Like us!
Follow us!
Connect us!
Watch us!
विद्युत् चुहावटमा संलग्न कर्मचारीमाथि प्रहरीको अप्रेसन

वर्षमा १३ अर्बको विद्युत् चोरीः १२ कर्मचारी पक्राउ (नामावलीसहित)

सोमबार, १० माघ २०७३, ११ : ११ मा प्रकाशित

वर्षमा १३ अर्बको विद्युत् चोरीः १२ कर्मचारी पक्राउ (नामावलीसहित)

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षौँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको छ । कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

महानगरीय अपराध महशाखाले प्राधिकरणका सुपरभाइजर र मिटररिडरहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता हुन् । मनिज श्रेष्ठ कर्मचारी संघको कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य । त्यस्तै, महादेव प्रधान कर्मचारी युनियन विद्युत् प्राधिकरण इकाइका सल्लाहकार हुन् । प्राधिकरणका उच्च अधिकारीहरू हेटौंडा गएका बेला प्रधानले आफ्नै घरमा मिटर रिडिङका उपकरण राख्ने गरेका थिए ।

यसरी हुने गरेको छ बिजुली चोरी

प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ गर्ने, घरमा राखिएको मिटर रिडिङ गर्न नदिने, पुराना मिटरलगायतका विधिबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा पनि चोरी हुने गरेको छ । राजनीतिक दबाबका कारण प्रशासनले विद्युत् चोरीमा संलग्न व्यक्तिलाई कारबाही गर्न सकेको थिएन । प्राधिकरणका क्रियाशील ट्रेड युनियनले कर्मचारी सरुवामा हस्तक्षेप गर्दा पनि चोरी नियन्त्रणमा समस्या रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।

एक महिना लामो अप्रेसन

देशमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको र यसमा प्राधिकरणका कर्मचारीको मिलेमतो रहेको सूचनाका आधारमा प्रहरीले एक महिनादेखि अनुसन्धान सुरु गरेको थियो । मिटर घटाउँदा–घटाउँदैकै भिडियोसमेत खिचेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपराध महाशाखाले काठमाडौंमा मात्र अनुसन्धान गरेको हो । मिलेमतोमा उद्योगको मिटर बिगार्ने काम देशभरि रहेको स्रोत बताउँछ ।

मासिक कमिसन खाएर मिटर घटाउने गरिन्छ

पक्राउ परेका कर्मचारीले महिनामा लाखौँको विद्युत् खपत गर्ने उद्योगहरूबाट कमिसन लिएर मिटर घटाउने गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ‘सयौँ उद्योगबाट उनीहरूले मिटर घटाएर पैसा लिने गरेको देखिन्छ,’ खनालले भने, ‘ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणसँगको सहकार्यमा हामीले उनीहरूलाई पक्राउ गरेका हौँ ।’ प्रहरीले पक्राउ परेका कर्मचारी र व्यवसायीलाई ठगी मुद्दामा अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ । पक्राउ परेका कर्मचारीलाई प्राधिकरणले आइतबार नै निलम्बन गरेको छ ।

दिनकै कमाइ ५० हजार

प्राधिकरणको बालाजु कार्यालयमा कार्यरत सुमन श्रेष्ठ पाँचौँ तहका कर्मचारी ९सुब्बा० हुन् । तर, उनी निजी कारमा कार्यालय आउने–जाने गर्छन् । विद्युत् चोरीबाटै उनले करोडौँ सम्पत्ति कमाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले उनको बा।५च ३४५१ नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ । एक दिनमै उनीहरूले लाखभन्दा धेरै कमाउने गरेको प्रहरीको भनाइ छ । एसएसपी खनालका अनुसार एक दिनमै २०–२५ ठाउ“मा मिटर घटाएर उनीहरूले कम्तीमा पाँच हजारदेखि ५० हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ । त्यसरी लिएको पैसा कर्मचारीहरूले बाँडेर लिने गरेका थिए ।

२४० मेगावाट बिजुली चोरी

विद्युत् प्राधिकरणले बिजुली चुहावटबाट वार्षिक रूपमा १३ अर्ब गुमाइरहेको छ । मुलुकमा अहिले आपूर्ति भइरहेको नौ सय मेगावाट बिजुलीमध्ये दुई सय ४० मेगावाट अर्थात् २६ प्रतिशत चुहावट भइरहेको छ । हाल काठमाडौं उपत्यकामा आवश्यक पर्नेबराबरको बिजुली चुहावट भइरहेको हो । यसमध्ये विद्युत् प्रसारण लाइन तथा उपकरणबाट १२ प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ । कुल २६ प्रतिशत चुहावटमध्ये १४ प्रतिशत बिजुली चोरी भइरहेको प्राधिकरणले जनाएको छ ।

१५ चुहावटबराबर ५० करोड

प्राधिकरणले १ प्रतिशत चुहावटबराबर ५० करोड गुमाइरहेको छ । २६ प्रतिशत चुहावटबाट वार्षिक रूपमा १३ अर्ब नोक्सान भइरहेको छ । प्राधिकरणको वार्षिक घाटा ११ अर्ब ७९ करोड र सञ्चित नोक्सानी ३७ अर्ब ६० करोड छ । २५।७८ प्रतिशत चुहावटमध्ये वितरण लाइनमा १९।८०, प्रसारण लाइनमा ४।८२ र उत्पादनमा १।१६ प्रतिशत चुहावट रहेको प्राधिकरणले जनाएको छ ।

चुहावट नियन्त्रणका लागि अभियान 

प्राधिकरणको वितरण केन्द्रमा कर्मचारी क्षमताका आधारमा भन्दा हाकिमलाई जसले बढी रकम दिने गर्छ, उसैलाई पठाउने प्रवृत्ति विगतमा थियो । पैसा बुझाएर केन्द्रमा जाँदा चुहावट नियन्त्रण गर्नभन्दा लगानी उठाउनमै केन्द्रित हुने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । चुहावट नियन्त्रणका लागि अहिले अभियान चलिरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । मंसिरको अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुहावट १० प्रतिशत घटाउन निर्देशन दिएका थिए । उनले चोरीमा संलग्न कोही कसैलाई पनि छुट दिन नसकिने भन्दै चुहावट नियन्त्रणमा कठोर हुन ऊर्जामन्त्री, अर्थ तथा गृहसचिव प्राधिकरणका कार्यकारी निर्देशकलगायतलाई निर्देशन दिएका थिए ।

नवराज मैनाली  सचेन गौतम/ नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको