ति इच्छाविपरित जबर्जस्ती बिबाह गरिदिनु गर्ने समस्याबाट अहिले पनि नेपाली छोरीहरू प्रताडित छन् । बिबाह अरू कसैको प्रतिष्ठाको निम्ति नभएर आफ्नो लागि गर्ने हो । तसर्थ, सम्बन्धित ब्यक्तिलाई बैबाहिक अधिकार दिनु पर्दछ । परम्परा, धर्म, संस्कृतिको नाममा बिधवा बिबाह समाजमा बर्जित जस्तै छ । मेरो बिचारमा बिधवा बिबाहलाई प्रोत्साहन गर्नु पर्दछ । किनकि, एउटी नारी समाजमा खुलेर हाँस्न र बाँच्न पाउँदा त्यस समाजको प्रतिष्ठा उच्च हुन्छ ।

धर्म, परम्परा, संस्कार र अन्धविश्वासको कारण नेपाली महिलाहरूमाथि अत्यन्तै हिंस्रक दानवीय ब्यबहार भइरहेको छ । बोक्सीको नाममा मानव मलमूत्र खुवाउनु, शारीरिक यातना दिनु त्यतिले मात्र नभएर नृशंसतापूर्वक हत्यासमेत गरिनु महिलामाथि हुने हदैसम्मको अत्याचार हो ।

छाउपडी, देउकी, कुमारी प्रथा पनि महिलामाथिको हिंसा हो । क्रमश: समाजमा आइरहेको जागरणसँगै यस्ता परम्परा घट्दै त गएको छ, तर यस्तो नियमित प्रकृयाले अझै कैयौं बर्ष नेपाली महिलाले हिंसा भोगिरहन बाध्य हुनेछन् । तसर्थ, राज्यले समय सापेक्ष कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन, नागरिक स्तरमा जनचेतना अभियानको माध्यमद्वारा यस्ता हिंसात्मक कुप्रथाको शीघ्र अन्त्य गरिनु पर्दछ ।

प्रखरता, बौद्धिकता, कुशलता आदि गुणलाई वेवास्ता गरी रुप, रंग, यौवन, उचाँइका आधारमा जाचिँरहेका छन् नारी ! युगौदेखि नारी केवल शरीरका माध्यमबाटै चिनिइरहेका छन् !

समस्याको अनुहार वदलिएका छन् ! तर मूलस्वरुप जस्ताको तस्तै छ ! न बलात्कार कम भएको छ, न त अत्याचार र हत्या हिँसा नै बन्द भएको छ ! आखिर कहिले हुन्छ नारीका समस्याको समाधान ? समस्याहरु , प्रश्नहरु दिनप्रतिदिन थपिरहेका छन् तर समाधान एवं उत्तर भने सदियौदेखि वेपत्ताका वेपत्तै छन् !

के हरेक वर्ष मार्च ८ तारिखका दिन महिला दिवस मनाएर मात्र समस्याको समाधान होला त ?

लैंगिक समानता र स्वतन्त्रताको अभियानसँगै निरपेक्ष समानता र स्वतन्त्रताको उपभोग गर्ने विकृति पनि समाजमा बढ्दै गइरहेको छ । समानताको अर्थ पुरूषले बच्चा जन्माउनु पर्छ भन्ने हुनसक्दैन । किनकि प्रकृतिले त्यो अधिकार महिलालाई मात्र दिएको छ । हुनत आजकल विज्ञानले लिंग परिबर्तनदेखि टेस्टट्यूव बेबीसम्मलाई सम्भव बनाएको छ । तर त्यो प्रकृतिको आम कार्यविभाजनको बिरूद्धमा प्रयोग गर्न संभव छैन । त्यसैले समानताको अर्थ अवसरमा समानता हो, अवसरको उपभोगमा समानता हो ।

त्यस्तै स्वतन्त्रता भनेको ब्यक्तिगत अराजकता होइन । ब्यक्तिले प्राप्त गरेको अधिकार र कर्तब्यको सुन्दर संयोजन हो । समानता र स्वतन्त्रताको नाममा केही महिलाहरूले गर्ने कतिपय उछृंखल ब्यबहारले महिला समानता र स्वतन्त्रताको अभियानलाई कमजोर बनाइरहेका छन् । यसमा हामी महिलाहरू बढी सचेत हुन जरूरी छ ।

घर-घरमा महिलाले महिलामाथि गर्ने हिंसा, महिला मुक्तिको लागि ठूलो बाधक बनिरहेको छ । पुस्तान्तरणको कारण पैदा भएको सासू-बुहारी र आमा-छोरीबीचको अन्तरबिरोध होस् वा अशिक्षा र असल संस्कारको अभावमा देखिएको एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति होस् । यसले हामी महिलाहरूलाई पछि पारिरहेको छ । यस्ता आफैँलाई पछि पार्ने गलत हर्कतहरू अब बन्द गरिनु पर्दछ ।

अन्त्यमा,
अझै पनि हाम्रो संविधानमा नारी-पुरूषबीच विभेद छ । हुनत अहिले हाम्रो देशको राष्ट्रपति महिला हुनुहुन्छ, यो गर्वको कुरा हो । तर समग्र महिलाहरूको मुक्ति र स्वतन्त्रता केही महिला महत्वपूर्ण पदमा पुगेर मात्र हुँदैन । त्यसको लागि प्रणाली र संरचनामै परिबर्तन ल्याउनु जरूरी छ ।

महिला र पुरूष रथका दुई पांग्रा हुन् । पुरूषप्रति बदलाभाव राखेर वा महिलालाई हेपेर समानता संभव छैन । तसर्थ, एकले अर्काको अस्तित्व स्वीकार गर्दै सहयात्रा गरौं । अनि कायम गरौं नारी-पुरूष समानता ।

यस एतिहासिक दिनको अवसरमा सबैलाई हार्दिक शुभकामना !

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved