Like us!
Follow us!
Connect us!
Watch us!

हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

शुक्रबार, ०१ चैत्र २०७५, १३ : ०२ मा प्रकाशित

हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

अर्थ संसार, काठमाडौँ– ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताउनुभयो । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उहाँले भन्नुभयो ।

ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो ।

यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको