Like us!
Follow us!
Connect us!
Watch us!

खुल्यो हिमालय उर्जाको आइपीओ, गर्ने होइन त लगानी ?

बुधबार, २० चैत्र २०७५, ०७ : ५८ मा प्रकाशित

खुल्यो  हिमालय उर्जाको आइपीओ, गर्ने होइन त लगानी  ?

अर्थ संसार, काठमाडौँ– आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्तालाई आज बुधबारबाट  हिमालय उर्जा विकास कम्पनीको आइपीओ खुलेको छ ।  सर्वसाधारणका लागि १४ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ खुलेको हो  । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।  

कुल निश्कासित कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई माघ २१ गते सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो । मेरो शेयरबाट आइपीओ भर्न सकिनेछ।

निजी क्षेत्रबाट प्रवद्र्धित यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रामेछाप र दोलखाबासीका लागि गत कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख आइपीओ निश्कासन गरेको थियो । 

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी २४ लाख ७५ हजार कित्ता निश्कासन गर्ने अनुमति पाएको थियो । 

आइपीओमा छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले  जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ। 

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गरिसकेको छ भने १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।


कम्पनी चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रतिसेयर वार्षिकीकृत घाटा ०.०६१ रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष ०७५/७६ को अन्तमा पनि कम्पनीले प्रतिसेयर आम्दानी नबढ्ने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष ०७६/७७ मा भने कम्पनीले प्रतिसेयर १५.४६८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ भने २०७७/७८ मा १८.२२९ रुपैयाँ प्रतिसेयर आम्दानी अनुमान छ । 

कम्पनी ०७६/७७ बाट मात्र सञ्चित नाफामा हुनेछ । ०७५/७६ मा २ करोड बढी सञ्चित घाटामा हुनेछ । ०७६/७७ मा १३ करोड २९ लाख र ३१ करोड ३४ लाख रुपैयाँ सञ्चित नाफा हुने प्रक्षेपण गरिएको छ । 

कम्पनीको प्रतिमेगावाट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो भनेको निकै कम लागत हो । यस्ता कम्पनी लगानीकर्ताको रोजाई बन्ने गर्छन, तर लगानी गर्नुअघि प्रति मेगावाट लागत कम भएकै आधार मात्र हेर्नु हुँदैन ।

कम्पनी अन्तर्गतका दुवै आयोजनाको साधारण लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्नेछ भने डिस्काउण्टमा लगानी फिर्ता हुने समय ९.४३ वर्ष लाग्नेछ । 

उपल्लो खिम्ती(१२ मेगावाट) र अपर खिम्ती(७ मेगावाट) जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रहेको छ । 

उपल्लो खिम्तीबाट वार्षिक ७ करोड ३६ लाख १२ हजार ५१९ युनिट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । यस्तै, अपर खिम्तीले वार्षिक रुपमा ४ करोड २२ लाख ९१ हजार २४८ युनिट उत्पादन हुने प्रक्षेपण कम्पनीको छ । 

कम्पनीले निर्माण गरिरहेका दुवै आयोजनाहरुका लागि आवश्यक रकम ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार मध्ये ७५ प्रतिशत बैंकबाट ऋण स्वीकृत भइसकेको छ भने बाँकी रकममध्ये संस्थापक सेयरधनीहरुबाट ७४ करोड २५ लाख चुक्ता भइसकेको छ । 

5ca4762cd7dd6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको