मङ्गलबार, ०५ चैत २०७५
बैंकलाई शेयर दलाल अनुमति : लगानीकर्ताको खुट्टामा बन्चरो
बुधबार, २९ फागुन २०७५

ज्योति दाहाल

पूँजीबजार र मुद्राबजार शब्दावली हेर्दा दुवै एकै हो भन्ने लाग्न सक्छ । तर, यी दुवैको अस्तित्व र उपयोग फरक छ । रायो र तोरीको दाना उस्तै र तेल आए पनि एकै होइनन् । ठ्याक्कै यस्तै किसिमको अन्तर पूँजीबजार र मुद्राबजारको बीचमा छ । पूँजीबजारमा अहिले मुद्रा (बैंक) बजारलाई प्रत्यक्ष रूपमा धितोपत्र दलाल मार्फत छिराउने प्रयास हुँदै छ । सरकार, केन्द्रीय बैंक र धितोपत्र बोर्ड युद्धस्तरमा रातदिन खटेर लागिरहेका छन् । पूँजीबजारमा बैंकलाई छिराउन खोज्नु लगानीकर्ताको दृष्टिमा खुट्टामा बन्चरो हान्नुभन्दा कुनै कुरामा कम होइन ।

बैंक र पूँजीबजारको अर्थ र कार्य 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले बैंकको परिभाषा गर्दै ‘बैंकिङ तथा वित्तीय कारोबार गर्न संस्थापना भएको संगठित संस्था सम्झनुपर्छ’ भनेको छ । त्यस्तै ऐनको प्रस्तावनामा ‘मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र संवद्र्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्नको लागि’ भनेको छ । बैंक आपैm व्यवसायी नभएर निक्षेप संकलन र कर्जा परिचालन गर्ने वित्तीय मध्यस्थकर्ता तथा भुक्तानी प्रणालीको विकासकर्ता हो । एउटासँग भएको पैसालाई किनेर (ब्याज दिएर) केही नाफा राखी अर्को व्यक्तिलाई नगद उपलब्ध गराई व्यावसायिक गतिविधिमा सहयोग पु¥याउनु हो । केन्द्रीय बैंक, बैंक र वित्त यसका मुख्य अंग हुन् ।

औद्योगिकीकरण, पूर्वाधार निर्माण र विकास जस्ता कार्यका लागि पूँजीबजारबाट शेयर, अग्राधिकार शेयर, ऋणपत्र जारी गरी पूँजी जुटाउने कार्य हुन्छ । बैंक स्वयम् पनि पूँजीको लागि आउने थलो यही हो । पूँजीबजारको अंगमा स्टक एक्सचेन्ज, दलाल, केन्द्रीय निक्षेपक, मर्चेन्ट बैंक आदि पर्छन् ।

पूँजीबजारमा लगानी र सूचना 

पूँजीबजारको अर्को पाटो दोस्रो बजार हो । पहिलो बजारमा गरिने लगानी तुलनात्मक रूपमा कम जोखिमयुक्त छ भने दोस्रो बजारमा गरिने लगानी अत्यधिक जोखिमयुक्त हुन्छ । दोस्रो बजार सूचना संवेदनशील भएको हुँदा सूचनाको भित्री पहुँचले प्रभाव पार्छ । हरेक त्रैमासमा प्रकाशित हुने सूचनालाई आधार मानेर दोस्रो बजारमा लगानी मात्र होइन सट्टाबाजी समेत हुनेगर्छ । दलाली समेत गर्न दिन लागिएको वाणिज्य बैंक धितोपत्र बजारमा सूचीकृत कम्पनी हुन् । वर्तमान नेपालको धितोपत्र बजारमा यिनै बैंकको अधिक कारोबार हुने गर्छ र बजार पूँजीकरणमा आधाभन्दा बढी योगदान रहेको हुँदा स्टक एक्सचेन्जलाई ‘बैंक स्टक एक्सचेन्ज’भन्दा पनि फरक नपर्ने स्थिति रहेको छ । पूँजीबजारको विकास र विस्तारको लागि भन्दै बैंक (सहायक कम्पनी) लाई दलाली गर्न भित्र्याउँदा यसले धितोपत्र बजारको विनाशलीला शुरू हुन्छ ।

शेयरबजारबाट सूचना उत्पादक र कारोबार मध्यस्थता छुट्याउनुपर्नेमा त्यसैलाई ‘डाडु पन्यू’ दिँदा हुने स्थिति कति भयङ्कर हुन्छ विश्वामित्रले हरिश्चन्द्रको परीक्षा लिएजस्तो लिनु पर्दैन । सीधै बैंकलाई दलाल दिने हो र ? त्यसको सहायक कम्पनीलाई दिने हो भन्ने जवाफ दिए पनि सहायक कम्पनीका मालिक (शेयरधनी) बैंक नै हुन् । आफ्नो मालिकले उत्पादन गर्ने सूचना पहिले आफूले नलिईकन सार्वजनिक हुन्छ भनेर अनुमान गर्न सकिन्छ । तर, यथार्थ त्यस्तो हुँदैन ।

अहिले पनि भित्री सूचनाको आधारमा दैनिक कयौं कारोबार हुने गरेका छन् तर पनि तालुकी अड्डाले त्यसको निगरानी राख्न सकेको छैन । भित्री सूचनायुक्त कारोबारले कयौं लगानीकर्ताको पैत्रिक सम्पत्ति गुमेको उदाहरण संसारभर जति खोजे पनि भेटिन्छ । नेपालको बैंकिङ, बीमा, धितोपत्र बजारका लगानीकर्ता एकै व्यक्ति वा व्यापारिक घरानाको हातमा रहेको छ । यसलाई अलग पार्न नसकिको अवस्थामा फेरि यिनैलाई दलाली पनि दिनु ‘आगोमा घ्यू’ थप्नु जत्तिकै हो । वाणिज्य बैंकको लघुवित्त र बीमा कम्पनीमा प्रत्यक्ष रूपमा रहेको लगानीले धितोपत्र बजारमा यसको अंश ८० प्रतिशतसम्म रहेको अनुमान गर्दा असान्दर्भिक हुँदैन ।

संवैधानिक हकको कसीमा

संविधानले निर्दिष्ट गरेका मौलिक हकमा ‘स्वतन्त्रताको हक’ अन्तर्गत ‘नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको’ प्रत्याभूति गरेको छ । त्यस्तै ‘सम्पतिको हक’ अन्तर्गत ‘प्रत्येक नागरिकलाई प्रचलित कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ’ भनेर व्यवस्था गरेको छ । नागरिकका लागि गरिएको मौलिक हक कानूनी व्यक्तिलाई गरिएको हो र कानूनले परिकल्पना गरेको कानूनी व्यक्तिलाई सुम्पिन सक्ने गरी कानूनी व्यवस्था गर्न सकिँदैन । धितोपत्र दलाली पनि व्यवसायको एउटा प्रकार हो । व्यवसायको एउटा प्रकार र कानूनले नै व्यवस्थित गरेको धितोपत्र दलाली गर्ने अनुमति पाउने अधिकार नागरिक बाहेक अरूलाई हुँदैन ।

नेपालको बैंक सम्बन्धी पहिलो कानून नेपाल बैंक कानून १९९४ ले पनि यस्तो व्यवस्था गरेको देखिँदैन र पछिसम्म पनि यस्तो आवश्यकता देखिएन । अहिले बैंकलाई नै दलाल दिनुपर्ने कुनै विशेष परिस्थिति निर्माण भएको छैन । योग्य र सक्षम नागरिकहरू बेरोजगार भएर खाडी वा अन्यत्र रोजगारीको लागि भौंतारिरहेको सन्दर्भमा यिनै सक्षम नागरिकको हातबाट व्यवसाय खोस्ने कार्यमा राज्य र नियामक लाग्नु हुँदैन । बैंक चलाउन सक्षम हुने नागरिक धितोपत्र दलाली गर्न अक्षम हुने भन्ने तर्क उचित हुन सक्दैन । दलाल व्यवसाय सञ्चालन गर्न नागरिक असफल र अक्षम भएको कुनै पनि उदाहरण छैन बरु दलाल दिने भनिएका बैंक नै असफल भएका उदाहरण छन् । नागरिक असफल भएको अवस्थामा भने वैकल्पिक व्यवस्थाका रूपमा बैंक वा अन्य कुनै संस्थालाई अनुमति दिन सकिने कानूनको मनसाय हो ।

शेयर बजारको झलक 

नेपालको शेयरबजारमा सूचीकरण भएका १ सय ८५ कम्पनीमध्ये बैंकिङको संख्या १ सय २५ रहेको छ । तालिकामा २०७५ माघ २४ गतेको कारोबारमा आधारित रहेर नेप्सेमा सूचीकृत कम्पनी र यिनको पूँजीकरण प्रस्तुत गरिएको छ । कुल पूँजीकरण १३ खर्ब ४८ अर्ब ४५ करोड ३१ लाख ५५ हजार ९ सय ८८ आएको देखिएको भए पनि सामान्य त्रुटि हुनसक्ने कुरालाई स्वीकार गरिएको हुँदा योगदानमा देखिएको प्रतिशत मोटामोटी भए पनि यथार्थको एकदमै नजीक छ ।

निष्कर्ष 

नेपालको शेयरबजारमा अझ पनि बैंकको अधिक अंश रहेको छ । बाह्य अभ्यास हेर्ने हो भने पनि बैंकलाई दलाल बनाउने कार्यको लागि यसको अंश बढीमा २० प्रतिशत हुनुपर्छ । योभन्दा कम भएको खण्डमा भने परिस्थिति हेरेर दलाल बनाउन सकिने सम्भावनाको औचित्य अत्यन्त न्यून रहेको हुन्छ । तर, नागरिकको सक्षमता रहेसम्म यस्तो सम्भावनाको गुन्जायस रहँदैन । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल सरकार र लगानीकर्ता तथा यिनका सङ्गठनले मनन गरेर अविलम्ब यस्तो कार्य रोक्न पहल गरून् ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।

dahal_j@hotmail.com

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved